- बाढीपहिरोले क्षतिग्रस्त सडक पाँच-छ दिनपछि सञ्चालनमा ।
- खरखरेमा पहिरोको जोखिम, २०-२५ घरधुरी प्रभावित हुने चिन्ता ।
- सडक स्तरोन्नति र पहिरो नियन्त्रणको काममा ढिलाइ ।
जनक श्रेष्ठ/लमजुङ । माथि अग्ला पहाडका भीर, तल वेगले बग्ने मस्र्याङ्दी नदी । बीचमा रहेको बेँसीसहर–चामे सडक मनाङवासीको जीवनरेखा हो । तर, यही सडक अहिले पहिरो र नदी कटानको दोहोरो जोखिममा छ ।
मनाङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने यो एक मात्र मुख्य सडकमा यस वर्ष असोज ८ देखि ११ गतेसम्म परेको लगातार वर्षापछि आएको बाढीपहिरोले ठूलो क्षति पुर्याएको छ । सडकका करिब ३५ स्थान प्रभावित हुँदा पाँच-छ दिनसम्म यातायात अवरुद्ध भएको थियो ।
डुम्रे-बेँसीसहर–चामे सडक आयोजना कार्यालयका सूचना अधिकारी नवीन विष्टका अनुसार क्षति भएका ३५ स्थानमध्ये २९ स्थानमा पहिरो हटाइएको छ । सडकको ट्र्याक नै बगाएका छ स्थानमा नयाँ ट्र्याक खोलेर यातायात सञ्चालन गरिएको छ ।
उहाँका अनुसार नयाँ खोलिएका ट्र्याक कच्ची भएकाले जोखिम अझै उच्च छ । कतिपय स्थानमा काठे पुल बगाएकाले खोला तरेरै सवारी सञ्चालन गर्नुपर्ने अवस्था छ । वर्षा पुनः भएमा सडक फेरि अवरुद्ध हुनसक्ने जोखिम छ ।
करिब ६५ किलोमिटर लामो बेँसीसहर-चामे सडकको बेँसीसहरदेखि खुदीसम्मको खण्ड मात्र कालोपत्र भएको छ । बाँकी अधिकांश सडक साँघुरो र कच्ची छ । कतिपय ठाउँमा सडक चिप्लो छ भने कतिपय स्थानमा माथिबाट पहिरो र ठूला ढुङ्गा खस्ने तथा तल मस्र्याङ्दी नदीले सडक कटान गर्ने जोखिम छ ।
खरखरेमा वर्षौँदेखिको जोखिम
बेँसीसहर नगरपालिका-६ स्थित खरखरे भिर लामो समयदेखि जोखिमयुक्त क्षेत्रका रूपमा चिनिँदै आएको छ । यहाँ करिब ८० मिटर सडक अत्यन्त संवेदनशील रहेको सडक आयोजना कार्यालयले जनाएको छ ।
पहिरो नियन्त्रण तथा सडक संरक्षणका लागि करिब २० करोड रुपैयाँ लागत अनुमान गरिएको योजनाको ठेक्का १६ करोड ४८ लाख रुपैयाँमा खरीढुङ्गा–गोलसेस्वरा जेभीले पाएको थियो । सम्झौताअनुसार २०८० मङ्सिरभित्र सम्पन्न गर्नुपर्ने कामको म्याद थप गरी २०८२ मङ्सिरसम्म पुर्याइएको थियो । त्यस अवधिमा पनि काम नसकिएपछि गत भदौभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, वर्षायामका कारण निर्माण प्रभावित भएको छ ।
सूचना अधिकारी विष्टका अनुसार खरखरेमा हालसम्म करिब ६० प्रतिशत मात्र काम सम्पन्न भएको छ । संरक्षणको काम समयमै पूरा हुन नसक्दा उक्त क्षेत्र अझै उच्च जोखिममा छ ।
बेँसीसहर नगरपालिका-६ का वडाध्यक्ष प्रकाश थापाका अनुसार सामान्य वर्षा हुँदा पनि खरखरेमा पहिरो खस्ने जोखिम उच्च छ । पहिरो विस्तार हुँदै माथिल्लो भागतर्फ बढिरहेको र फाँटगाउँका करिब २०-२५ घरधुरी जोखिममा रहेको उहाँले बताउनुभयो । पहिरो बस्ती नजिक पुग्न अब करिब पाँचदेखि सात सय मिटर दूरी मात्र बाँकी रहेको उहाँको भनाइ छ ।
लमजुङतर्फ मस्र्याङ्दी गाउँपालिका-४ रामबजार क्षेत्र पनि बाढीपहिरोबाट प्रभावित भएको थियो । पहिरोले सडक लामो समय अवरुद्ध भएपछि मेसिन परिचालन गरेर पहिरो हटाई यातायात सञ्चालन गरिएको थियो । उक्त क्षेत्रमा पनि जोखिम कायमै छ ।
चालकलाई दैनिक त्रास
लामो समयदेखि बेँसीसहर-चामे सडकमा सवारी चलाउँदै आउनुभएका चालक राजु मगरातीका लागि सडकको जोखिम दैनिक भोगाइ बनेको छ ।
उहाँका अनुसार कतिपय स्थानमा माथिबाट ढुङ्गा खस्ने र पहिरो जाने जोखिमसँगै तल मस्र्याङ्दी नदी बगिरहेकाले निकै सावधानीपूर्वक सवारी चलाउनुपर्छ ।
“यहाँ सवारी चलाउँदा मनमा डर त हुन्छ नै । माथिबाट बेला–बेला ढुङ्गा खस्ने, पहिरो जाने र तल मस्र्याङ्दी नदी बगिरहेको हुन्छ । कतिपय ठाउँमा सडक पनि साँघुरो छ,” उहाँले भन्नुभयो, “आफूलाई डर लागे पनि यात्रुलाई झन् डर नलागोस् भनेर सान्त्वना दिँदै सवारी चलाउँदै आएका छौँ ।”
कहिलेकाहीँ सवारी गुडिरहेका बेला आँखैअगाडि ढुङ्गा खस्ने र पहिरो जाने गरेको उहाँले बताउनुभयो । पहिरो पार गरिसकेपछि पनि माथिबाट ढुङ्गा खस्ने जोखिम रहने उहाँको अनुभव छ । रोजगारी र परिवारको गुजारा चलाउनुपर्ने भएकाले जोखिम हुँदाहुँदै पनि सवारी चलाउन बाध्य भएको उहाँले बताउनुभयो ।
मनाङको जनजीवन र पर्यटन प्रभावित
बेँसीसहर-चामे सडक अवरुद्ध हुँदा मनाङको जनजीवनमा प्रत्यक्ष असर पर्छ । खाद्यान्न, इन्धन, औषधि, निर्माण सामग्री र दैनिक उपभोग्य वस्तुको ढुवानी प्रभावित हुन्छ । बिरामीलाई उपचारका लागि बाहिर लैजान, विद्यार्थीको आवतजावत गर्न र व्यापार सञ्चालन गर्न कठिन हुन्छ ।
दसैँ नजिकिँदै गर्दा सडकको महत्त्व थप बढेको छ । चाडपर्वमा घर फर्किने यात्रु र आफन्तकहाँ जानेको चाप बढ्नुका साथै खाद्यान्न, लत्ताकपडा र अन्य सामग्रीको ढुवानी पनि बढ्छ । पर्यटकको आवागमन बढ्ने समयमा सडक अवरुद्ध हुँदा स्थानीय बासिन्दासँगै पर्यटन व्यवसायसमेत प्रभावित हुन्छ ।
मनाङवासीले २०७८ सालमा पनि यस्तै समस्या भोगेका थिए । त्यस वर्ष वर्षायाममा विभिन्न स्थानमा पहिरो गएपछि सडक करिब साढे तीन महिनापछि मात्र सञ्चालनमा आएको थियो । सडक सम्पर्क टुटेपछि खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको अभाव हुन थालेको थियो । आवतजावतका लागि कतिपय स्थानीय हेलिकोप्टर प्रयोग गर्न बाध्य भएका थिए । मनाङबाट बेँसीसहर आउन एक यात्रुले करिब २० हजार रुपैयाँसम्म तिर्नुपरेको स्थानीयको अनुभव छ ।
बेँसीसहर-चामे सडक अन्नपूर्ण पदमार्गको प्रमुख प्रवेशद्वारसमेत हो । यही मार्ग हुँदै स्वदेशी तथा विदेशी पर्यटक मनाङ पुग्छन् । सडकको अवस्था कमजोर हुँदा होटल, होमस्टे, यातायात, पसल तथा अन्य पर्यटन व्यवसायमा समेत असर पर्छ । मस्र्याङ्दी करिडोरका जलविद्युत् आयोजनाका उपकरण, निर्माण सामग्री र कर्मचारीको आवागमन पनि यही सडकमा निर्भर छ ।
स्थायी समाधानको आवश्यकता
सडक आयोजना कार्यालयका सूचना अधिकारी विष्टका अनुसार बेँसीसहरदेखि खुदीसम्म दुई लेनमा कालोपत्र गरिएको छ । बेँसीसहरदेखि चामेसम्मको सम्पूर्ण सडक कालोपत्र गर्ने योजना रहे पनि वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन समयमै सम्पन्न हुन नसक्दा आवश्यक बजेट विनियोजन हुन सकेको छैन ।
“बेँसीसहर-खुदी खण्डमा जस्तै बाँकी सडकका लागि पनि चरणबद्ध रूपमा बजेट विनियोजन गरेर कालोपत्र गर्न आवश्यक छ,” उहाँले भन्नुभयो, “सडक स्तरोन्नति भएपछि यात्रुको जोखिम कम हुनुका साथै मनाङको पर्यटन, व्यापार र स्थानीय जनजीवनमा सकारात्मक प्रभाव पर्नेछ ।”
भौगोलिक रूपमा जटिल क्षेत्रमा रहेको यस सडकमा हरेक वर्ष वर्षायामसँगै जोखिम दोहोरिने गरेको छ । माथिबाट पहिरो र ढुङ्गा खस्ने तथा तल नदीले सडक कटान गर्ने समस्या नियमितजस्तै बनेको छ । कतिपय ठाउँमा काठे पुल बग्ने र नयाँ ट्र्याक खोलेर मात्र आवागमन जोड्नुपर्ने अवस्था आउँछ ।
अहिले सडक सञ्चालनमा आए पनि जोखिम पूर्ण रूपमा हटेको छैन । स्थायी पहिरो नियन्त्रण, नदी कटान रोक्ने संरचना, सुरक्षित पुल निर्माण, सडक स्तरोन्नति र निर्माणाधीन आयोजना समयमै सम्पन्न गर्नु आवश्यक छ । अस्थायी मर्मतबाट तत्कालको समस्या समाधान भए पनि दीर्घकालीन सुरक्षा सुनिश्चित गर्न स्थायी संरचना निर्माणमा जोड दिनुपर्ने देखिन्छ ।
माथि पहिरोको डर र तल मस्र्याङ्दीको त्रासबीच सञ्चालन भइरहेको बेँसीसहर–चामे सडक मनाङको जनजीवन, पर्यटन, व्यापार र विकासको आधार हो । हरेक वर्ष सडक खुलाउने र फेरि बन्द हुने चक्र अन्त्य गर्न सम्बन्धित निकायले दीर्घकालीन समाधानमा ध्यान दिनुपर्ने आवश्यकता छ ।रासस
