RayNewsDaily
एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपाल सात विकेटले विजयी
  • नेपालले बहराइनलाई सात विकेटले हराउँदै सुखद सुरुआत गर्‍यो ।
  • सन्दीप लामिछानेले पाँच विकेट लिएपछि बहराइन ८७ रनमै समेटियो ।
  • नेपालका अर्जुन कुमाल ३६ रनमा अविजित रहे ।

रे समाचार/काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले बहराइनलाई सात विकेटले पराजित गर्दै सुखद सुरुआत गरेको छ ।

मलेसियाको बांगीमा आज भएको खेलमा बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो ।

नेपालका लागि अर्जुन कुमालले अविजित ३६ रन बनाए । उनले ५८ बलमा पाँच चौका प्रहार गरे । रोहितकुमार पौडेलले अविजित १९, आसिफ शेखले १८ र देव खनालले १० रन जोडे ।

बलिङतर्फ बहराइनका इमरान जाभेद अनवारले तीन विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बहराइन ३६.२ ओभरमा सबै विकेट गुमाएर ८७ रनमा समेटिएको थियो ।

बहराइनका लागि फिआज अहमेदले १५ बलमा सर्वाधिक १५ रन बनाए । मुहम्मद वासिमले १३ रन जोडे । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बहराइनलाई ८७ रनमा समेट्ने क्रममा नेपालका सन्दीप लामिछानेले पाँच विकेट लिए । ललितनारायण राजवंशीले तीन तथा करण केसीले दुई विकेट लिए ।

नेपालले प्रतियोगिताको दोस्रो खेल भदौ १८ गते मलेसियासँग खेल्नेछ । 

प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३  १४:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update