रे समाचार/काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले आज २०८३ आश्विन १२ गते लगनखेलस्थित खेल मैदानमा आयोजित ‘प्रधान सेनापति ट्रफी-२०८३’ खेलकुद प्रतियोगिताको समुद्घाटन गर्नुभएको छ ।
नेपाली सेनाभित्र रहेका प्रतिभावान् खेलाडीहरूको पहिचान गरी उनीहरूको सिप विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू तयार गर्ने अभिप्रायका साथ वि.सं. २०६५ सालबाट प्रधान सेनापति ट्रफी सुरुवात भएको हो ।
यस प्रतियोगितामा एथलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, भलिबल, बास्केटबल, फुटबल र जुडो गरी कुल ८ वटा विधा समावेश गरिएका छन् । सञ्चालित उक्त प्रतियोगितामा पृतना तथा वाहिनीका १४ वटा टिमहरूको सहभागिता रहेको छ ।

प्रतियोगिता अन्तर्गत आज सम्पन्न ५ किलोमिटर दौडमा महिलातर्फको विजेता मध्य पूर्वी पृतनाकी प्युठ निर्मला के.सी. र पुरुषतर्फका विजेता उत्तर पश्चिम पृतनाका सिपाही अर्जुन बुढालाई प्रधान सेनापतिले पुरस्कार वितरण गर्नुभयो ।
समुद्घाटन समारोहमा रथीवृन्द, अधिकृत, निर्णायक मण्डल लगायत खेलाडीहरूको उपस्थिति रहेको थियो ।
