RayNewsDaily
एनपिएलमा पुरानै विदेशी खेलाडीमाथि फ्रेन्चाइज टोलीको भरोसा
  • सुदूरपश्चिमले सेफ अली जैब र स्कट कुगेलेइनलाई लगातार तेस्रोपटक अनुबन्ध गर्‍यो ।
  • जनकपुर, लुम्बिनी, चितवन र पोखराले पनि पुरानै विदेशी खेलाडीलाई निरन्तरता दिए ।
  • तेस्रो संस्करण कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म काठमाडौँमा आयोजना हुने ।

लोकेश धामी/काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको मिति सार्वजनिक भएसँगै फ्रेन्चाइज टोलीहरू विदेशी खेलाडी भित्र्याउने तयारीमा जुटेका छन् । अहिलेसम्म विदेशी खेलाडी घोषणा गरेका अधिकांश टोलीले अघिल्ला संस्करणमा प्रभाव जमाएका खेलाडीलाई नै निरन्तरता दिएका छन् ।

सुदूरपश्चिम रोयल्स

लगातार दुई संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सले इंग्ल्याण्डका सेफ अली जैब र न्यूजील्याण्डका स्कट कुगेलेइनलाई अनुबन्ध गरेको छ । दुवै खेलाडीले लगातार तेस्रोपटक एनपिएल खेल्नेछन् ।

कुगेलेइनले पहिलो र दोस्रो संस्करण सुदूरपश्चिमबाट खेलेका थिए भने सेफले पहिलो संस्करण सुदूरपश्चिम र दोस्रो संस्करण चितवन राइनोजबाट खेलेका थिए । सेफ पहिलो संस्करणमा लिगकै सर्वोकृष्ट खेलाडी घोषित भएका थिए ।

कुगेलेइन एनपिएलमा सर्वाधिक विकेट लिने बलरको सूचीमा शीर्ष स्थानमा छन् । उनले १७ खेलमा ६ दशमलव ४७ को इकोनोमी रेटमा २७ विकेट लिएका छन् । सेफले १६ खेलमा १३६ दशमलव २९ को स्ट्राइक रेटमा ३९१ रन बनाएका छन् ।

जनकपुर बोल्ट्स

पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले भारतीय मूलका अमेरिकी अलराउन्डर हरमित सिंहलाई अनुबन्ध गरेको छ । उनी लगातार तेस्रोपटक एनपिएल खेल्न लागेका हुन् ।

हरमितले पहिलो र दोस्रो संस्करण सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए । उनले एनपिएलमा १४ खेलबाट २० विकेट लिनुका साथै १६१ रन बनाएका छन् । जनकपुरले उनलाई कप्तानको जिम्मेवारीसमेत दिएको छ ।

जनकपुरका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले नयाँ ऊर्जा, सोच र संकल्पका साथ अघि बढ्ने लक्ष्यसहित हरमितलाई नेतृत्वको जिम्मेवारी दिइएको बताउनुभएको छ ।

लुम्बिनी लायन्स

गत संस्करणको विजेता लुम्बिनी लायन्सले श्रीलङ्काका विकेटकिपर-ब्याटर निरोशन डिकवेलालाई तेस्रो संस्करणका लागि पुनः अनुबन्ध गरेको छ । उनले एनपिएल २०२५ पनि लुम्बिनीबाटै खेलेका थिए ।

लुम्बिनीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका डिकवेलाले हालसम्म टोलीका लागि ६ खेलमा १३७ रन बनाएका छन् । लुम्बिनीका अध्यक्ष ईश्वर जिसीले डिकवेलाबाट आगामी सिजनमा पनि उत्कृष्ट प्रदर्शनको अपेक्षा रहेको बताउनुभएको छ ।

चितवन राइनोज

पहिलो उपाधिको खोजीमा रहेको चितवन राइनोजले इंग्ल्याण्डका अनुभवी अलराउन्डर रवि बोपारालाई अनुबन्ध गरेको छ । उनले लगातार तेस्रोपटक चितवनबाट एनपिएल खेल्नेछन् ।

रविले एनपिएलमा १५ खेलबाट ५२३ रन बनाएका छन् । उनी सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् ।

चितवनले पाकिस्तानका पूर्वतीव्र गतिका बलर सोहेल तनवीरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । तनवीर यसअघिका दुई संस्करणमा चितवनबाट खेलाडीका रूपमा आबद्ध थिए ।

पोखरा एभेन्जर्स

पोखरा एभेन्जर्सले श्रीलङ्काका पूर्वस्पिनर अजन्था मेन्डिसलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । अन्तर्राष्ट्रिय अनुभव, प्राविधिक ज्ञान र नेतृत्व क्षमताबाट टोलीलाई फाइदा पुग्ने पोखराको विश्वास छ ।

पोखराले श्रीलङ्काकै अलराउन्डर धनञ्जय लक्षणलाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ । उनी दोस्रोपटक पोखराबाट एनपिएल खेल्नेछन् । लक्षणले गत संस्करणमा तीन खेलमा १० विकेट लिनुका साथै ५३ रन बनाएका थिए ।

काठमाडौँ गोर्खाज, विराटनगर किंग्स र कर्णाली याक्सले भने अहिलेसम्म विदेशी खेलाडीको नाम सार्वजनिक गरेका छैनन् । खेलाडीसँग सम्झौताको विषयमा छलफल भइरहेको र केही दिनमा नाम सार्वजनिक गर्ने तयारीमा टोलीहरू छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म काठमाडौँमा आयोजना हुनेछ । यसपटक पनि आठ टोलीको सहभागिता रहनेछ भने खेल तालिका सार्वजनिक हुन बाँकी छ । रासस

प्रकाशित मिति: मंगलबार, भदौ २, २०८३  १९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update