- धादिङको गलौँदीमा सडक मर्मत गर्न राजमार्ग बन्द गरिने ।
- त्रिशूली नदीको कटानले सडक भासिएको थियो ।
- दसैँमा घर फर्किने यात्रुलाई आवागमनमा समस्या हुने ।
काठमाडौँ । धादिङको गलौँदी क्षेत्रमा सडक मर्मत गर्नुपर्ने भएकाले पृथ्वी राजमार्ग आज राति ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म बन्द हुने भएको छ ।
धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले आज सूचना जारी गर्दै गजुरी गाउँपालिका-५ स्थित गलौँदी क्षेत्रमा त्रिशूली नदीको कटानका कारण सडक भासिएकाले मर्मतसम्भारका लागि राजमार्ग बन्द गर्न लागिएको जानकारी दिनुभएको छ ।
गत असोज २३ गते शुक्रबार सडक भासिँदा उक्त राजमार्ग अवरुद्ध भएको थियो । असोज २४ गते दिनभरको प्रयासपछि सञ्चालनमा आएको राजमार्ग थप मर्मतसम्भार गर्नुपर्ने भएकाले आज राति बन्द गर्न लागिएको हो ।
दसैँको मुखमा राष्ट्रिय राजमार्ग बन्द हुँदा सवारी आवागमनमा समस्या परेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले दसैँका बेला राजमार्ग बन्द हुँदा यातायात सञ्चालनमा चुनौती थपिएको बताउनुभयो ।
“दसैँको मुखमा हजारौँ यात्रुले अग्रिम टिकट बुकिङ गरेका छन् । यस्तो अवस्थामा राजमार्ग बन्द हुँदा यातायात व्यवसायीसँगै आम यात्रुलाई समस्या परेको छ,” उहाँले भन्नुभयो ।
दसैँ मनाउन असोज १७ देखि २५ गतेसम्म काठमाडौँस्थित नयाँ बसपार्कबाट दुई लाख सात हजार २५१ यात्रु बाहिरिएका छन् ।
नयाँ बसपार्क सञ्चालन गर्ने संस्था लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लले उक्त अवधिमा नयाँ बसपार्कबाट मात्रै दुई लाख सात हजार २५१ यात्रु बाहिरिएको राससलाई जानकारी दिनुभयो । रासस
