RayNewsDaily
राष्ट्रियसभामा बाढीपहिरोको क्षति, ग्यास अभाव र जबराको गिरफ्तारीबारे प्रश्न
  • बाढीपहिरो प्रभावितको उद्धार र राहतमा जोड ।
  • क्षतिग्रस्त सडक तत्काल मर्मत गर्न माग ।
  • ग्यास अभाव र पूर्वप्रधानन्यायाधीश जबराको विषय उठ्यो ।

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा देशका विभिन्न भागमा भएका बाढीपहिरो, प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत, सडक क्षति, खाना पकाउने ग्यासको अभाव तथा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई प्रहरी नियन्त्रणमा लिइएको विषय उठाइएको छ ।

बैठकको शून्य समयमा बोल्दै सांसदहरुले पछिल्लो अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोबाट जनजीवन प्रभावित भएको भन्दै विपद्मा परेका नागरिकको समयमै उद्धार, राहत तथा सहयोगका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद घनश्याम रिजाल र विष्णुदेवी पुडासैनीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई प्रहरी नियन्त्रणमा लिनुपर्ने कारणबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो ।

सांसद रुक्मिणि कोइरालाले आगामी चाडपर्वलाई ध्यानमा राख्दै आमनागरिकको सडक यात्रा सुरक्षित र व्यवस्थित बनाउन क्षतिग्रस्त सडकको मर्मतसम्भारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद विष्णुबहादुर विश्वकर्माले खाना पकाउने ग्यासको अभावबारे सरकारको ध्यानाकर्षण गराउँदै दैलेखको जलजलेमा ग्यास उत्खनन तथा उत्पादनका लागि परिणाममुखी पहल गर्न माग गर्नुभयो ।

सांसद श्रीकृष्णप्रसाद अधिकारीले बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई तीव्रता दिन माग गर्नुभयो । सांसद सावित्री मल्लले बाढीपहिरो प्रभावितलाई तत्काल राहत तथा उद्धारको व्यवस्था गर्न र क्षतिग्रस्त मुख्य राजमार्ग तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन माग गर्नुभयो । रासस

प्रकाशित मिति: सोमबार, असोज १२, २०८३  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update