- कोरियाली स्वयंसेवकद्वारा बाढी प्रभावित घर सरसफाइ ।
- ८ सदस्यीय टोली १० दिनदेखि पुनरुत्थानमा सक्रिय ।
- विपद्मा मानवीय एकताको सन्देश दिँदै सेवा ।
प्रकाश सिलवाल/नुवाकोट । विपद्का समयमा एउटा समुदायले अर्को समुदायलाई साथ दिनुपर्छ भन्ने मानवीय सन्देशसहित दक्षिण कोरियाबाट आएको स्वयंसेवी टोलीले भोटेकोशी बाढी प्रभावित नुवाकोटमा घर सरसफाइ तथा पुनरुत्थानको काम गरिरहेको छ ।
गत साता नेपाल आइपुगेको आठ सदस्यीय कोरियाली टोलीले विदुर नगरपालिका-१ ढुङ्गेस्थित बजारका बाढी प्रभावित घरमा १० दिनसम्म सरसफाइ गर्ने अनुमति लिएर काम गरिरहेको हो । टोलीले चर्को घामको पर्वाह नगरी घरमा पुरिएको माटो खन्ने, ढुङ्गा हटाउने, भाँचिएका बिम तथा काठ निकाल्नेलगायत काम गरिरहेको छ ।
लि खाङ उको नेतृत्वमा रहेको टोलीमा लि चाइ जुङ्ग, नम हा जिन, सिन जेउङ हुन, किम हो योङ्ग, योन हु योङ, किम साङ्ग कि र लि योङ्ग चोयल सहभागी हुनुहुन्छ । टोलीमा ८४ वर्षीय किम साङ्ग कि पनि हुनुहुन्छ । वृद्ध उमेरमा समेत अर्काको मुलुकमा आएर स्वयंसेवामा खटिएको देख्दा स्थानीयवासीलाई पनि विपद्पछिको पुनरुत्थानमा सक्रिय हुन प्रेरणा मिलेको छ ।
‘लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आइ नेपाल’ र ‘लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३५४ डि कोरिया’को संयुक्त आयोजनामा आएको ‘९११ सर्च एण्ड रेस्क्यु’ टोलीले बाढीबाट क्षतिग्रस्त घर तथा बस्ती सफा गरी पुनः बस्नयोग्य बनाउने काम गरिरहेको हो ।
एक समुदाय विपद्मा पर्दा अर्को समुदायले मानवीय सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ आफूहरू नेपाल आएको टोली नेता लि खाङ उले बताउनुभयो । प्रभावित समुदायलाई प्रत्यक्ष सहयोग गर्नुका साथै सामूहिक प्रयासबाट पुनरुत्थान सम्भव छ भन्ने सन्देश दिन टोली नेपाल आएको उहाँले बताउनुभयो ।
उहाँले यसअघि नेपालमा गएको विनाशकारी भूकम्पका समयमा पनि आफ्नो टोली उद्धार तथा राहत कार्यमा सहभागी भएको स्मरण गर्नुभयो । उहाँका अनुसार ‘९११ सर्च एण्ड रेस्क्यु टिम’ले हालसम्म विश्वका ५४ भन्दा बढी मुलुकमा पुगेर विभिन्न विपद्मा उद्धार तथा विपद् व्यवस्थापनसम्बन्धी काम गरिसकेको छ ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आइ नेपाल र डिष्ट्रिक्ट ३५४ डि कोरियाबीच कायम भगिनी सम्बन्धका आधारमा संयुक्त उद्धार तथा सरसफाइ अभियान सञ्चालन गरिएको हो ।
लायन्स डिष्ट्रिक्ट ३२५ आइ नेपालका क्याबिनेट सेक्रेटरी अनुजकुमार श्रेष्ठले दुई देशका लायन्सबीचको सम्बन्धलाई मानवीय सेवामा रूपान्तरण गर्न अभियानले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । विपद्का बेला एक देश वा समुदायलाई अर्को देश तथा समुदायले सहयोग गर्ने संस्कारले मानवीय सम्बन्ध र आपसी भाइचारालाई थप बलियो बनाउने उहाँको भनाइ छ ।
विपद् व्यवस्थापन राज्य वा कुनै एक संस्थाको मात्र दायित्व नभई समुदाय, देश र अन्तर्राष्ट्रियस्तरमा समेत साझा जिम्मेवारी भएको उदाहरणका रूपमा कोरियाली टोलीको सेवा कार्यलाई हेरिएको छ । बाढीले घरबार तथा जनजीवन प्रभावित भएका बेला टाढाको देशबाट आएर प्रभावित बस्तीको सरसफाइमा स्वयंसेवा गर्नुले विपद्मा मानवीय एकता र सहकार्यको महत्वलाई उजागर गरेको छ ।
दश दिने सेवा कार्यक्रमका लागि नेपाल आएको कोरियाली लायन्स सर्च एण्ड रेस्क्यु टिम आगामी अक्टोबर ७ मा स्वदेश फर्किने टोलीका भाषा अनुवादक अनुपजङ्ग बस्नेतले जानकारी दिनुभयो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी बाढीबाट एक हजार ४५१ जनाको मृत्यु र पाँच हजार ७४५ जना बेपत्ता छन् भने हजारौँ घर बगेका छन् । भग्नावशेष व्यवस्थापनका लागि विभिन्न निकायबाट नुवाकोटको देवीघाट, ढुङ्गे, त्रिशूलीलगायत क्षेत्रमा एक्स्काभेटर, ब्याकहो लोडर, टिप्परलगायत उपकरण र जनशक्ति परिचालन गरिएको छ । रासस
