रे समाचार/काठमाण्डू । नेपाली कम्युनिस्ट आन्दोलनका पुराना नेता, झापा आन्दोलनका अगुवा तथा पूर्वसांसद घनेन्द्र बस्नेतको निधन भएको छ।
लामो समयदेखि क्यान्सर रोगबाट पीडित बस्नेतको बुधबार (२०८३ असोज १४ गते) साँझ भक्तपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । वि.सं. २००९ साल असोज २५ गते भोजपुरको कुलुङमा जन्मिनु भएका बस्नेत युवा अवस्थादेखि नै तत्कालीन पञ्चायती व्यवस्थाविरुद्धको राजनीतिक आन्दोलनमा सक्रिय हुनुभएको थियो । उहाँ २०२७-२८ सालको झापा आन्दोलनका अगुवा नेतामध्ये एक हुनुुहन्थ्यो । राजनीतिक संघर्षकै क्रममा पक्राउ पर्नुभएका उहाँले झण्डै १७ वर्ष जेलमा बिताउनु भएको थियो । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वमन्त्री तथा वरिष्ठ लेखक प्रदीप नेपाल लगायतका नेताहरुसँगै बस्नेतले पनि नख्खु जेलमा पीडादायी जीवन विताउनु भएको थियो ।
बस्नेत २०३३ साल चैतमा भएको नख्खु जेल ब्रेकमा सहभागी १५ जना वामपन्थी नेतामध्ये एक रहेको विभिन्न समाचारमा उल्लेख गरिएको छ। तत्कालीन झापा आन्दोलनका नेताहरू सीपी मैनाली, प्रदीप नेपाललगायतसँगै नख्खु जेलबाट भाग्ने घटनामा उहाँ पनि सहभागी हुनु भएको समाचारहरूमा उल्लेख गरिएको छ।
२९ वर्षे पञ्चायती निरङ्कुशताविरुद्धको संघर्षमा लामो जेल जीवन र यातना भोग्नु भएका बस्नेतले २०४६ सालको जनआन्दोलनपछि खुला राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्नुभ्एको थियो । नेता बस्नेत तत्कालीन नेकपा एमालेबाट २०४८ सालको आमनिर्वाचनमा संखुवासभा–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो । त्यसपछि २०५६ सालको निर्वाचनमा भोजपुर–१ बाट पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
यसरी उहाँ दुईपटक प्रतिनिधिसभा सदस्य हुनुभएको थियो । संसद् र पार्टी राजनीतिसँगै बस्नेत भूमि सुधार तथा सामाजिक रूपान्तरणका विषयमा पनि सक्रिय रहनु भएको थियो। नेता बस्नेत २०६७ सालमा गठित उच्चस्तरीय भूमि सुधार आयोगको अध्यक्ष हुनुहुन्थ्यो ।
पार्टी विभाजनपछि पनि वाम राजनीतिमै सक्रिय
नेकपा एमालेमा लामो समय सक्रिय रहनु भएका नेता बस्नेत पार्टी विभाजनपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा आबद्ध हुनुभएको थियो । उहाँ सो पार्टीको उपाध्यक्षसमेत बन्नु भएको थियो । एमाले विभाजनपछि उहाँ घनश्याम भुसाललगायतका नेताहरूसँगै नयाँ वाम राजनीतिक सहकार्यमा जोडिनु भएको थियो ।
उहाँको राजनीतिक जीवनबारे प्रकाशित सामग्रीहरूमा उहाँलाई सादा जीवन, राजनीतिक निष्ठा र लामो संघर्षका लागि परिचित नेताका रूपमा वर्णन गरिएको छ। उहाँका समकालीन तथा सहकर्मी नेकपा एमालेका नेता शेरधन राई र टंक कार्की लगायतले उहाँको योगदानलाई विशेषगरी झापा आन्दोलन, पञ्चायती व्यवस्थाविरुद्धको संघर्ष र नेपाली कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनसँग जोडेर स्मरण गर्नुभएको छ ।
पूर्वमन्त्री तथा नेकपा एमालेका नेता शेरधन राईले फेसबुक पेजमा नेता बस्नेतलाई स्मरण गर्दै लेख्नुभएको छ,
"अलबिदा आदरणीय कमरेड घनेन्द्र बस्नेत,
झापाली कम्युनिष्ट आन्दोलनका एक अग्र योद्धा आदरणीय कमरेड घनेन्द्र बस्नेत हामीबीच नरहनु भएको दुःखद खबरले म अत्यन्तै स्तब्ध भएको छु । झापा संघर्षको दौडानमा तत्कालीन निरंकुश तानाशाही ब्यवस्थाको बिरुद्व संघर्ष र आन्दोलन गर्ने क्रममा १७ बर्ष लामो जेल जीवन र यातनाका कठिन शृङ्खलाहरु पार गर्दै नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा महत्वपुर्ण भुमिका निर्बाह गर्नुभएर २०४६ सालको जनआन्दोलन पश्चातको खुल्ला राजनितीमा नेकपा (एमाले) को तर्फबाट २०४८ सालमा संखुवासभाबाट प्रतिनिधीसभा सदस्यमा निर्बाचित हुनुभएका, त्यसैगरी २०५४ सालमा भएको नेकपा (एमाले) को बिभाजन पश्चातको असाध्यै अप्ठयारो घडीमा जतिबेला मैले भोजपुरमा नेकपा (एमाले) को नेतृत्व गर्नुपर्ने परिस्थिति सिर्जना भएर पार्टी जोगाउन ठिङ्ग उभिएर नेतृत्व गर्दै गर्दा २०५६ सालमा सानो उमेरमा चुनाव लडनु पर्ने बाध्यता सिर्जना भएको थियो, जुनबेला ओठ निर्चोदा दूध आउने केटोले केही गर्न सक्दैन भनेर मलाई सबैले भन्दै गर्दा मैले पुरानो भरपर्दो बलियो अभिभावकको रुपमा पार्टी प्रमुखको हैसियतबाट मैले ऐतिहासिक ब्यक्तित्व कमरेड घनेन्द्र बस्नेतलाई रोजेर भोजपुरको तत्कालीन क्षेत्रमा नं १ को उमेदवार बन्न बनाउन माँग गरेको थिए पार्टीले सोही अनुसार निर्णय गरयो र हामी चुनाव लडेका थियौ, हामी सानदार मतले बिजय समेत भएका थियौ, यसप्रकार मेरो राजनितिक अभिभावक आज यस धर्तीमा रहनु भएन भन्ने खवरले म एकदमै भावबिह्वल र स्तव्ध भएको छु । दुईदिन अगाडि मात्र मैले भक्तपुर क्यान्सर अस्पतालमा वहाँलाई मैले भेटेर स्वास्थ्यलाभको कामना गरेको थिए । वहाँ टाउकोको सिटिक्यान गरेर आउदै गर्दा मलाई हेर्नुभयो वहाँको आँखा रसायो, मैले वहाँको हात समाए, मेरो पनि आँखा रसायो म केही बोल्न सकिन, यतिबेला म केही दिनका लागि काठमाण्डू बाहिर छु ।
वहाँको पार्थिव शरिरमा श्रद्वासुमन अर्पण गर्ने र अन्त्यष्टि गर्ने कार्यमा समेत सरिक हुन नपाउदा अत्यन्तै दुखित छु । यस दुखद घडीमा स्व. आदरणीय नेता घनेन्द्र बस्नेतप्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समबेदना प्रकट गर्दछु ।"
बामपन्थी नेता तथा चीनका लागि पूर्व नेपाली राजदूत टंक प्रसाद कार्की नेताा घनेन्द्र बस्नेतलाई स्मरण गर्दै लेख्नुहुन्छ,
"दु:खद खबर | पत्याउनै गाह्रो | अलिक दिन अघि जस्तो मात्रै भेटेर आएको | अनित्य यति चाडो र यति निष्ठुरताका साथ आफ्नो लिला देखाउला भनेर मैले सोचेको थिइन | घनेन्द्र बस्नेत अब हामी बिचमा भौतिकरुपमा रहनु भएन |
घनेन्द्र बस्नेत - नेपाली वामपन्थि आन्दोलनका एक प्रतिवद्ध, निष्ठावान नेता | राजनीतिमा उनि यस आन्दोलनमा चिनिने 'झापा आन्दोलन'का एक अगुवा हुँदै हुर्केका | १७ वर्ष त जेलका चिसा छिंडीमा जीवन गुजारेका | राजनीतिमा वहाँले आर्जेको छवि भनेकै लोकतन्त्र, समाजवाद र राष्ट्रीय हितमा सर्वोपरि समर्पण थियो - वैचारिक भिन्नता राख्नेहरु पनि उनको यो गुणको बडो कदर गर्दछन् | वैयत्तिक लाभका निम्ति राजनीतिलाई च्याँखे न थाप्नेहरुको सूचिमा वहाँ थोरै मध्येमै पर्दथे | लोभ लाग्दो स्पिरिट, अटल विश्वास र इमानी छवी | तामश शुन्य, बडो भलाद्मी र पार्टी जीवनमा उस्तै लोकतान्त्रिक पनि |
वहाँको असामयिक निधनबाट मुलुकलाई र विशेष गरी वामपन्थी आन्दोलनको निम्ति अपुरणीय क्षति हुन पुगेको छ | वैयत्तिक रुपमा म वहाँसंग बिगत ४७ वर्ष देखि सानिध्यमा रहेको हुँ | पहिलो पटक नखुजेलमा भेटेको अनुस्मृति मसंग अहिले पनि ताजै छ | अनगिन्ति सम्झनाले अहिले मलाई घोची रहेको छ | निर्वाद दोस्ति हाम्रो |
हार्दिक श्रद्धान्जली कमरेड घनेन्द्र !
शोकसन्तप्त परिवारमा समवेदना !"
बस्नेतको निधनपछि नेकपा एमालेअध्यक्ष केपी शर्मा ओलीले शोक वक्तव्य जारी गर्दै उहाँको लामो जेल जीवन र राजनीतिक संघर्षको स्मरण गर्नुभएको छ । ओलीले बस्नेतको योगदान नेपाली कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनको इतिहासमा स्मरणीय रहने बताउनु भएको छ ।
घनेन्द्र बस्नेतको राजनीतिक जीवनको मुख्य परिचय :
जन्म: २००९ साल असोज २५ गते, भोजपुरको कुलुङ
राजनीतिक पृष्ठभूमि: झापा आन्दोलनका अगुवा
नख्खु जेल ब्रेक: २०३३ सालमा सहभागी
जेल जीवन:करिब १७ वर्ष
प्रतिनिधिसभा सदस्य: २०४८ मा संखुवासभा–२; २०५६ मा भोजपुर–१
भूमि सुधार: २०६७ सालको उच्चस्तरीय भूमि सुधार आयोगसँग सम्बन्धित भूमिका
पछिल्लो राजनीतिक आबद्धता:नेकपा (एकीकृत समाजवादी) लगायत वाम राजनीतिक अभियान
निधन: २०८३ असोज १४ गते, भक्तपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा
