- पूर्वप्रधानन्यायाधीश जबरा पक्राउबारे सरकारसँग जवाफ माग ।
- पक्राउको कारण र कानुनी आधार स्पष्ट गर्न सांसदको माग ।
- गृहमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने माग ।
काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा सरकारसँग स्पष्ट जवाफ माग गर्नुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले जबरालाई नियन्त्रणमा लिइएको घटनाको कारण, कानुनी आधार र सरकारको धारणा सभाध्यक्षमार्फत संसद्मा स्पष्ट गर्न माग गर्नुभयो ।
सांसद खम्मबहादुर खातीले पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा सभाध्यक्षमार्फत सरकारसँग स्पष्ट जवाफ माग गर्नुभयो ।
सांसद महन्थ ठाकुर र रामकुमारी झाँक्रीले पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिइएको घटनाप्रति विरोध जनाउँदै यसबारे गृहमन्त्रीले सदनमार्फत स्पष्ट जवाफ दिनुपर्ने माग गर्नुभयो ।
पूर्वप्रधानन्यायाधीश जबरालाई असोज ११ गते राति काठमाडौँको महाराजगञ्जस्थित निवासबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । प्रहरीले नियन्त्रणमा लिनुको कारण तत्काल सार्वजनिक नगरेको भन्दै सांसदहरूले यसबारे सरकारसँग जानकारी माग गर्नुभएको हो ।
सोधपुछपछि जबरालाई घरमै सुरक्षा दिनेगरी छाडिएको सार्वजनिक विवरणबारे समेत सांसदहरूले सरकारसँग स्पष्ट जानकारी माग गर्नुभयो ।
बैठकमा सांसद चन्द्रबहादुर केसीले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गर्नुभयो । धमेन्द्र पासवानले रौतहटमा होचो बाँधका कारण समस्या हुने गरेको भन्दै अग्लो तटबन्ध निर्माण गर्न माग गर्नुभयो ।
सांसद मीना सिंह रखालले कर्णालीका सडक जोखिमपूर्ण रहेकाले दुर्घटना न्यूनीकरणका लागि सडक तथा पुल निर्माणमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद रेखाकुमारी झाले वर्षायाममा हुने बाढी, पहिरो र डुबानबाट हुने क्षति न्यूनीकरण तथा प्रभावित नागरिकलाई सुरक्षित बासस्थान र पुनःस्थापनाको व्यवस्था गर्न माग गर्नुभयो । सांसद रोशनी मेचेले मोबाइल बैंकिङलाई सुरक्षित बनाउन तथा बैंकिङ प्रणालीमार्फत नागरिकको सम्पत्तिको सुरक्षामा जिम्मेवार बन्न माग गर्नुभयो ।
सांसद सम्झना देवकोटाले गोरखामा प्राकृतिक विपद्सँगै हिमपातका कारण पर्यटकले सास्ती खेप्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद सोमनाथ पोर्तेलले झापामा जङ्गली हात्तीका कारण किसानको धानबालीमा वर्षेनि क्षति भइरहेको भन्दै पर्याप्त क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्नुभयो । रासस
