- ज्येष्ठ पत्रकारका लागि निवृत्तिभरण वितरण सुरु ।
- कृष्ण आचार्यले पाए पहिलो पेन्सन ।
- पेन्सन कोषमा १० लाख रुपैयाँ जम्मा ।
खोटाङ । नेपाल पत्रकार महासङ्घ खोटाङले ज्येष्ठ पत्रकारका लागि निवृत्तिभरण (पेन्सन) वितरण सुरु गरेको छ । पत्रकारिता पेसालाई मर्यादित, सुरक्षित, सम्मानित, व्यावसायिक तथा उत्तरदायी बनाउने उद्देश्यले महासङ्घले मासिक तीन हजार रुपैयाँका दरले पेन्सन वितरण सुरु गरेको हो ।
महासङ्घ खोटाङले सुरु गरेको पेन्सन सुविधा लिने पहिलो पत्रकार प्रेस स्वतन्त्रता सेनानी कृष्ण आचार्य हुनुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेल निवासी ७२ वर्षीय आचार्यलाई दसैँ, तिहार तथा छठ पर्वका अवसरमा महासङ्घले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा तीन महिनाको पेन्सन प्रदान गरिएको हो ।
आचार्य अहिले पनि क्रियाशील पत्रकार हुनुहुन्छ । पाँच दशकदेखि पत्रकारिता पेसामा आबद्ध उहाँलाई दर्जनभन्दा बढी सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले सम्मान तथा पुरस्कृत गरिसकेका छन् ।
ज्येष्ठ पत्रकारको हित संरक्षण, आत्मसम्मान अभिवृद्धि, सामाजिक सुरक्षा सुनिश्चितता तथा उहाँहरूको अनुभव, योगदान र समर्पणको कदर गर्न जिल्लामा ‘ज्येष्ठ पत्रकार निवृत्तिभरण (पेन्सन) कोष’ स्थापना गरेर वितरण सुरु गरिएको महासङ्घका अध्यक्ष हरिबोल आचार्यले जानकारी दिनुभयो ।
“पत्रकारिता पेसालाई मर्यादित, सुरक्षित, सम्मानित, व्यावसायिक तथा उत्तरदायी बनाउन ज्येष्ठ पत्रकार पेन्सन कोष स्थापना गरिएको छ । यसका लागि सुरुमा नेपाल राष्ट्र बैंकबाट मान्यताप्राप्त बैंकमा १० लाख रुपैयाँ जम्मा गरेका छौँ,” उहाँले भन्नुभयो, “कोषबाट ६५ वर्ष पूरा गरेका पत्रकारलाई हरेक महिना तीन हजार रुपैयाँका दरले पेन्सन प्रदान गर्छौं । यसका लागि सम्बन्धित व्यक्ति २५ वर्षदेखि निरन्तर जिल्लामै रहेर पत्रकारिता पेसामा आबद्ध भएको हुनुपर्नेछ ।”
पत्रकार पेन्सन कोष महासङ्घ खोटाङको मातहतमा रहने गरी छुट्टै स्थापना गरिएको छ । पत्रकारको आर्थिक तथा सामाजिक सुरक्षामा सहयोग पुर्याउन ज्येष्ठ पत्रकार पेन्सन कोष स्थापना गर्ने निर्णय गरिएको महासङ्घका सचिव राजकुमार भट्टराई ‘सरगम’ले जानकारी दिनुभयो ।
कोषको कार्यविधिअनुसार प्रधान सम्पादक, सम्पादक, संवाददाता, समाचार वाचक, फोटो पत्रकार तथा व्यङ्ग्यचित्रकारलगायतले सुविधा लिन सक्नेछन् ।
पेन्सन सुविधा लिन चाहने ज्येष्ठ पत्रकार कुनै राजनीतिक दल वा अन्य पेसागत संस्थाको कार्यकारी पदमा रहेको हुनुहुँदैन । सूचना तथा प्रसारण विभाग वा प्रेस काउन्सिल नेपालको कालोसूचीमा परेका तथा नैतिक पतन देखिने फौजदारी अपराधमा अदालतबाट दोषी ठहर भएका व्यक्तिले पनि सुविधा पाउने छैनन् ।
पेन्सन कोषले पत्रकारिता पेसामा लामो समयदेखि योगदान दिएका पत्रकारको सम्मान तथा संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको महासङ्घका निवर्तमान अध्यक्ष दिलीप खत्रीले बताउनुभयो । कोषलाई थप व्यवस्थित बनाउन सङ्घ, प्रदेश र स्थानीय सरकारका साथै विभिन्न दातृ निकाय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाको सहयोग लिइने महासङ्घले जनाएको छ ।
विसं २०६१ मा स्थापना भएको नेपाल पत्रकार महासङ्घ खोटाङमा हाल ३१ जना साधारण सदस्य छन् ।
यसैबीच, महासङ्घ खोटाङ शाखाको आफ्नै पक्की कार्यालय भवन निर्माणको काम पनि तीव्र गतिमा भइरहेको छ । कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको बहुवर्षीय योजनाअन्तर्गत विनियोजित तीन करोड रुपैयाँ बजेटमा साढे दुईतले पक्की भवन निर्माण भइरहेको हो । भवन निर्माण गत चैतमा सुरु गरिएको हो ।
मोहन एन्ड बेँसीगाउँ-रूपाकोट-सरस्वती जेभी खोटाङले ठेक्का प्रणालीमार्फत निर्माण गरिरहेको भवनको काम विसं २०८४ पुस २३ गतेभित्र सम्पन्न गर्नुपर्नेछ ।
आफ्नै कार्यालय भवन नहुँदा महासङ्घले अहिले दिक्तेलबजारस्थित भवनगैरामा व्यक्तिको घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको छ । महासङ्घका लागि कृषिविज्ञ मदन राईले दिक्तेलस्थित किरातचोक नजिकै आठ आना जग्गा निःशुल्क उपलब्ध गराउनुभएको थियो । साकेला गाउँपालिका-२ रतन्छा निवासी राईले विसं २०६३ मा उक्त जग्गा उपलब्ध गराउनुभएको हो । रासस
