- दूरसञ्चार सेवाको गुणस्तरबारे प्राधिकरणसँग जानकारी माग ।
- नियमित अनुगमन र प्रतिवेदन मन्त्रालयमा बुझाउन निर्देशन ।
- मापदण्ड नमान्ने सेवा प्रदायकमाथि कारबाही गर्न आग्रह ।
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तर सुधारका लागि नियमित अनुगमन र प्रभावकारी नियमन गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।
टेलिफोन तथा इन्टरनेट सेवाको गुणस्तर कमजोर भएको उपभोक्ताको गुनासो नघटेको उल्लेख गर्दै उहाँले प्राधिकरणका पदाधिकारीसँग सेवाको अवस्था, गुणस्तर परीक्षण, नियमन तथा सेवा विस्तारबारे जानकारी लिनुभएको हो ।
सञ्चारमन्त्री डा. तिमिल्सिनाले टेलिफोन तथा इन्टरनेट सेवाको गुणस्तर अनुगमनसम्बन्धी नियमित प्रतिवेदन मन्त्रालयमा पेस गर्न प्राधिकरणलाई निर्देशन दिनुभयो । काठमाडौँ उपत्यकाजस्तो क्षेत्रमा समेत दूरसञ्चार सेवा कमजोर हुनु गम्भीर विषय भएको उहाँको भनाइ थियो ।
नागरिकले अपेक्षा गरेअनुसार भरपर्दो, गुणस्तरीय र सहज दूरसञ्चार सेवा उपलब्ध गराउनेतर्फ नियामक निकाय र सेवा प्रदायक दुवै जिम्मेवार हुनुपर्ने उहाँले बताउनुभयो ।
“दूरसञ्चार सेवाको पहुँच र गुणस्तर कमजोर भयो भन्ने गुनासो अझै हट्न सकेका छैनन् । त्यसमा जसरी पनि सुधार गर्नै पर्नेछ । नागरिकका आकाङ्क्षा पूरा गर्नेगरी काम गर्नुको विकल्प छैन”, उहाँले भन्नुभयो ।
गुणस्तरीय टेलिफोन तथा इन्टरनेट सेवा पाउने नागरिकको अधिकार सुनिश्चित गर्न न्यून गुणस्तरको सेवा दिने तथा तोकिएको मापदण्ड पूरा नगर्ने सेवा प्रदायकमाथि कानुनबमोजिम कारबाही गर्न पनि उहाँले निर्देशन दिनुभयो ।
“टेलिफोन सेवाको गुणस्तर कस्तो छ भनेर प्राधिकरणबाट नियमित अनुगमन निरीक्षण भएको देखिएन । तपाईंहरूले आफ्नो नियामकीय दायित्व पूरा गरेर गुणस्तरका सवालमा निर्मम भएर कारबाही गर्नुहोस्”, सञ्चारमन्त्री डा. तिमिल्सिनाले भन्नुभयो ।
गुणस्तर परीक्षणका लागि आवश्यक संयन्त्र र उपकरणको पर्याप्त व्यवस्था गरी नियमित अनुगमन गर्न तथा त्यसको प्रतिवेदन मन्त्रालयलाई उपलब्ध गराउन उहाँले निर्देशन दिनुभयो । समस्या आएपछि मात्र प्रतिक्रिया दिनेभन्दा सक्रिय रूपमा सेवाको अवस्था पहिचान गरी सुधारका लागि तत्काल कदम चाल्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
फोरजी सेवा विस्तार तथा फाइभजी सेवा सुरु गर्ने विषयमा समेत प्राधिकरणले स्पष्ट कार्ययोजना बनाएर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । फोरजीको पहुँच विस्तार, विद्यमान सेवाको गुणस्तर सुधार तथा फाइभजी कार्यान्वयनका लागि आवश्यक तयारी र नियामकीय प्रक्रियालाई कार्ययोजनासहित अघि बढाउन उहाँले निर्देशन दिनुभयो ।
बैठकमा प्राधिकरणका पदाधिकारीले दूरसञ्चार सेवाको गुणस्तर परीक्षण तथा अनुगमनका क्रममा देखिएका समस्या र चुनौतीबारे जानकारी गराउनुभएको थियो ।
प्राधिकरणका अनुसार गुणस्तर परीक्षणका लागि आवश्यक सवारीसाधन तथा ‘ड्राइभ टेस्ट’ उपकरण पर्याप्त छैनन् । उपकरण खरिद प्रक्रियामा यसअघि कानुनी विवादसमेत देखिएकाले गुणस्तर परीक्षण तथा अनुगमनमा समस्या भएको जानकारी गराइएको थियो ।
प्राधिकरणले दूरसञ्चार सेवा गुणस्तरसम्बन्धी मापदण्ड जारी गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको स्वीकार गरेको छ । विद्यमान व्यवस्थाअनुसार सेवा प्रदायकले आफैँ ड्राइभ टेस्ट गरी प्रत्येक तीन महिनामा प्राधिकरणलाई गुणस्तरसम्बन्धी प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था रहेको जनाइएको छ ।
सेवा गुणस्तर न्यून भएको पाइएमा सम्बन्धित सेवा प्रदायकलाई सचेत गराउने गरिएको प्राधिकरणले जनाएको छ । गुणस्तर सुधारका लागि सेवा प्रदायकले पूर्वाधारमा थप लगानी गर्नुपर्ने भए पनि पर्याप्त लगानी हुन नसकेको प्राधिकरणको भनाइ थियो ।
प्राधिकरणका पदाधिकारीले दूरसञ्चार सेवामा आवश्यक फ्रिक्वेन्सी पर्याप्त रूपमा उपलब्ध गराउन सके सेवा गुणस्तरमा सुधार ल्याउन सहयोग पुग्ने जानकारी गराउनुभएको थियो । सेवाको माग बढ्दै गए पनि पूर्वाधार र नेटवर्क क्षमतामा सोहीअनुसार लगानी हुन नसक्दा केही क्षेत्रमा गुणस्तरको समस्या देखिएको प्राधिकरणको भनाइ थियो ।
प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले दूरसञ्चार सेवाको गुणस्तरका विषयमा देशभर नियमित अनुगमन तथा निरीक्षण भइरहेको जानकारी दिनुभयो । कानुनले दिएको अधिकारअनुसार न्यूनतम गुणस्तर मापदण्ड पूरा नगर्ने सेवा प्रदायकमाथि आवश्यक कारबाही गरिने उहाँले बताउनुभयो ।
“टेलिफोन सेवाको गुणस्तर कमजोर भएको सन्दर्भमा हामीले सेवा प्रदायकलाई यसअघि सचेत गराउँदै आएका छौँ । अब कानुनअनुसार कति कारबाही र जरिवाना गर्न सकिन्छ, हामी गर्छौं”, अध्यक्ष घिमिरेले भन्नुभयो ।
उहाँले टेलिफोन तथा इन्टरनेट सेवाको गुणस्तरको नियमित अनुगमनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभयो ।
छलफलमा सञ्चारसचिव राजेन्द्रकुमार पौडेल, प्राधिकरणका अध्यक्ष घिमिरेसहित प्राधिकरणको स्तरीकरण महाशाखाका निर्देशक मीनप्रसाद अर्याल, सेवा गुणस्तर स्तरीकरण शाखाका सहायक निर्देशक सुगन शाक्य, विवेकनाथ महासेठलगायत सहभागी हुनुहुन्थ्यो । रासस
