- मतदाता सूची विवादमा भारतमा प्रदर्शन चर्कियो ।
- कक्रोच पार्टीद्वारा निर्वाचन प्रमुखको राजीनामा माग ।
- दिल्लीमा प्रदर्शनकारी पक्राउ, मुम्बईमा पनि प्रदर्शनको तयारी ।
नयाँदिल्ली । भारतमा विवादास्पद मतदाता सूची संशोधनको विरोधमा प्रदर्शन सुरु भएको छ । कक्रोच जनता पार्टीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै आज मुम्बईमा प्रदर्शन गरिरहेको छ भने नयाँदिल्लीमा विद्यार्थी तथा नागरिक समाजका समूहले पनि प्रदर्शन गरेका छन् ।
नयाँदिल्लीको जन्तर मन्तरमा प्रदर्शनका लागि भेला भएका केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शनलाई ध्यानमा राखेर उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको तथा केही मेट्रो स्टेसनसमेत बन्द गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
कक्रोच जनता पार्टीले मुम्बईको शिवाजी पार्कबाट प्रदर्शन सुरु गर्ने जनाएको छ । प्रहरीले शिवाजी पार्कमा प्रदर्शनका लागि अनुमति नदिएपछि पार्टीले ‘जेल भरो आन्दोलन’ गर्ने घोषणा गरेको थियो । पार्टीले मतदाता सूचीको ‘विशेष गहन संशोधन’ रोक्न तथा मुख्य निर्वाचन आयुक्त खनालको राजीनामा माग गर्दै आन्दोलनलाई देशव्यापी बनाउने जनाएको छ ।
मतदाता सूचीको विशेष गहन संशोधनलाई लिएर निर्वाचन आयोगमाथि दबाब बढेको छ । आलोचक तथा विपक्षी दलहरूले संशोधनका क्रममा योग्य मतदाताको नाम हटाइएको र त्यसबाट सत्तारूढ भारतीय जनता पार्टीलाई फाइदा पुग्न सक्ने आरोप लगाएका छन् । निर्वाचन आयोग र सरकारले भने कुनै गलत काम नभएको बताएका छन् ।
निर्वाचन आयोगका अनुसार संशोधनको उद्देश्य दोहोरो, मृतक तथा अयोग्य मतदाताको नाम हटाउनु र योग्य मतदातालाई सूचीमा कायम राख्नु हो । आयोगले शुक्रबार नयाँ योग्य मतदाता तथा सूचीबाट छुटेकाहरूलाई दर्ता गर्न अधिकारीहरूलाई निर्देशन दिएको रोयटर्सले जनाएको छ ।
कक्रोच जनता पार्टी यसअघि युवा बेरोजगारी तथा परीक्षाका प्रश्नपत्र चुहावटविरुद्धको आन्दोलनबाट चर्चामा आएको थियो । अहिले उसले निर्वाचन प्रक्रिया, सरकारी जवाफदेहिता र लोकतान्त्रिक संस्थासम्बन्धी विषयलाई समेत आफ्नो अभियानमा समेटेको छ । एजेन्सीहरूको सहयोगमा
