RayNewsDaily
मनसुनसँगै बर्सेनि दोहोरिन्छ चट्याङको त्रास, कोशीमा पाँच वर्षमा ६६ जनाको मृत्यु
  • कोशी प्रदेशमा पाँच वर्षमा चट्याङ लागेर ६६ जनाको मृत्यु, २१८ जना घाइते ।
  • चट्याङबाट एक हजार ३२ पशुचौपाया मरे, १७० घर तथा गोठमा आगलागी ।
  • चट्याङको वैज्ञानिक अभिलेख र जोखिम पहिचानका लागि ‘लाइटनिङ डिटेक्सन नेटवर्क’ आवश्यक ।

सङ्गीता राई/सुनसरी । मनसुन सुरु भएसँगै नेपालका पहाडी तथा ग्रामीण क्षेत्रमा चट्याङको जोखिम बढ्ने गरेको छ । कोशी प्रदेशमा पछिल्लो पाँच वर्षमा चट्याङ लागेर ६६ जनाको मृत्यु भएको छ भने २१८ जना घाइते भएका छन् ।

गत असार १३ गते इलामको रोङ गाउँपालिका-६, सलकपुरका ८८ वर्षीय कालुवीर मोक्तानको चट्याङ लागेर मृत्यु भयो । राति मुसलधारे वर्षा भइरहेका बेला काठको बेरा र टिनको छानो भएको दुईतले घरको बरन्डामा बसिरहेका मोक्तानलाई करिब १ बजे चट्याङ लागेको थियो ।

त्यसको भोलिपल्ट असार १४ गते सङ्खुवासभाको मकालु गाउँपालिका-१, चिर्खाङकी ३९ वर्षीया कुमारी राईको पनि चट्याङ लागेर मृत्यु भयो । ठूलो वर्षा र हावाहुरी चलिरहेका बेला घरको मिटर बक्स बन्द गर्ने क्रममा चट्याङ लागेर गम्भीर घाइते राईको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र नुमतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

यी घटना नेपालमा मनसुनसँगै दोहोरिने चट्याङको जोखिमका केही उदाहरण मात्र हुन् । बाढी र पहिरोजस्ता विपद्को तुलनामा चट्याङबारे कम चर्चा हुने गरे पनि हरेक वर्ष चट्याङबाट ठूलो मानवीय तथा भौतिक क्षति हुने गरेको छ ।

बाढी, पहिरो र भूकम्पजस्ता प्राकृतिक विपद् प्रायः बढी चर्चामा आउने गरे पनि चट्याङ पनि नेपालका लागि उत्तिकै घातक विपद् बन्दै गएको छ । वर्षा सुरु भएसँगै आकाशमा चम्किने बिजुली र त्यससँगै आउने गर्जन सामान्य प्राकृतिक घटना जस्तो देखिए पनि केही सेकेन्डमै यसले मानवीय क्षति पुर्‍याउन सक्छ । विशेषगरी मनसुनको समयमा कोशी प्रदेशका पहाडी तथा तराईका जिल्लामा चट्याङका घटना हुने गरेका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार आर्थिक वर्ष २०७८/७९ देखि चालु आव २०८२/८३ को असारसम्म प्रदेशमा चट्याङ लागेर ६६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४४ पुरुष र २२ महिला छन् । सोही अवधिमा २१८ जना घाइते भएका छन् । घाइतेमध्ये ११५ पुरुष र १०३ महिला छन् ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार पुरुषहरू बाहिरी काममा बढी संलग्न हुने भएकाले महिलाको तुलनामा पुरुष चट्याङको जोखिममा बढी पर्ने गरेका छन् ।

तथ्याङ्कअनुसार आव २०७८/७९ मा १५ जनाको मृत्यु भएको थियो । आव २०७९/८० मा १२, आव २०८०/८१ मा १२, आव २०८१/८२ मा १८ तथा चालु आव २०८२/८३ को असार २५ गतेसम्म नौ जनाको चट्याङ लागेर मृत्यु भएको छ ।

पछिल्लो पाँच आर्थिक वर्षमा चट्याङबाट सबैभन्दा बढी ओखलढुङ्गामा ४३ जना घाइते भएका छन् । भोजपुरमा ४०, उदयपुरमा ३३, खोटाङमा २७ र ताप्लेजुङमा १९ जना घाइते भएका छन् । झापा र सुनसरीमा १३/१३, धनकुटामा नौ, पाँचथर र मोरङमा आठ/आठ तथा सोलुखुम्बुमा छ जना घाइते भएका छन् । इलाम, तेह्रथुम र सङ्खुवासभामा भने उक्त अवधिमा चट्याङबाट घाइते भएको विवरण छैन ।

चट्याङले मानिससँगै पशुधन र भौतिक संरचनामा समेत ठूलो क्षति पुर्‍याएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार पाँच वर्षको अवधिमा चट्याङका कारण एक हजार ३२ पशुचौपाया मरेका छन् । चट्याङबाट लागेको आगलागीमा प्रदेशका १७० घर तथा गोठ जलेर नष्ट हुँदा रु तीन करोड ७२ लाख ६५ हजार ३५० बराबरको क्षति भएको छ ।

ग्रामीण क्षेत्रमा चट्याङको जोखिम अझ बढी देखिने गरेको छ । गाउँघरका अधिकांश घर काठ र टिनबाट बनेका हुने तथा चट्याङबाट बच्न आवश्यक ‘अर्थिङ’ प्रविधि जडान नभएका कारण जोखिम बढ्ने गरेको छ । पहाडी क्षेत्रमा खुला स्थानमा कृषि, पशुपालन तथा घाँस-दाउरा सङ्कलनजस्ता काम गर्नुपर्ने भएकाले पनि मानिसहरू चट्याङको जोखिममा पर्ने गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ विभागीय मौसमविद् विभूति पोख्रेलले पछिल्ला केही वर्षयता मौसममा देखिएको अस्थिरता र जलवायु परिवर्तनको प्रभावका कारण मेघगर्जनसहित चट्याङका घटना बढ्दो क्रममा देखिएको बताउनुभएको छ ।

मनसुन तथा प्रि-मनसुन अवधिमा मौसममा अचानक परिवर्तन भई मेघगर्जन, हावाहुरी र वर्षासँगै चट्याङ पर्ने सम्भावना उच्च हुने भएकाले विशेष सतर्कता अपनाउनुपर्ने उहाँको भनाइ छ ।

मौसम खराब हुने सङ्केत देखिएपछि खुला स्थानबाट सुरक्षित आश्रयमा जानुपर्ने, अग्ला रुखमुनि बस्न नहुने तथा बिजुलीका पोल, टेलिफोनका तार, ट्रान्सफर्मर र अन्य धातुजन्य संरचनाबाट टाढा रहनुपर्ने मौसमविद् पोख्रेलले बताउनुभएको छ । सकेसम्म पक्की भवनभित्र बस्ने, झ्यालढोका बन्द गर्ने, विद्युतीय उपकरणको अनावश्यक प्रयोग नगर्ने तथा मौसमसम्बन्धी सूचना र पूर्वानुमान नियमित रूपमा पछ्याउनुपर्ने उहाँको सुझाव छ ।

चट्याङबाट हुने क्षति न्यूनीकरणका लागि व्यक्तिगत सावधानीसँगै विद्यालय, स्थानीय तह, समुदाय र सरोकारवाला निकायले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभएको छ । मौसमसम्बन्धी पूर्वसूचना प्रभावकारी रूपमा स्थानीयस्तरसम्म पुर्‍याउन सके मानवीय तथा भौतिक क्षति घटाउन सकिने उहाँको भनाइ छ ।

अभिलेख राख्न ‘लाइटनिङ डिटेक्सन नेटवर्क’ आवश्यक

चट्याङ कहाँ, कहिले, कति पटक र कति तीव्रतासहित परेको थियो भन्ने वैज्ञानिक अभिलेख राख्न ‘लाइटनिङ डिटेक्सन नेटवर्क’ आवश्यक मानिन्छ । कोशी प्रदेशमा यस्तो प्रणाली प्रभावकारी रूपमा सञ्चालनमा नहुँदा चट्याङका घटनाको विस्तृत र वैज्ञानिक अभिलेख राख्न चुनौती रहेको छ ।

जल तथा मौसम विज्ञान कार्यालय धरानका सूचना अधिकारी रूपक थापाका अनुसार प्रदेशभर चट्याङको स्थान, समय, आवृत्ति र तीव्रता मापन गरी अभिलेख राख्ने प्रणाली हाल सञ्चालनमा छैन । अहिले विराटनगर विमानस्थलमा रहेको ‘लाइटनिङ डिटेक्टर’बाट मात्र सीमित विवरण प्राप्त हुने गरेको उहाँले बताउनुभएको छ ।

विमानस्थलको हवाई सेवा सञ्चालनसँग सम्बन्धित प्रयोजनका लागि जडान गरिएको उक्त उपकरणले विमानस्थल सञ्चालन अवधिमा मात्र रेकर्ड गर्ने भएकाले प्रदेशभरका चट्याङका घटनाको समग्र विवरण सङ्कलन गर्न पर्याप्त नरहेको उहाँको भनाइ छ ।

धरानमा रहेको लाइटनिङ डिटेक्टर पनि केही वर्षअघिसम्म सञ्चालनमा रहे पनि अहिले बिग्रिएको अवस्थामा छ । आवश्यक मर्मत तथा स्तरोन्नति हुन नसक्दा उक्त उपकरण पुनः सञ्चालनमा आउन सकेको छैन ।

थापाका अनुसार चट्याङका अधिकांश घटना प्रि-मनसुन र मनसुन अवधिमा हुने गरेका छन् । तर, प्रदेशका कुन क्षेत्रमा, कुन समयमा, कति पटक र कति तीव्रतासहित चट्याङ परेको हो भन्ने तथ्याङ्क नियमित रूपमा सङ्कलन गर्ने प्रणाली नहुँदा वैज्ञानिक अध्ययन तथा जोखिम विश्लेषणमा कठिनाइ भइरहेको छ ।

चट्याङको वैज्ञानिक अभिलेखले जोखिमयुक्त क्षेत्र पहिचान, पूर्वसूचना प्रणालीको विकास, विपद् व्यवस्थापन योजना निर्माण तथा जनधनको क्षति न्यूनीकरणका लागि आधार प्रदान गर्ने थापाको भनाइ छ । त्यसैले कोशी प्रदेशका विभिन्न जिल्लामा ‘लाइटनिङ डिटेक्सन नेटवर्क’ विस्तार गरी नियमित सञ्चालनमा ल्याउन सके चट्याङसम्बन्धी तथ्याङ्क सङ्कलन, अनुसन्धान र पूर्वतयारीलाई थप प्रभावकारी बनाउन सकिने उहाँले बताउनुभएको छ । रासस

प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update