- बाढीपहिरो प्रभावित क्षेत्रमा सेनाको उद्धार तथा राहत कार्य जारी ।
- म्याग्दी, पर्वत र बागलुङबाट ६०२ जनाको जमिनबाट उद्धार ।
- म्याग्दीका ७८ जनासहित जाजरकोटका चार जनाको हवाई उद्धार ।
रे समाचार/काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो तथा डुबान प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज, उद्धार, राहत, सुरक्षित स्थानमा स्थानान्तरण तथा सडक खुलाउने कार्यलाई निरन्तरता दिएको छ ।
नेपाली सेनाका अनुसार म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ पाउद्वारमा पहिरोमा फसेका ७८ जना स्थानीयलाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सोही गाउँपालिकाको सुरक्षित स्थानमा रहेको मुक्तिमार्ग माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएको छ ।
त्यस्तै पर्वत, म्याग्दी र बागलुङबाट ६०२ जनालाई जमिनबाट उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको सेनाले जनाएको छ । पाल्पाको रामपुर नगरपालिका-४ वडाबानघाटमा कालीगण्डकी नदी बस्तीमा पसेपछि सेनाको टोली परिचालन गरी स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ ।

सेनाको हेलिकप्टरमार्फत म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित मुक्तिमार्ग विद्यालय, बागलुङको तमानखोला गाउँपालिका- सोलेडाँडा र पर्वतको जलजला गाउँपालिकामा गरी तीन स्थानमा ९७९ किलोग्राम राहत सामग्री ढुवानी गरिएको छ ।
यसैगरी डडेल्धुराको आलिताल गाउँपालिका-८ भगरियामा पहिरो खसेर जोगबुडा-बुडर सडकखण्ड अवरुद्ध भएपछि सेनाको टोली परिचालन गरी सडक पुनः सञ्चालनमा ल्याइएको छ ।

रौतहटको मौलापुर नगरपालिका-१ मर्यादापुरस्थित लालबकैया नदीमा बहाव बढेपछि करिब ८० मिटर बाँधलाई थप मजबुत बनाइएको सेनाले जनाएको छ ।
जाजरकोटको भेरी नगरपालिका-१३ कुदुस्थित भेरी नदीको बीचमा रहेको टापुमा फसेका चार जनालाई पनि सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । खोज, उद्धार तथा राहत कार्यमा नेपाली सेनाको फौज विभिन्न प्रभावित क्षेत्रमा निरन्तर परिचालन भइरहेको सेनाले जनाएको छ ।
