- काठमाडौँ दरबार स्क्वायरदेखि पाटन दरबार स्क्वायरसम्म ६ किलोमिटर दौड ।
- पुरुषतर्फ रविन्द्र रावत र महिलातर्फ सुजिना रामदाम प्रथम ।
- दौडमार्फत पर्यटन, स्वास्थ्य र सम्पदा संरक्षणको सन्देश ।
रे समाचार/काठमाडौँ । ४७ औँ विश्व पर्यटन दिवसको अवसरमा "Nepal Calling" भन्ने मुख्य नाराका साथ नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) द्वारा आयोजित 'NATTA Heritage Run 2026' उत्साहपूर्ण सहभागिताका साथ सफलतापूर्वक सम्पन्न भएको छ ।
नाट्टा अध्यक्ष भरतजंग पाण्डेको नेतृत्वमा आयोजना गरिएको यस हेरिटेज रनले नेपालको पर्यटन, स्वास्थ्य, सम्पदा र सामुदायिक सहभागितालाई एकै ठाउँमा जोड्दै काठमाडौँ र ललितपुरका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरूलाई पर्यटन गतिविधिसँग जोड्ने महत्त्वपूर्ण सन्देश दिएको छ ।
कार्यक्रम नाट्टाको सम्पूर्ण कार्यसमितिको सहयोग तथा सहकार्यमा, कार्यसमिति सदस्य नबिन गुरुङको संयोजकत्वमा सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन नाट्टाका महासचिव राज कुमार देवकोटाले गर्नुभएको थियो भने एमसी (MC) को जिम्मेवारी सुष्मा केसीले निर्वाह गर्नुभएको थियो ।
६ किलोमिटर लामो उक्त दौड काठमाडौँ दरबार स्क्वायरबाट सुरु भई रत्नपार्क, शहीदगेट, रंगशाला, थापाथली, साझा पेट्रोल पम्प तथा लबिम मल हुँदै पाटन दरबार स्क्वायर पुगेर सम्पन्न भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली एथलेटिक्सका वरिष्ठ धावक बैकुण्ठ मानन्धरले सहभागी धावक-धाविकाहरूलाई शुभकामना व्यक्त गर्नुभएको थियो । वर्षाका बाबजुद पर्यटन व्यवसायी, युवा, विभिन्न संघ-संस्था, नाट्टा परिवार तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो।
प्रतियोगिताको पुरुषतर्फ रविन्द्र रावत प्रथम, सलमान शेख द्वितीय र शेरबहादुर शाही तृतीय हुन सफल भएका छन् । त्यसैगरी महिलातर्फ सुजिना रामदाम प्रथम, सुमित्रा तामाङ द्वितीय र संग्रिला श्रेष्ठ तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।

यस कार्यक्रमको Title Sponsor को रूपमा 'BAM BAM Energy Drink' र Medical Partner को रूपमा 'Frontline Hospital' को सहयोग रहेको थियो। कार्यक्रमको समापन तथा पाटनतर्फको आतिथ्य व्यवस्थापनमा पाटन पर्यटन विकास संगठनका अध्यक्ष श्री कृष्णलाल महर्जन तथा उहाँको टोलीले सहयोग पुर्याएको थियो ।

नाट्टाले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने नाट्टा कार्यसमिति, नाट्टा सचिवालय, प्रमुख अतिथि, नेपाल प्रहरी, ट्राफिक प्रहरी, काठमाडौँ तथा ललितपुर महानगरपालिका, प्रायोजकहरू, स्वयंसेवक एवम् सम्पूर्ण सहभागीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ ।
