प्रगति ढकाल/काठमाडौँ । घरमा जम्मा २० रुपैयाँ, अस्पताल पुग्नसमेत पैसा नभएको अवस्थामा पेटको जटिल हर्नियाले थलिएका कालीकोटका अनिल दमाईंको ज्यान वीर अस्पतालका चिकित्सकहरूले आफैँ चन्दा उठाएर गरिएको शल्यक्रियाले बचेको छ । आर्थिक अभावका कारण उपचार नै रोकिएको अवस्थामा चिकित्सकहरूको मानवीय पहलले उहाँले नयाँ जीवन पाउनुभएको हो ।
गत शनिबार राति खाना खाएपछि अचानक उहाँको पेटमा असह्य पीडा सुरु भयो । पसिनाले शरीर भिज्यो, श्वास फेर्न गाह्रो भयो । श्रीमती नआत्तिउन् भनेर करिब एक घण्टासम्म पीडा लुकाउनुभएका उहाँले अन्ततः भन्नुभयो, “अब मरे पनि सरकारकै अस्पतालमा मरुँला ।”
घरमा जम्मा २० रुपैयाँ मात्र थियो । छिमेकीसँग रु ५०० सापटी लिएर श्रीमतीसँग वीर अस्पताल पुग्नुभयो । ट्याक्सी भाडा तिरेपछि उहाँहरूको हातमा रु २० मात्र बाँकी रह्यो । आकस्मिक कक्षमा पुगेपछि टिकट काट्ने पैसा पनि नभएकाले उपचार सुरु हुन सकेन ।
जाँचपछि चिकित्सकले हर्निया जटिल अवस्थामा पुगेको र तत्काल शल्यक्रिया नगरे ज्यान जोखिममा पर्ने जानकारी दिए । तर उपचारको खर्च जुटाउने कुनै आधार थिएन । उच्च रक्तचाप र मधुमेहका कारण शल्यक्रिया थप जोखिमपूर्ण बनेको थियो ।
अनिल भन्नुहुन्छ, “त्यो बेला ज्यानभन्दा पैसाको चिन्ता बढी थियो । बरु मरिहाल्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो ।”
सडक व्यापार बन्द भएपछि बढ्यो संकट
कालीकोटका अनिल २५ वर्षअघि रोजगारीको खोजीमा काठमाडौँ आउनुभएको थियो । सडकमा ज्याकेट, टी–सर्टलगायत कपडा बेचेरै परिवार पाल्दै आउनुभएको थियो । तर फुटपाथ व्यापार हटाउने अभियानपछि आम्दानी झन् घट्यो ।
“अहिले पनि लुकीलुकी सामान बेच्नुपर्छ । कहिले भाग्नुपर्छ, कहिले सामान जोगाउनुपर्छ,” उहाँ भन्नुहुन्छ ।
उहाँको परिवारमा तीन छोरा र ९० वर्षीया आमा छन् । मासिक पाँच हजार रुपैयाँ कोठाभाडा, छोराहरूको पढाइ र दैनिक खर्च सबै यही सानो व्यापारबाट चल्दै आएको थियो ।
चिकित्सकको मन पग्लियो
वीर अस्पतालका चिकित्सक डा. सुशील विश्वकर्माले अनिलको अवस्था देखेपछि सहकर्मी चिकित्सकहरूसँग मिलेर उपचारका लागि रकम सङ्कलन गर्नुभयो ।
“उहाँको अवस्था हेरेर बस्न सकिएन । आवश्यक प्रक्रिया पूरा नभएकाले तत्काल निःशुल्क उपचार पनि सम्भव थिएन । त्यसैले हामीले चन्दा उठायौँ र शल्यक्रिया सुरु गर्यौँ,” उहाँले भन्नुभयो ।
अनिलका लागि ती चिकित्सक भगवान् सरह बनेका छन् ।
“उहाँहरू नभएको भए म आज बाँच्ने थिइनँ,” उहाँ भावुक हुँदै भन्नुहुन्छ ।
मोबाइल धितो राखेर औषधि
अनिलकी श्रीमती रश्मिला दमाईं अहिले तीन महिनाकी गर्भवती हुनुहुन्छ । श्रीमान्को उपचारका लागि उहाँले आफ्नै मोबाइल मेडिकलमा धितो राखेर औषधि किन्नुभएको छ ।
“अहिले औषधि किन्ने पैसा पनि छैन । मोबाइल अझै मेडिकलमै छ,” उहाँ भन्नुहुन्छ ।
श्रीमान् अस्पतालमा, घरमा तीन छोरा र ९० वर्षीया सासू । परिवारलाई छिमेकीले खाना खुवाइरहेका छन् ।
“श्रीमान् निको भएर घर फर्किनुभयो भने बाँकी दुःख सहुँला । तर उहाँलाई केही भयो भने हाम्रो सबै जीवन सकिन्छ,” उहाँको भनाइ छ ।
चार महिनाको कोठाभाडा बाँकी
दमाईं परिवार डल्लुको एउटा सानो कोठामा बस्छ । पाँच हजार रुपैयाँ मासिक भाडा तिर्नुपर्ने भए पनि चार महिनादेखि भाडा तिर्न सकेको छैन ।
अस्पतालले खाना दिएको छ, उपचारमा केही सहुलियत पनि भएको छ । तर अस्पतालबाट घर फर्किएपछि औषधि, पोषिलो खाना र नियमित परीक्षणको खर्च कसरी जुटाउने भन्ने चिन्ताले परिवारलाई सताइरहेको छ ।
गरिबीको प्रतिनिधि कथा
अनिल र रश्मिलाको कथा काठमाडौँका अनौपचारिक क्षेत्रमा काम गर्ने हजारौँ श्रमिक परिवारको प्रतिनिधि कथा हो । नियमित बचत नहुने, स्वास्थ्य बिमा नहुने र एउटा गम्भीर बिरामीले सिंगो परिवारलाई आर्थिक संकटमा धकेल्ने यथार्थ अझै धेरै नेपालीले भोगिरहेका छन् ।
निःशुल्क उपचारमा सहजीकरण
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई उपलब्ध गराइने निःशुल्क उपचारलाई प्रभावकारी बनाउन डा. नवराज जोशीलाई सम्पर्क व्यक्ति तोकेको जनाएको छ ।
मन्त्रालयका अनुसार विपन्न परिचयपत्र, स्थानीय तहको सिफारिस वा सम्बन्धित निकायको मुचुल्काका आधारमा निःशुल्क उपचार सुविधा लिन सकिनेछ । आकस्मिक अवस्थामा तत्काल कागजात नभए स्वघोषणाका आधारमा उपचार सुरु गर्न सकिने र अस्पतालबाट डिस्चार्ज हुनुअघि आवश्यक प्रमाण पेस गर्न सकिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । रासस
