- चुच्चे खोलाको खुवा हेटौँडाको लोकप्रिय कोसेली बन्यो ।
- खुवा व्यवसायले स्थानीय रोजगारी र किसानलाई टेवा पुर्यायो ।
- दूध अभावको चिन्ताबीच सरकारी सहयोगको माग ।
वासुदेव पौडेल/बागमती । हेटौँडा उपमहानगरपालिका-१७ स्थित चुच्चे खोला यतिखेर यहाँ पाइने खुवाकै कारण चासो र चर्चामा छ । खुवा उत्पादनमा विशिष्ट पहिचानजस्तै बनेको यहाँ बनाइने खुवा अहिले हेटौँडाको मुख्य कोसेली नै बनेको छ ।
विभिन्न पेसा र व्यवसायमा आबद्ध रही बाहिरका विभिन्न जिल्लाबाट आएर हेटौँडा बस्ने व्यक्ति हुन् या कान्तिलोकपथमार्फत चुच्चे खोला हुँदै आवतजावत गर्ने हुन्, जो-कोहीले पनि यहाँबाट घरमा कोसेलीका रुपमा खुवा लैजाने गर्दछन् । करिब २०३५/३६ सालतिरदेखि चुच्चे खोला क्षेत्रमा सुरु भएको खुवा बनाउने व्यवसाय पछिल्ला वर्षमा यहाँको उत्कृष्ट पहिचान त बन्यो नै, यो क्षेत्र हेटौँडाको कोसेली घरकै रुपमा स्थापित बनेको हो ।
खुवा मात्र नभई यहाँ दूधबाट बन्ने पेडा, पुष्टकारी तथा विभिन्न मिठाइ पनि उत्पादन गर्ने गरिएको लक्ष्मीनारायण खुवा बिक्री केन्द्रका सञ्चालक सोमनाथ तिमल्सिनाले जानकारी दिनुभयो ।
उहाँका अनुसार चुच्चे खोलामा खुवा उत्पादनको इतिहास भने त्यति लामो छैन । विगत चारदशककै अन्तरालमा चुच्चे खोला खुवाका लागि राष्ट्रिय रुपमा नै ख्यातिप्राप्त गरेको हो ।
विसं २०४० आसपासमा यस क्षेत्रमा सामान्य काठका छाप्रा मात्रै रहेको अनुभव सुनाउँदै उहाँले तत्कालीन समयमा २० वर्षे उमेरको आफू कामको खोजीमा यस ठाउँमा आएको बताउनुभयो । “त्यस समयमा यहाँ सडक यातायातका लागि सामान्य ट्रयाक मात्रै खुलेको थियो”, उहाँले भन्नुभयो, “मैले त्यस समयमा रु ५०० लगानी गरी केटली र कप लिएर चिया र पाउरोटीको व्यापार थालेको हुँ ।”
त्यस समयमा घरभाडा मासिक एक सय रुपैयाँ बुझाएको अनुभव सुनाउँदै उहाँले त्यसबेला यो ठाउँमा तामाङ समुदायको बाहुल्यता रहेको जानकारी दिनुभयो । उहाँका अनुसार तत्कालीन समयमा चुच्चे खोला यस आसपासका हेटौँडा, गढी, सुखौरा, ठिङ्गन, मन्थली, बेतेनी, राइगाउँ, फापरबारी, छतीवन, हर्नामाडी र हटियाको केन्द्र जस्तै थियो । सुरुमा आफूले व्यापार थाल्दा यस ठाउँमा चिया, पाउरोटी, जेरी, दही चिउरा आदिको व्यापार हुने गरेको बताउँदै उहाँले त्यसपछि क्रमशः खुवाको व्यापार बढ्दै गएको जानकारी दिनुभयो ।
सुरुसुरुमा यस क्षेत्रमा गाउँबाट आउने जानेहरूले धेरै तरकारी चिउरा खाने गरेको बताउँदै उहाँले त्यस समयमा यहाँ ५० पैसामा नै तरकारी चिउरा खान पाइने जानकारी दिनुभयो । “मैले चिया पाउरोटीसँगै त्यस समयमा एक घान, दुई घान गरेर क्रमशः खुवा पनि घोट्न थालेँ”, अनुभवन सुनाउँदै उहाँले भन्नुभयो । त्यस समयमा बनाइएको खुवा आसपासका गाउँहरूबाट यहाँ आउँदा र जाँदा फाट्टफुट्ट खाने तथा लैजाने गरे पनि राम्रो व्यापार भने केही वर्षपछि मात्रै बढ्दै गएको उहाँको अनुभव छ ।
तिमल्सिनाले तयार गरेको खुवा, पेडा, गुँदपाक २०५१ सालदेखि २०७० सालसम्म पोखराका आँगन, मारबाडी, देउराली मिष्ठान्न भण्डारमा पनि पुग्ने गरेको थियो । सुरुमा यहाँका दुई तीन वटा पसलमा मात्रै खुवा बन्ने गरेकामा अहिले २० वटाभन्दा बढी पसलमा खुवा बनाएर बिक्री गर्ने गरिएको छ ।
सुरुआती समयमा २०४०÷४१ सालतिर दूध प्रतिमाना दुई रुपैयाँदेखि पाँच मोहोरसम्म पाइने गरेको र त्यस समयमा खुवा प्रतिकिलो ३० रुपैयाँमा बिक्री हुने गरेको उहाँले अनुभव सुनाउनुभयो । तिमिल्सनाले खुवा तथा मिठाइको व्यापारबाटै वार्षिक रु १०÷१२ लाख आम्दानी गर्दै आउनुभएको छ । खुवाको बिक्रीबाटै खाली हातजस्तै काभ्रेको बेथानचोकबाट चुच्चे खोलामा आएको आफूले दुई छोरा र एक छोरीको उचित पठनपाठनसँगै राम्रैसँग जग्गा जमिन तथा सम्पत्ति जोड्न सकेका धेरै सुखद अनुभवहरू रहेको उहाँले बताउनुभयो ।
यहाँबाट बिक्री हुने गरेको खुवाका कारण स्थानीयमा स्वरोजगार सिर्जना गरेसँगै युवामा पनि गरे हुन्छ भन्ने भावना अभिवृद्धि गरेको छ । खुवाका कारण भैँसीपालन गर्ने कृषकलाई दूध बिक्री नहुने चिन्ता हटेको स्थानीय कृषकहरू बताउँछन् । यहाँ उत्पादित खुवाले स्थानीय पहिचान र युवालाई स्वदेशमै उद्यमी बन्न प्रेरित गर्ने गरेको छ । खुवाका कारण दूधको पर्याप्त रुपमा खपत हुने भएकाले चुच्चे खोला आसपासमा भैँसीपालनतर्फ पनि आकर्षण बढेको छ । पछिल्लो समयमा कतिपय खुवा पसल सञ्चालकले स्थानीयलाई भैँसीपालनका लागि ऋण सहयोगसमेत दिँदै आएका छन् । हाल भैँसीको दूध प्रतिलिटर ११० रुपैयाँमा पाइन्छ भने गाईको दूध प्रतिलिटर ८० रुपैयाँमा पाइन्छ ।
खुवाका लागि भने भैँसीको दूध नै उपयुक्त हुने कृष्ण कन्हैया खुवा सेन्टरका सञ्चालक श्यामकुमार मानन्धरले बताउनुभयो । दूधबाट बन्ने अन्य पेडा, पुष्टकारीजस्ता मिठाइका लागि भने गाईको दूध प्रयोग गरिने उहाँले बताउनुभयो । मानन्धरले खुवा व्यापारबाटै मासिक करिब एक लाख रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ । अन्य तीन जनालाई रोजगारीसमेत दिनुभएका उहाँलाई खुवा उत्पादन तथा व्यापारमा श्रीमती तथा छोरा र छोरीले निरन्तर सघाउँदै आउनुभएको छ । खुवा उत्पादनका लागि दाउराको प्रयोग नै उपयुक्त मानिने बताउँदै उहाँले करिब २५ मिनेटमा एक घान खुवा तयार हुने बताउनुभयो ।
सामान्यतः चार लिटर दूधको एक किलो खुवा तयार हुने भनिए पनि लगभग नौ सय ग्राम मात्र बस्ने गरेको खुवा व्यवसायीहरू बताउँछन् । चुच्चे खोलाबाट खुवा प्रतिकिलो ७०० रुपैयाँ, पेडा प्रतिकिलो एक हजार रुपैयाँमा बिक्री हुने गरेको छ । यहाँबाट गुदपाक तथा अन्य मिठाइ पनि राम्रै बिक्री हुँदै आएको छ ।
चुच्चे खोला खुवाका लागि रामै्र ब्राण्ड बनिरहेको हेटौँडा उपमहानगरपालिका–१७ का वडाध्यक्ष उद्धव सत्यालले बताउनुभयो । चुच्चे खोलामा भइरहेको खुवा उत्पादन र प्रवर्द्धनमा नगरपालिकाले जोड दिएको बताउँदै उहाँले यसका लागि खुवा उत्पादन गर्ने व्यवसायीलाई आधुनिक मेसिन तथा चुल्हो अनुदानमा उपलब्ध गराउने नगरपालिकाको कार्यक्रम रहेको जानकारी दिनुभयो । “खुवा उत्पादनमा प्रोत्साहनसँगै नगरपालिकाले यस क्षेत्रमा गाई तथा भैँसीपालनका लागि पनि विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरेको छ”, उहाँले भन्नुभयो, “कृषिजन्य उत्पादनमा प्रोत्साहन तथा सहयोगका विभिन्न कार्यक्रम नगरपालिकाले सञ्चालन गर्दै आएको छ ।”
आँखै अगाडि पकाइने भएकाले अझै विश्वास बढाउँदै
यस क्षेत्र हुँदै आवतजावत गर्ने आफ्ना आँखै अगाडि सफासुग्घरसहित खुवा घोटिरहेको देखेर पनि पूर्ण विश्वासका साथ खुवा किनेर लैजाने गरेका छन् । प्रत्येक दिन बिहान सबेरैदेखि बेलुका अबेरसम्म खुवा घोटिरहेको दृश्य देख्न पाउनु पनि यहाँको मौलिकता हो । जतिसुकै ढिलो किन नहोस् यहाँ पसेर खुवाको स्वाद लिएर मात्रै मानिस आफ्नो गन्तव्यमा जाने गरेको स्थानीयवासी बताउँछन् ।
पछिल्ला वर्षमा हेटौँडाबाट देशका विभिन्न स्थानमा जाने सर्वसाधारणको प्रमुख कोसेली नै चुच्चे खोलाको खुवा हुने गरेको कृष्ण कन्हैया खुवा सेन्टरका सञ्चालक मानन्धरको भनाइ छ । पछिल्लो समयमा भैँसीपालनको क्रमः घट्दै जाँदा आगामी दिनमा मागअनुसार खुवा बनाउन सकिँदैन की भन्ने चिन्ता बढाएको उहाँले बताउनुभयो । आफूले २०५७ सालतिरबाट खुवा बनाउन सुरु गरेको बताउँदै उहाँले बढ्दो माग र ग्राहकहरूको विश्वासले थप उत्साहित बनाएको बताउनुभयो ।
हेटौँडाबाट काठमाडौँ जाने कान्तिलोकपथ यहीँ भएर जाने भएकाले दैनिक धेरै परिणाममा खुवा तथा यहाँ उत्पादित गुदपाक, पुष्टकारी तथा मिठाइ काठमाडौँलगायत विभिन्न स्थानमा कोशेलीका रुपमा पुग्ने गरेको व्यवसायीहरू बताउँछन् । पछिल्ला समयमा भैँसीपालन घट्दै जानुले आफूहरूको व्यवसायलाई प्रभावित पार्ने हो कि भन्ने चिन्ता बढाएको बताउँदै उहाँले पशुपालक कृषकलाई प्रोत्साहन गर्ने किसिमका कार्यक्रम ल्याउन सरकारसँग आग्रह गर्नुभयो । खुवा उत्पादक व्यवसायीलाई पनि आधुनिक खुवा बनाउने मेसिनका साथै आधुनिक चुल्होहरू अनुदानमा सहयोग गर्न उहाँले सरकारसँग माग गर्नुभयो । रासस
