- प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको बिदाइ भेट ।
- दुई देशबीचको सम्बन्ध सुमधुर रहेको प्रधानमन्त्रीको भनाइ ।
- विपद्का बेला भारतले गरेको सहयोगप्रति धन्यवाद ।
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिदाइ भेट गर्नुभएको छ ।
नेपालमा आफ्नो कार्यकाल पूरा गरी फर्किन लाग्नुभएका राजदूत श्रीवास्तवले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्री शाहसँग बिदाइ भेट गर्नुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।
भेटमा प्रधानमन्त्री शाहले नेपाल र भारतबीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताउनुभयो । उहाँले हालै बाढीपहिरोलगायत विपद्का समयमा भारत सरकारले पुर्याएको सहयोगप्रति विशेष धन्यवाद व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री शाहले राजदूत श्रीवास्तवलाई कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा बधाई दिँदै आगामी जीवनका लागि शुभकामनासमेत व्यक्त गर्नुभयो ।
त्यस अवसरमा राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल र भारतबीच कैयौँ विकास परियोजना सम्पन्न भएको जानकारी गराउँदै नेपाल बसाइका क्रममा सहयोग गर्ने नेपाल सरकार तथा नेपाली जनताप्रति विशेष धन्यवाद व्यक्त गर्नुभयो । रासस
