- बेत्रावतीमा बेलीब्रिज दसैँअघि सञ्चालनमा आउने ।
- पुल बनेपछि रसुवा-काठमाडौँ सडक सम्पर्क सहज हुने ।
- नेपाली सेनाको नेतृत्वमा निर्माण कार्य तीव्र ।
रसुवा । नेपाली सेनाको नेतृत्वमा रसुवा-नुवाकोट सीमासँगै बेत्रावतीस्थित फलाखुखोलामा निर्माण भइरहेको बेलीब्रिज दसैँअघि सञ्चालनमा आउने भएको छ ।
गत भदौमा आएको रसुवा बाढीले फलाखुखोलाको पक्की पुल बगाएपछि पासाङल्हामुमार्गको उक्त सडकखण्ड अवरुद्ध भएको थियो । बेलीब्रिज निर्माण सम्पन्न भएपछि सडक यातायात सञ्चालनमा आउनेछ ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार गल्छी-मैलुङ-स्याफ्रुबेँसी सडक सुधार आयोजनाले आगलीटार-बेत्रावती सडकखण्ड सञ्चालनमा ल्याएपछि बेलीब्रिज निर्माणका लागि आवश्यक सामग्री ढुवानी गर्न सहज भएको हो ।
“बेलीब्रिज जडानका क्रममा आवश्यक सामग्री बेत्रावतीस्थित निर्माणस्थलमा पुर्याइएको छ । बाढी प्रभावित जनतालाई राहत दिने सरकारी नीति तथा कार्यक्रमलाई मूर्तरूप दिन बडादसैँअघि नै बेलीब्रिज जडान गरी सवारीसाधन सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको छ”, प्रवक्ता बस्नेतले भन्नुभयो ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले बेत्रावती बजार क्षेत्रमा ठूलो क्षति पुर्याउनुका साथै फलाखुखोलाका पुरानो र नयाँ दुवै पक्की पुल बगाएको थियो । पुल बगेपछि काठमाडौँ-नुवाकोट हुँदै रसुवासम्मको सडक यातायात प्रभावित भएको छ ।
पुल नहुँदा रसुवाको दक्षिणी तथा उत्तरी क्षेत्रबीचको आवागमन, दैनिक उपभोग्य वस्तुको ढुवानी तथा अत्यावश्यक सेवासमेत प्रभावित भएको छ । बेलीब्रिज निर्माणपछि राजधानी काठमाडौँसँग रसुवाको सडक सम्पर्क सहज हुने जिल्लावासीको अपेक्षा छ ।
संविधानसभा सदस्य छोवाङ तेन्जिङ तामाङले आसन्न दसैँअघि बेत्रावतीमा पुल तयार भए राष्ट्रिय चाडपर्वका समयमा आमसर्वसाधारणलाई आवतजावत गर्न सहज हुने बताउनुभयो । यसबाट छिमेकी जिल्ला नुवाकोट हुँदै काठमाडौँसँगको सडक यातायातसमेत जोडिने उहाँको भनाइ छ ।
उहाँले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारसँगै यातायात सञ्चालनका लागि सरकारले गरेका काम र बाढीपछि नेपाली सेनाले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । रासस
