- दसैँका लागि गाउँ फर्किने यात्रुको चाप बढ्यो ।
- नौ दिनमा दुई लाख सात हजारभन्दा बढी यात्रु बाहिरिए ।
- सडक अवरुद्ध हुँदा यातायात व्यवस्थापनमा समस्या ।
काठमाडौँ । बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट घरगाउँ फर्किने यात्रुको चाप बढ्न थालेको छ । राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा-व्यवसायमा संलग्न मानिसहरू दसैँ मनाउन गाउँ फर्किन थालेका हुन् ।
नयाँबसपार्कबाट देशका विभिन्न जिल्लामा जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ । परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन यात्रुहरू गाउँ फर्किने क्रम बढेको हो ।
नयाँबसपार्क सञ्चालन गर्ने संस्था लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लका अनुसार असोज १७ देखि २५ गतेसम्म नयाँबसपार्कबाट मात्रै दुई लाख सात हजार २५१ यात्रु बाहिरिएका छन् ।
उहाँका अनुसार असोज १७ गते १८ हजार ७२९, असोज १८ गते १९ हजार ५३०, असोज १९ गते २३ हजार १६, असोज २० गते २९ हजार ६०२, असोज २१ गते २२ हजार २८८, असोज २२ गते २५ हजार २०१, असोज २३ गते ३१ हजार २३५, असोज २४ गते १६ हजार ९७० र असोज २५ गते २९ हजार ३८० यात्रु बाहिरिएका छन् ।
दसैँका लागि घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै यातायात व्यवस्थापनमा समस्या भएको व्यवसायीले बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले सडकको अवस्थाका कारण यातायात व्यवस्थापनमा कठिनाइ भएको बताउनुभयो ।
असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुला भएकै दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिएर सवारीसाधन आवागमन अवरुद्ध हुँदा समस्या भएको उहाँले बताउनुभयो । सडक अवरुद्ध भएपछि धेरै सवारीसाधन काठमाडौँमै रोकिएका थिए ।
महासङ्घले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र यात्राअघि सवारीसाधनको अवस्था जाँच गर्न आग्रह गरेको छ ।
दसैँले परिवार, आफन्त र समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने भएकाले रोजगारी तथा अध्ययनका लागि राजधानीमा बस्दै आएका मानिसहरू हरेक वर्ष चाडपर्व मनाउन गाउँ फर्किने गर्छन् । रासस
