- हिमालमा हिउँ पग्लिनुको मुख्य कारण आरोहीभन्दा विश्वव्यापी प्रदूषण र जलवायु परिवर्तन भएको पासाङ दावा शेर्पाको भनाइ।
- सगरमाथा आरोहणमा पहिलेको तुलनामा ‘एडभेन्चर’ घटेर सुविधा र ‘लक्जरी’ बढेको अनुभव।
- ३१ पटक सगरमाथा आरोहण गरेका शेर्पाले शेर्पा समुदायका लागि सामाजिक सुरक्षा आवश्यक रहेको बताए।
काठमाडौँ, १० साउन (रासस) : सोलुखुम्बुको पाङ्बोचेमा जन्मिनुभएका ४९ वर्षीय पासाङ दावा शेर्पाले हालसम्म ३१ पटक सगरमाथा आरोहण गरिसक्नुभएको छ । कामीरिता शेर्पापछि सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने दोस्रो व्यक्तिका रूपमा उहाँ परिचित हुनुहुन्छ । पादावा शेर्पाका नामले समेत परिचित उहाँले सगरमाथासहित चोयू, ल्होत्से र मनास्लु गरी आठ हजार मिटरभन्दा अग्ला हिमालमा ४३ पटक पाइला टेकिसक्नुभएको छ । सन् १९९८ मा पहिलो पटक सगरमाथा आरोहण गर्दा चर्चित बेलायती ‘एडभेन्चरर’ एडवार्ड माइकल ‘बियर’ ग्रिल्सलाई गाइड गर्दै शिखर पुर्याउनुभएका उहाँसँग राससका लागि कुम्भराज राईले गर्नुभएको कुराकानीको सम्पादित अंश :
तपाईंको हिमाल आरोहण यात्राबारे केही बताइदिनुस् न ?
– मैले १२–१३ वर्षको उमेरदेखि ट्रेकिङमा भरियाको रूपमा काम गर्न थालेको हुँ । त्यसपछि ‘किचेन ब्वाई’, ‘कुक’ हुँदै ‘माउन्टेन गाइड’को भूमिकामा काम गर्न थालेँ । सन् १९९८ मा पहिलो पटक चर्चित बेलायती ‘एडभेन्चरर’ एडवार्ड माइकल ‘बियर’ ग्रिल्सलाई गाइड गर्दै सगरमाथा शिखरमा पुगेको हुँ । त्यो आरोहण निकै कठिन थियो । अहिलेजस्तो त्यतिबेला आरोहण सुरु हुनुअघि नै साउथकोलभन्दा माथि डोरी टाँग्ने (रोप फिक्सिङ) चलन थिएन । हामी दुई पटकको प्रयासपछि शिखर पुगेका थियौँ । पहिलो प्रयासमा भने साउथ समिटबाटै फर्किएका थियौँ ।
त्यतिबेला कस्तो किसिमको जोखिम सामना गर्नुपरेको थियो ?
– त्यतिबेला विभिन्न आरोहण दलका शेर्पाले थोरै-थोरै डोरी टाँग्दै बाटो बनाउनुपर्थ्यो । हाम्रो टोलीको डोरी साउथ समिटमा पुगेपछि सकियो । त्यसपछि हिलारी स्टेप पार गर्न निकै कठिन भयो । साउथ समिट नजिकै हामी झण्डै सय मिटर चिप्लिएका थियौँ । त्यसपछि आधार शिविर फर्किएर एक सातापछि पुनः प्रयास गर्दा शिखर पुग्न सफल भयौँ । त्यतिबेला बियर ग्रिल्स अहिलेजस्तो चर्चित थिएनन् । उनी सामान्य आरोहीका रूपमा आएका थिए ।
यस वर्ष एकै सिजनमा दुई पटक सगरमाथा आरोहण गरेर ३१औँ पटक शिखरमा पुग्नुभयो । कुन–कुन मितिमा कसरी जानुभयो ?
– यसपटक एउटा अमेरिकी कम्पनी र नेपालको ट्रेक नेपाल नामक कम्पनीबीचको सहकार्यमा सञ्चालित आरोहण दलमा आबद्ध भएर मैले १८ मेमा पहिलो आरोहण गरेको थिएँ । त्यसपछि १९ मेको बिहान आधार शिविर फर्किएँ । एक दिन आराम गरेर पुनः २० मेमा शिखरतर्फ लागेँ र २२ मेमा दोस्रो पटक सगरमाथाको शिखरमा पुगेँ । दोस्रो आरोहणमा भने मैले कुनै विदेशी आरोही नलगी एक्लै शिखर चढेको थिएँ ।
तपाईंको २८ वर्ष लामो सगरमाथा आरोहण यात्रामा के–कस्ता परिवर्तन देख्नुभयो ?
– परिवर्तन धेरै भएका छन् । पहिले अहिलेजस्तो व्यवस्थित किचेन टेन्ट हुँदैनथ्यो । हामी हिउँमाथि ढुङ्गा बटुलेर गोठजस्तै किचेन बनाउँथ्यौँ । अहिले भने किचेन र डाइनिङ दुवै कार्पेटसहित निकै व्यवस्थित र सुविधासम्पन्न भएका छन् ।
भनेपछि सगरमाथा आरोहण साहसिकभन्दा सुविधायुक्त बढी भएको हो ?
– अहिले ‘एडभेन्चर’ घटेको भन्दा पनि ‘लक्जरी’ बढेको भन्नुपर्ला । वास्तवमा कसले राम्रो सुविधा दिने भन्ने प्रतिस्पर्धा बढेको हो । एउटा कम्पनीले राम्रो सुविधा दिएपछि अर्कोले अझ राम्रो सेवा दिन थालेको छ ।
यो सुविधा विदेशी आरोहीले खोजिरहेका छन् कि कम्पनीहरूले उपलब्ध गराइरहेका छन् ?
– यो दुवै पक्षबाट भइरहेको हो । विदेशी आरोहीले सुविधा खोज्छन् र कम्पनीहरूले त्यहीअनुसार व्यवस्था गर्छन् । आरोहीले सुविधाअनुसार पैसा तिरेपछि कम्पनीले पनि सोही स्तरको सेवा दिनैपर्छ ।
हिउँ पग्लिने दरलाई कसरी नियाल्नुभएको छ ? बर्सेनि खुम्बु आइसफलकै हिउँ धेरै नै पग्लियो भन्छन् नि ?
– खुम्बु आइसफलको कुरा गर्ने हो भने धेरै हिउँ पर्दा आइस धेरै देखिन्छ र हिउँ कम पर्दा पग्लिएर घटेजस्तो देखिन्छ । पहिलेको तुलनामा कतिपय ठाउँमा हिउँ पग्लिन थालेको जस्तो लाग्छ । तर मलाई चाहिँ त्यति धेरै हिउँ पग्लिएर ठूलै परिवर्तन भएको अनुभव भएको छैन ।
हिमालमा मौसम परिवर्तन भइरहेको छ कि त्यहाँ चढ्न आउने आरोहीहरूको व्यवहार परिवर्तन भइरहेको छ ?
– सन् २००० आसपाससम्म सगरमाथाको मौसम पूर्वानुमान अहिलेजस्तो भरपर्दो थिएन । त्यसबेला आरोहीले जुनसुकै बेला मौसमको जोखिम मोल्नुपर्थ्यो । अहिले भने अवस्था फेरिएको छ । मौसमसम्बन्धी भरपर्दो रिपोर्ट हेरेर आराम गर्न सकिन्छ । कतिपय विदेशी आरोही त मौसम अनुकूल नहुँदासम्म काठमाडौंमै बसेर प्रतीक्षा गर्छन् । मौसम राम्रो हुने दिन निश्चित भएपछि मात्रै आरोहणका लागि उकालो लाग्ने चलन बढेको छ । त्यसैले हिमाल वा मौसमभन्दा पनि प्रविधिको विकाससँगै मौसम पूर्वानुमान भरपर्दो बनेकाले आरोहीहरूको व्यवहारमा परिवर्तन आएको हो । अहिले त आधार शिविरभन्दा माथिसम्म इन्टरनेट पुगेकाले कहाँ, के र कहिले भइरहेको छ भन्ने जानकारी सहजै पाइन्छ ।
कोही अप्ठ्यारोमा परेका आरोहीलाई उद्धार गरेको अनुभव छ ?
– एकपटक बिना अक्सिजन सगरमाथा आरोहण गर्न गएका एक हङ्गेरियन आरोही साउथ समिटतिर पुगेपछि निकै गाह्रो अवस्थामा परेका थिए । त्यसपछि हामीले उनलाई बाँधेर घिसार्दै क्याम्प-टूसम्म ल्यायौँ । उनको ज्यान त बच्यो, तर उद्धारका क्रममा हामीले निकै कठिनाइ भोग्नुपरेको थियो ।
यस वर्षको सगरमाथा आरोहणलाई लिएर धेरै भीड बढ्यो भन्ने चर्चा भयो । तपाईंलाई कस्तो लाग्छ, भीड बढेकै हो ?
– भीड त बढेकै हो । खुम्बु आइसफलको बाटो खुल्न ढिलो हुँदा झन् धेरै भीड देखियो । तर समग्रमा हेर्दा यस वर्ष तुलनात्मक रूपमा दुर्घटना कम भएकाले यसलाई सफल र सुरक्षित आरोहण वर्षका रूपमा लिन सकिन्छ ।
तपाईं सगरमाथामा सबैभन्दा बढी पटक आरोहण गर्ने विश्व कीर्तिमानीको प्रतिस्पर्धामा हुनुहुन्छ कि पेसाकै रूपमा आरोहण गर्दा यस्तो भएको हो ?
– त्यो प्रतिस्पर्धा होइन । यसपटकको ३१औँ आरोहणबाहेक मेरा सबै आरोहण गाइडका रूपमा अन्य आरोहीलाई शिखर पुर्याउनकै लागि भएका हुन् । यस वर्षको अन्तिम आरोहण भने मेरो कम्पनीको सहयोग र विदेशी साथीहरूको अनुरोधमा पहिलो पटक कुनै आरोही नलगी एक्लै गरेको हुँ ।
सगरमाथामा प्लास्टिकजन्य फोहोर बढेको भन्ने विषयमा तपाईंको धारणा के छ ?
– पहिलेको तुलनामा अहिले फोहोर धेरै घटेको छ । पहिले साउथ कोलमै अक्सिजनका सिलिन्डर छरपस्ट देखिन्थे । पालहरू पनि त्यसै छाडिएका हुन्थे । अहिले पाल केही देखिए पनि अक्सिजनका सिलिन्डर भने प्रायः देखिँदैनन् । सफाइ निकै भएको छ । हिमालमा फोहोर बढ्यो भन्न सजिलो छ, तर त्यहाँ गएर सफा गर्नु अत्यन्त कठिन काम हो । बरफले पाल थिचेपछि निकाल्नै सकिँदैन । तान्दा टुक्राटुक्रा मात्रै आउँछ । अहिले त पहिलेजस्तो बाटोमा लाससमेत खासै देखिँदैन । यस वर्ष हिलारी स्टेप नजिक एक भारतीय आरोहीको शव मात्रै देखिएको थियो ।
तपाईंको विचारमा हिमालमा जलवायु परिवर्तनको असर देखिनुका पछाडि आरोहीका गतिविधि प्रमुख हुन् कि प्रदूषणजन्य अन्य गतिविधि ?
– मलाई त थोरै सङ्ख्याका आरोहीले हिमालमा गर्ने गतिविधिभन्दा प्रदूषणजन्य अन्य गतिविधि नै मुख्य कारण जस्तो लाग्छ । उदाहरणका लागि, सगरमाथामा हुने प्रदूषणभन्दा काठमाडौंमा धेरै प्रदूषण हुन्छ । यहाँ हुने गतिविधिको असर पनि हिमालसम्म पुगिरहेको हुन्छ ।
तपाईंलाई कहिलेकाहीँ सगरमाथालाई आराम दिन पाए हुन्थ्यो जस्तो लाग्दैन ?
– व्यक्तिगत रूपमा सोच्दा दुई–तीन वर्ष सगरमाथालाई आराम दिन पाए राम्रो हुन्थ्यो जस्तो लाग्छ । तर त्यो व्यवहारमा सम्भव देखिँदैन । विदेशी आरोहीहरू पनि त्यसमा सहमत हुँदैनन् । अर्को कुरा, आरोहणसँग ठूलो रोजगारी जोडिएको छ । राज्यको आम्दानीदेखि ट्याक्सी चालक, होटल व्यवसायी, भरिया र स्थानीय समुदायको आयआर्जनमा समेत असर पर्ने भएकाले सगरमाथालाई लामो समय आराम दिन गाह्रो छ ।
राज्यले शेर्पाहरूको योगदानलाई कत्तिको सम्मान गरेको छ ?
– केही हदसम्म सम्मान गरेको होला, तर महसुस हुने गरी गरेको जस्तो लाग्दैन । यसै वर्ष पर्यटन बोर्डले मलाई नगदसहित सम्मान गरेको थियो । तर त्यस्तो अवसर सबैले पाउँदैनन् ।
पहिलो पुस्ताका शेर्पाहरूले हातमुख जोर्नकै लागि हिमालमा भारी बोक्नुपर्ने बाध्यता थियो । अहिले तपाईंहरूको पालामा केही अन्तर छ ?
– खासै अन्तर छैन । अहिले पनि धेरैजसो शेर्पा जीविकोपार्जनकै लागि हिमालमा काम गरिरहेका छौँ ।
हिमालमा काम गरेको आम्दानीबाट सन्तुष्ट हुनुहुन्छ ?
– सन्तुष्ट नै छु । रोजगारीका लागि अन्य विकल्प पनि धेरै छैनन् ।
तपाईंको अर्को पुस्ता पनि आरोहणको क्षेत्रमा लागेका छन् कि छैनन् ?
– मेरै छोराको कुरा गर्ने हो भने उनी यो क्षेत्रमा लाग्ने छैनन् । खुम्बु क्षेत्रका हिमालमा काम गर्ने धेरै शेर्पाका नयाँ पुस्ताले पनि यो पेसा रोज्ने सम्भावना घट्दै गएको छ । तर सङ्खुवासभाको मकालु क्षेत्र, सोलुखुम्बुकै अन्य ठाउँका शेर्पा समुदायका युवाहरू भने यो क्षेत्रमा आइरहेका छन् । त्यसैगरी, राई, गुरुङलगायत अन्य समुदायको सहभागिता पनि बढ्दै गएको छ ।
तपाईंको विचारमा हिमाल भनेको के हो ? सगरमाथाको शिखरमा पुगिरहँदा कस्तो अनुभूति हुन्छ ?
– पहिलो र दोस्रो पटक शिखरमा पुग्दा निकै खुसी लागेको थियो । आफूले गाइड गरेको आरोहीलाई पनि सुरक्षित रूपमा शिखर पुर्याउन पाउँदा झन् बढी खुसी लाग्थ्यो । तर पछिल्ला आरोहणमा शिखर पुगेपछि त्यसको खुसीभन्दा पनि आफूले लगेको आरोहीलाई कसरी सुरक्षित रूपमा तल फर्काउने भन्ने चिन्ता बढी हुने गर्छ ।
प्राविधिक रूपमा सगरमाथाभन्दा कठिन मानिने आमादब्लम हिमाल तपाईंले ७० पटकभन्दा बढी आरोहण गरिसक्नुभएको भन्ने कुरा वास्तविक हो ?
– मैले आमादब्लम सन् १९९५ देखि चढ्न थालेको हुँ । एक सिजनमा दुईदेखि तीन पटकसम्म पनि चढेको छु । मैले गनेर राखेको छैन । त्यसैले ठ्याक्कै कति पटक चढेँ भन्न सक्दिनँ । मेरो अनुमानमा ५० पटकभन्दा बढी भने अवश्य भएको छ ।
कहिलेसम्म हिमाल आरोहणलाई निरन्तरता दिन्छु भन्ने सोच्नुभएको छ ?
– अब ज्यानले साथ दिएसम्म हिमाल चढ्ने योजना छ । यति नै वर्ष भनेर भन्न सकिँदैन । ज्यानले साथ दियो भने अझै पाँच–छ वर्ष पनि हुन सक्छ, नभए दुई–तीन वर्षमै रोकिन पनि सक्छ ।
भनेपछि सगरमाथा आरोहणले अझै निरन्तरता पाउँछ ?
– त्यो त सिजन सुरु भएपछि थाहा हुन्छ । आफूले गाइड गर्ने आरोही शिखरसम्म पुग्ने अवस्था आयो र म पनि सक्षम भएँ भने आरोहणलाई निरन्तरता नदिने कारण छैन । तर बीचमा कुनै अप्रत्याशित परिस्थिति आयो भने अहिले नै निश्चित रूपमा भन्न सकिँदैन ।
परिवारका सदस्यले हिमाल नचढ्न भन्नुहुन्न ?
– भन्न त भन्नुहुन्छ । तर मेरो पेसा नै यही हो । सिजन सुरु भएपछि साथीहरू झोला बोकेर हिमालतिर लागेको देख्दा मलाई पनि जान मन लागिहाल्छ ।
तपाईं हिमालमै जन्मिनुभयो, हिमालमै काम गरिरहनुभएको छ । हिमालभन्दा बाहिरको जीवन बाँच्नेबारे कहिल्यै सोच्नुभएको छ ?
– वसन्त ऋतु सुरु भएपछि त हिमाल चढ्नेबाहेक अरू केही सोच्नै सक्दिनँ । अन्य समयमा खेतीपाती गर्छु । मेरी श्रीमतीको दिङबोचेमा सानो व्यवसाय छ, त्यहीँ पनि समय बित्छ । त्यसबाहेक अन्य कुनै योजना बनाएको छैन ।
विदेश जाँदाको कुनै अविस्मरणीय अनुभव छ ?
– सन् २०२२ मा मैले सगरमाथा चढाएका एक बेलायती आरोहीले मलाई बेलायत बोलाउनुभएको थियो । त्यहाँ ‘केन्डल माउन्टेन फेस्टिभल’ नामक ठूलो कार्यक्रममा सहभागी हुने अवसर मिल्यो । विश्वप्रसिद्ध आरोहीहरूसँग भेट भयो । बियर ग्रिल्ससँग पनि पुनः भेट भयो । बेलायती सेनाको एउटा क्याम्पमा विशेष सम्मानका साथ स्वागत गरिएको अनुभव आज पनि सम्झनलायक छ । करिब एक महिना विभिन्न स्थान घुमेर नेपाल फर्किएको थिएँ ।
अन्तमा, राज्यले के गरिदिए हिमालमा काम गर्ने तपाईं जस्ता शेर्पाहरूलाई सहज हुन्थ्यो ?
– सकेसम्म राज्यले हिमालमा काम गर्ने शेर्पा र उनीहरूका परिवारका लागि दीर्घकालीन सामाजिक सुरक्षा व्यवस्था गरिदिए धेरै सहज हुन्थ्यो । यस विषयमा धेरैले आवाज उठाइसकेका छन् । तर अहिलेसम्म त्यसअनुसारको व्यवस्था हुन सकेको छैन । अब भए राम्रो हुन्थ्यो भन्ने लाग्छ ।
