- चार प्रदेशका पहाडी भागमा भारी वर्षाको सम्भावना ।
- मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा हुन सक्ने ।
- मौसमसम्बन्धी सूचना लिएर सतर्कता अपनाउन आग्रह ।
काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावले देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भाग तथा कोशी प्रदेशको तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
हाल देशका पहाडी र हिमाली भाग, मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा साधारणतया बादल लागेको छ । अन्य क्षेत्रमा आंशिक बादल लागेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशका हिमाली तथा पहाडी भागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि साधारणतया बादल लाग्नेछ । बाँकी तराई क्षेत्रमा भने आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ ।
हिमाली र पहाडी भागका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ । मधेससहित कोशी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
आज राति पनि देशका हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्नेछ । कोशी प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थान, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ ।
राति कोशी प्रदेशको तराईका केही स्थान, मधेस प्रदेशका विभिन्न स्थान तथा बागमती र गण्डकी प्रदेशका तराईका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । कोशी प्रदेशको पहाडी तथा तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशभर तापक्रम केही घट्ने सम्भावना छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भाग तथा कोशी प्रदेशको तराईका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता आवश्यक छ ।
महाशाखाले कृषिमा संलग्न सर्वसाधारण तथा सम्बन्धित निकायलाई पछिल्लो मौसमी सूचना र पूर्वानुमानबारे नियमित जानकारी लिन आग्रह गरेको छ । साथै, सम्भावित मौसमी जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । रासस
