- प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट ।
- बाढीपीडितका लागि अष्ट्रेलियाको सहयोगप्रति प्रधानमन्त्रीद्वारा आभार ।
- विपद् व्यवस्थापन र जलवायु सहकार्यबारे छलफल ।
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन जर्ज अर्न्स्टले शिष्टाचार भेट गर्नुभएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा प्रधानमन्त्री शाहले बाढी तथा विपद्का कारण उत्पन्न कठिन परिस्थितिमा नेपाल र नेपाली जनताप्रति अष्ट्रेलिया सरकारले व्यक्त गरेको ऐक्यबद्धता, सद्भाव र मानवीय सहयोगप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री शाहले खोज, उद्धार तथा राहत कार्यमा अष्ट्रेलियाले पुर्याएको सहयोग, विपद् सहायता टोलीको परिचालन, विशेषज्ञ जनशक्तिको सहयोग तथा आवश्यक राहत सामग्री र उपकरण उपलब्ध गराएकोमा विशेष धन्यवाद दिनुभयो ।
अष्ट्रेलियाले घोषणा गरेको ११ मिलियन अष्ट्रेलियन डलर बराबरको मानवीय सहायता नेपालप्रतिको अष्ट्रेलियाको मित्रता र ऐक्यबद्धताको महत्त्वपूर्ण अभिव्यक्ति भएको उहाँले बताउनुभयो ।
भेटमा बाढी प्रभावित समुदायको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका साथै आगामी दिनमा विपद् जोखिम न्यूनीकरण र प्रतिरोध क्षमता अभिवृद्धिका लागि निरन्तर सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।
जलवायु परिवर्तनका कारण नेपालजस्ता पर्वतीय मुलुकले भोगिरहेका बढ्दो जोखिम सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायको साझा प्रयास आवश्यक रहेको बताउँदै प्रधानमन्त्री शाहले ‘क्षति र नोक्सानी’ सम्बन्धी वित्तीय संयन्त्रमा सहज, पर्याप्त तथा पूर्वानुमानयोग्य पहुँचको महत्त्वमा जोड दिनुभयो ।
भेटमा राजदूत अर्न्स्टले प्राकृतिक विपद्का कारण नेपालले बेहोरेको क्षतिप्रति दुःख व्यक्त गर्नुभयो । साथै, उहाँले हालै संयुक्त राष्ट्रसङ्घमा नेपालले जनाएको सशक्त र प्रभावकारी उपस्थितिको प्रशंसा गर्नुभएको थियो ।
भेटका क्रममा नेपाल-अष्ट्रेलिया सम्बन्धका विविध पक्षका साथै विपद् व्यवस्थापन, जलवायु, मानव संसाधन विकास तथा दीर्घकालीन सहकार्यका विषयमा समेत छलफल भएको थियो । रासस
