रे समाचार/काठमाडौं । पुरुष सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) भलिबल च्याम्पियनसिपअन्तर्गत बुधबार भएको खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको छ ।
पाकिस्तानको इस्लामाबादस्थित लियाकत व्यायामशालामा भएको खेलमा नेपाल ३-२ को सेटमा श्रीलङ्कासँग पराजित भएको हो ।
श्रीलङ्काले पहिलो सेट २५-१८ ले जित्दै अग्रता बनाएको थियो । त्यसपछि नेपालले उत्कृष्ट पुनरागमन गर्दै दोस्रो र तेस्रो सेट आफ्नो पक्षमा पार्यो । नेपालले दोस्रो सेट २५-२१ र तेस्रो सेट २५-१९ अङ्कले जितेको थियो ।
चौथो सेटमा श्रीलङ्का २५-२१ ले विजयी हुँदै खेललाई बराबरीमा ल्यायो । निर्णायक पाँचौँ सेटमा पनि श्रीलङ्काले १५-११ को जित निकाल्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो ।
यो हारसँगै प्रतियोगितामा नेपालको लगातार दोस्रो हार भएको छ । यसअघि नेपाल काजकिस्तानसँग ३-२ कै सेटमा पराजित भएको थियो ।
अब नेपालले प्रतियोगिताको तेस्रो खेल शुक्रबार आयोजक पाकिस्तानसँग खेल्नेछ । सिङ्गल राउन्ड रोविन लिगपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
