- मेला जोगाउन भलिबलको सहारा ।
- गाउँगाउँमा बढ्यो युवा सहभागिता ।
- संस्कृति र खेलकुदको नयाँ सहयात्रा ।
भूमिराज पिठातोली/ बझाङ । बझाङमा परम्परागत मेला र जात्राप्रति युवाको आकर्षण बढाउन भलिबल प्रतियोगिता अनिवार्यजस्तै बन्न थालेको छ । ‘हरेलो’, ‘विरिजात’ र ‘बिर्सती’ जस्ता मौलिक मेलाको संरक्षण गर्दै नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने उद्देश्यले भलिबल प्रतियोगिता आयोजना गर्न थालिएको हो ।
सुदूरपश्चिमका ‘हरेलो’, ‘विरिजात’ र ‘बिर्सती’ मेलालाई धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा लिइन्छ । मेलाप्रति युवापुस्ताको आकर्षण घट्दै गएपछि स्थानीय निकाय र आयोजकले उनीहरूलाई आकर्षित गर्न खेलकुदलाई मेलासँग जोड्न थालेका हुन् ।
कुनै समय बझाङका जात्रा र मेलामा देउडा, स्थानीय नाचगान तथा सन्देशमूलक सडक नाटक मुख्य आकर्षण हुन्थे । अहिले भने भलिबल पनि मेलाको प्रमुख आकर्षण बन्न थालेको छ ।
स्थानीय युवादेखि शिक्षक, कर्मचारी र विभिन्न संस्थामा आबद्ध व्यक्तिसम्म प्रतियोगितामा सहभागी हुन थालेपछि बझाङका मेला-जात्रा केवल धार्मिक र मनोरञ्जनात्मक गतिविधिमा सीमित छैनन् । ती खेलकुद र सामाजिक एकताको थलोसमेत बन्न थालेका छन् ।
दुई सातामै चार ठूला प्रतियोगिता
पछिल्ला दुई सातामा बझाङका विभिन्न मेला र अवसरमा चार ठूला भलिबल प्रतियोगिता आयोजना भएका छन् ।
भदौ ७ गते मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीका अवसरमा जयपृथ्वी बहुमुखी क्याम्पस, भोपुरले ‘जयपृथ्वी भलिबल कप-२०८३’ आयोजना गरेको थियो । प्रतियोगितामा ३४ टोली सहभागी भएका थिए । विजेताले रु एक लाख एक सय पाँच नगदसहित ट्रफी प्राप्त गरे भने उपविजेतालाई रु ६० हजार एक सय पाँच प्रदान गरिएको थियो ।
जयपृथ्वी भलिबल कप सकिएको भोलिपल्ट सुर्मा गाउँपालिकामा लाग्ने सुर्मादेवी विरिजात सुरु भयो। मेलामा सधैँ आकर्षक रहने फाग र माङ्गल नाचलाई यसपटक भलिबल प्रतियोगिताले समेत ओझेलमा पार्यो । खुला पुरुष तथा महिला भलिबल प्रतियोगिताले मैदानमा दर्शकको भीड बढायो भने मूल पूजा हुने पाँकरजडीमा श्रद्धालुको उपस्थिति तुलनात्मक रूपमा कम देखियो ।
रु एक लाख ३५ हजार प्रथम पुरस्कार रहेको पुरुष भलिबल प्रतियोगितामा ३५ टोली सहभागी भए। महिलातर्फ रु ६५ हजार प्रथम पुरस्कारका लागि एक दर्जनभन्दा बढी टोली प्रतिस्पर्धामा उत्रिए । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको विरिजातमा देउडा, नृत्य र झाँकीसँगै ठाँकनाच प्रतियोगितासमेत आयोजना गरिएको थियो ।
यस्तै, मष्टा गाउँपालिका-६, रिलुमा लागेको हरेलो मेलामा पनि भलिबल प्रतियोगिता आयोजना गरिएको थियो । ‘वडाध्यक्ष कप’ नाम दिइएको प्रतियोगितामा पुरुषतर्फ २६ र महिलातर्फ १२ टोली सहभागी भएका थिए। पुरुषतर्फ प्रथम हुने टोलीले रु एक लाख र महिलातर्फ प्रथम हुने टोलीले रु ६० हजार पुरस्कार प्राप्त गरे ।
एउटै मेलामा पुरुष र महिलाका गरी ३८ टोली मैदानमा उत्रिनुले बझाङमा भलिबलप्रतिको बढ्दो आकर्षणसँगै महिला खेलाडीको सहभागिता र अवसर विस्तार हुँदै गएको सङ्केत गरेको छ ।
बिर्सती मेलामा पनि भलिबलको आकर्षण
बझाङको बिर्सती मेला सुदूरपश्चिमको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको मेला हो। दुर्गाथली र छबिसपाथिभेरा गाउँपालिकाको सीमामा पर्ने बिसौनाचौर क्षेत्रमा प्रत्येक वर्ष भदौ १८ देखि २१ गतेसम्म यो मेला लाग्ने गर्छ ।
संस्कृति लोप हुन नदिने उद्देश्यले यस वर्ष मेलाको नामबाट ‘बिर्सती’ भलिबल प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टोलीले रु दुई लाख दुई हजार एक सय २१, द्वितीयले रु एक लाख दुई हजार एक सय २१, तृतीयले रु ५० हजार एक सय २१ र सान्त्वना हुने टोलीले रु १५ हजार एक सय २१ प्राप्त गर्नेछन् ।
पुरुषतर्फ १९ टोली सहभागी छन् । महिलातर्फ प्रथम हुने टोलीले रु ५० हजार एक सय २१, द्वितीयले रु २५ हजार एक सय २१, तृतीयले रु १२ हजार एक सय २१ र सान्त्वना पुरस्कारस्वरूप रु छ हजार एक सय २१ प्राप्त गर्नेछन्। महिलातर्फ ११ टोली सहभागी छन् ।
पुरस्कारभन्दा ठूलो सहभागिता
बझाङका गाउँघरमा मेला-जात्रा सामाजिक पुनर्मिलनका अवसर पनि हुन् । रोजगारी, अध्ययन वा अन्य कारणले गाउँबाहिर रहेका युवा मेला-जात्राका अवसरमा गाउँ फर्किन्छन् ।
बिर्सती भलिबल प्रतियोगिताका सहसंयोजक अर्जुन दौल्यालका अनुसार एउटा गाउँको टोली अर्को गाउँमा पुग्छ। स्थानीय दर्शकले बाहिरबाट आएका खेलाडीको खेल हेर्छन् र खेलपछि प्रतिस्पर्धी फेरि साथी बन्छन् ।
उहाँका अनुसार भलिबलको मैदान केवल खेल हुने ठाउँ मात्र नभई सम्बन्ध गाँस्ने थलोसमेत बन्न थालेको छ। जितको खुसी र हारको अनुभवसँगै आपसी चिनजान र सम्बन्ध पनि विस्तार हुने गरेको छ ।
बझाङका मेला-जात्रामा भलिबल प्रतियोगिताको पुरस्कार राशि पनि पछिल्लो समय आकर्षक बन्दै गएको छ । कतिपय प्रतियोगितामा लाखौँ रुपैयाँसम्म पुरस्कार राखिँदा जिल्लाबाहिरका खेलाडी र टोलीसमेत आकर्षित हुन थालेका छन् ।
आयोजकका लागि पुरस्कारभन्दा ठूलो विषय सहभागिता र मेलाको आकर्षण रहेको जयपृथ्वी बहुमुखी क्याम्पसका उपप्राध्यापक ईश्वर हमाल बताउनुहुन्छ ।
“यसरी हेर्दा एउटा भलिबल प्रतियोगिताले खेलाडी, दर्शक, आयोजक र स्थानीय व्यवसायी सबैलाई जोड्ने काम गरिरहेको छ,” उहाँले भन्नुभयो ।
भलिबल प्रतियोगिताले स्थानीय युवालाई खेल्ने र नयाँ खेलाडीलाई आफ्नो क्षमता परीक्षण गर्ने अवसर दिएको उहाँको भनाइ छ । दर्शकले मनोरञ्जन पाउने र मेलामा थप भीड बढ्ने भएकाले स्थानीय व्यापार-व्यवसायमा समेत सकारात्मक प्रभाव परेको उहाँले बताउनुभयो ।
महिला खेलाडी पनि मैदानमा
बझाङका मेला-जात्रामा महिला भलिबल प्रतियोगिता समावेश हुनु अर्को सकारात्मक पक्ष बनेको छ। परम्परागत रूपमा महिलाको सहभागिता सांस्कृतिक कार्यक्रम, देउडा वा धार्मिक गतिविधिमा बढी देखिने जिल्लामा अहिले महिला खेलाडी पनि भलिबल मैदानमा प्रतिस्पर्धा गर्न थालेका छन् ।
हरेलो, विरिजात र बिर्सती मेलामा मात्रै तीन दर्जनभन्दा बढी महिलाले प्रतिस्पर्धा गरेका छन् । यसले गाउँका किशोरी र युवतीलाई खेलकुदमा लाग्न प्रेरित गर्नुका साथै प्रतिस्पर्धा, आत्मविश्वास र नेतृत्व विकासको अवसरसमेत दिएको छ ।
संस्कृतिसँग खेलकुदको सहयात्रा
बझाङको मौलिक संस्कृति देउडा, जात्रा, मेला, नाचगान र धार्मिक परम्परासँग गहिरो रूपमा जोडिएको छ । पछिल्लो समय त्यसैमा भलिबल पनि थपिन थालेको छ ।
कतिपयले यसलाई परम्परामा आधुनिकताको प्रवेशका रूपमा हेरेका छन् भने कतिपयले संस्कृति जोगाउँदै नयाँ पुस्तालाई जोड्ने प्रभावकारी माध्यमका रूपमा लिएका छन् ।
खप्तडछान्ना गाउँपालिका-५ का लोकराज जोशीले मेला-जात्रामा बढ्दै गएको भलिबलको आकर्षणलाई व्यवस्थित गर्न सके बझाङमा खेलकुद पर्यटनको सम्भावनासमेत रहेको बताउनुभयो ।
देशका विभिन्न ठाउँबाट टोली प्रतियोगितामा आउन थाले स्थानीय संस्कृति, प्राकृतिक सौन्दर्य र धार्मिकस्थल अवलोकन गर्ने अवसरसमेत पाउने उहाँको भनाइ छ । खेलाडी र दर्शकको आवागमनले स्थानीय होटल, यातायात, पसल तथा अन्य व्यवसायमा आर्थिक गतिविधि बढाउन सकिने उहाँले बताउनुभयो ।
प्रतियोगितालाई व्यवस्थित, नियमित र पारदर्शी बनाउन मैदान, खेल सामग्री, रेफ्री, खेलाडीको सुरक्षा, पुरस्कार वितरण र समग्र व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
जात्रैपिच्छे खेल, गाउँगाउँमा उत्साह
बझाङमा अहिले देखिएको दृश्य केवल एउटा प्रतियोगिताको कथा मात्र होइन । जयपृथ्वी भलिबल कपमा ३४ टोली, हरेलो मेलामा ३८ टोली, बिर्सतीमा ३० टोली र विरिजात मेलामा ३२ टोलीले छुट्टाछुट्टै महिला-पुरुष भलिबल प्रतियोगितामा सहभागिता जनाएका छन् ।
यसले मेला र खेलकुदबीचको सम्बन्ध बलियो बन्दै गएको देखाउँछ ।
सत्यवादी माध्यमिक विद्यालयका प्रधानाध्यापक खगेन्द्रप्रसाद जोशी भन्नुहुन्छ, “कुनै समय जात्राको मुख्य आकर्षण देउडा र नाचगान हुन्थ्यो। अहिले त्यससँगै भलिबलको आवाज पनि मिसिन थालेको छ ।”
गाउँका खेल मैदानमा पोल गाडिँदा बालबालिकादेखि वृद्धसम्मको ध्यान त्यतातिर जान थालेको उहाँले बताउनुभयो । खेलाडी मैदानमा उत्रिँदा दर्शकको भीड बढ्छ, हरेक अङ्कसँगै हुटिङ हुन्छ र जित्दा खुसीसँगै हार्दा अर्को पटक अझ राम्रो गर्ने उत्साह जन्मिन्छ ।
बझाङका मेला-जात्रामा भलिबलको बढ्दो आकर्षणले खेलकुदलाई मात्र होइन, परम्परागत संस्कृति र नयाँ पुस्ताबीचको सम्बन्धलाई पनि बलियो बनाउँदै लगेको देखिन्छ । रासस
