- मातातीर्थ-स्युचाटार १३२ केभी प्रसारण लाइनको स्तरोन्नति हुँदै ।
- शनिबार र आइतबार बिहान ९ देखि साँझ ५ बजेसम्म लाइन बन्द हुने ।
- मातातीर्थ, स्युचाटारलगायत क्षेत्रको विद्युत् आपूर्ति प्रभावित हुन सक्ने ।
काठमाडौँ । काठमाडौँ उपत्यकाको विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउन मातातीर्थ-स्युचाटार १३२ केभी प्रसारण लाइनको क्षमता अभिवृद्धि तथा सुदृढीकरणको काम भइरहेको छ ।
पुरानो तार हटाएर उच्च क्षमताको नयाँ तार जडान गर्न लागिएकाले असोज २४ गते शनिबार र २५ गते आइतबार उपत्यकाको विद्युत् आपूर्ति प्रभावित हुन सक्ने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चालित १३२ केभी प्रसारण लाइन स्तरोन्नति आयोजनाले मातातीर्थ-स्युचाटार १३२ केभी डबल सर्किट प्रसारण लाइनमा पुरानो सूचालक परिवर्तन गरी उच्च क्षमताको नयाँ सूचालक जडान गरिरहेको छ ।
उक्त कामका लागि दुवै दिन बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म प्रसारण लाइन बन्द गर्नुपर्नेछ ।
कम क्षमताको पुरानो सूचालकको सट्टा बढी विद्युत् भार वहन गर्न सक्ने ‘एचटिएलएस कन्डक्टर’ जडान गर्न लागिएको हो । डबल सर्किट लाइनको एउटा सर्किटमा करिब चार सय मिटर सूचालक बदल्न बाँकी छ ।
काम सम्पन्न भएपछि प्रसारण लाइनको विद्युत् वहन क्षमता बढ्ने, बढ्दो विद्युत् माग व्यवस्थापन गर्न सहज हुने र विद्युत् प्रणाली थप भरपर्दो बन्ने अपेक्षा गरिएको छ ।
प्रसारण लाइन बन्द रहने अवधिमा मातातीर्थ, स्युचाटारलगायत सम्बन्धित सबस्टेसनबाट विद्युत् आपूर्ति हुने क्षेत्रमा सेवा प्रभावित हुन सक्नेछ । निर्धारित समयमै काम सम्पन्न गर्ने गरी आवश्यक प्राविधिक तयारी गरिएको जनाइएको छ । मौसम प्रतिकूल भएमा भने कार्यतालिका परिवर्तन हुन सक्नेछ । रासस
