RayNewsDaily
हुलाक सेवालाई सरकारी कुरियरका रूपमा विकास गर्ने योजना प्रभावकारी बन्दै
एआईबाट तयार गरिएको तस्बिर
  • हुलाक सेवालाई आधुनिक र नागरिकमैत्री बनाइँदै ।
  • बिसे नगर्ची, वाङ्गे सार्कीसहितका व्यक्तित्वका हुलाक टिकट जारी ।
  • देशभरको हुलाक सञ्जालबाट घरदैलोसम्म सरकारी सेवा पुर्‍याउने तयारी ।

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, प्रभावकारी र नागरिकमैत्री बनाउँदै ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्ने सरकारको योजना प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको बताउनुभएको छ ।

हुलाक सेवा विभागले १५२औँ विश्व हुलाक दिवसका अवसरमा आयोजना गरेको फिलाटेलिक प्रदर्शनी कार्यक्रममा उहाँले बदलिँदो समय र नागरिकको आवश्यकताअनुसार हुलाक सेवालाई पुनःसंरचना गरी आम नागरिकको पहुँचमा पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

हुलाक सेवाको ऐतिहासिक महत्त्व कायम राख्दै आधुनिक जीवनसँग जोड्न आवश्यक रहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले हुलाक सेवालाई जीवनोपयोगी र नागरिक केन्द्रित बनाउनुपर्नेमा जोड दिनुभयो ।

आधुनिक प्रविधिको विकाससँगै नागरिकका आवश्यकता र सेवा प्राप्त गर्ने तरिकामा परिवर्तन आएको उहाँले बताउनुभयो । देशभर फैलिएको हुलाक सञ्जालको उपयोग गरी सरकारी सेवा तथा सामग्री नागरिकको घरदैलोसम्म पुर्‍याउन सकिने उहाँको भनाइ छ ।

हुलाक सेवालाई पुनःसंरचना गरी सहज, छरितो र भरपर्दो सेवा उपलब्ध गराउने योजना कार्यान्वयन भइरहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले सेवा विस्तार र सुधारमा परिणाममुखी काम गर्नुपर्ने बताउनुभयो ।

ऐतिहासिक व्यक्तित्वका तस्बिर अङ्कित हुलाक टिकट जारी

कार्यक्रममा नेपाल एकीकरण तथा राष्ट्र निर्माणमा योगदान पुर्‍याएका व्यक्तित्वदेखि विश्व प्रविधिको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने व्यक्तित्वसम्मका तस्बिर अङ्कित नयाँ हुलाक टिकट जारी गरिएको छ ।

Bikram-timi-1791546372.jpeg

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना शुक्रबार काठमाडौँमा १५२औँ विश्व हुलाक दिवसको अवसरमा हुलाक सेवा विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिरः किरणराज विष्ट/रासस
हुलाक सेवा विभागले बिसे नगर्ची, वाङ्गे सार्की, प्रथम विश्वयुद्धमा भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापामगर र कर्णबहादुर रानामगर तथा टेलिभिजन आविष्कार भएको एक सय वर्षका अवसरमा आविष्कारक जोन लोगी बेयर्डका तस्बिर अङ्कित टिकट प्रचलनमा ल्याएको हो । ती प्रत्येक टिकटको मूल्य १० रुपैयाँ रहेको विभागले जनाएको छ ।

कार्यक्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले नयाँ हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्नुभयो ।

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले बिसे नगर्ची र वाङ्गे सार्कीका तस्बिर अङ्कित हुलाक टिकट जारी हुनुले दलित समुदायको ऐतिहासिक योगदानलाई राज्यले सम्मान गरेको बताउनुभयो ।

सूचना प्रविधिको तीव्र विकास भएको वर्तमान समयमा पनि हुलाक सेवाको उपादेयता कायम रहेको उल्लेख गर्दै उहाँले यसलाई आधुनिक कुरियर सेवाका रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।

हुलाक सञ्जाललाई प्रभावकारी बनाउनुपर्नेमा जोड

सञ्चारसचिव राजेन्द्रकुमार पौडेलले बदलिँदो परिस्थितिमा हुलाक सेवालाई नागरिक सेवा विस्तारको प्रभावकारी माध्यम बनाउनुपर्ने बताउनुभयो ।

देशभरका पालिकासम्म फैलिएको हुलाक सञ्जालको उपयोग गरी सरकारी कुरियर सेवामार्फत नागरिकका घरघरमा सेवा पुर्‍याउन सकिने उहाँको भनाइ छ । हुलाक सेवालाई आधुनिक, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउन निजी क्षेत्रसँग सहकार्य र स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको उहाँले बताउनुभयो ।

सरकारी संयन्त्रको देशव्यापी पहुँचलाई प्रभावकारी रूपमा उपयोग गर्न सके हुलाक सेवाले नागरिकलाई थप सहज र भरपर्दो सेवा दिन सक्ने उहाँको भनाइ छ ।

हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले हुलाक सेवा विश्वभर अझै सान्दर्भिक रहेको बताउनुभयो । विशेषगरी दुर्गम क्षेत्रमा सेवा पुर्‍याउन हुलाकले निर्वाह गरेको भूमिकाका कारण अन्तर्राष्ट्रिय पुरस्कारसमेत प्राप्त हुनु गौरवको विषय भएको उहाँले उल्लेख गर्नुभयो ।

उहाँका अनुसार हुलाक सेवा क्रमशः स्मार्ट अवधारणामा अघि बढ्दै आधुनिकीकरणको चरणमा प्रवेश गरिरहेको छ । बदलिँदो प्रविधि र नागरिकको आवश्यकताअनुसार सेवाको स्वरूप परिवर्तन गर्दै पहुँच र प्रभावकारिता बढाउनुपर्ने उहाँले बताउनुभयो । रासस

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०८३  १६:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update