चितवन । भरतपुर अस्पतालमा बिरामीको उच्च चाप हुन थालेको छ । सोमबार एकै दिन तीन हजार ३६८ जनाले सेवा लिएका छन् । बिरामीको चाप बढ्दा व्यवस्थापन जटिल बन्ने गरेको छ ।
अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये दुई हजार ५८९ स्वास्थ्य बिमाका छन् । बाँकी ७८९ बिमा नभएका बिरामी हुन । उपचारका लागि आएकामध्ये ६८७ जना नयाँ बिरामी रहेको अस्पतालले जनाएको छ । एक दिनमा आकस्मिक सेवा लिनेको सङ्ख्या २६६ जना रहेको छ । अस्पतालका बिमा कार्यक्रम संयोजक लीलाधर पौडेलका अनुसार ७० प्रतिशत हाराहारी बिरामी बिमाका रहेका छन् । आकस्मिक सेवामा आएकामध्ये १०१ जना बिमा नभएका बिरामी हुन् ।
संयोजक पौडेलका अनुसार सोमबार भिडियो एक्सरे गरेका बिरामीको सङ्ख्या ५०७ रहेको छ । यसमध्ये बिमाका ४१५ जना हुन् भने ९२ जना बिमा नभएका बिरामी हुन् । एकैदिन ४५ जनाको सिटीस्क्यान र ३१ जनाको एमआरआई गरिएको उहाँले बताउनुभयो । अस्पतालमा आएका बिरामीमध्ये ८० वर्ष नाघेका बिरामीको सङ्ख्या १०९ जना रहेको छ भने ६० वर्षदेखि ७९ वर्षसम्म उमेरका बिरामी ७१३ जना रहेका छन् ।

भरतपुर अस्पताल स्वास्थ्य बिमाका लागि देशमा नै नमूनाका रूपमा लिने गरिन्छ । यहाँ चितवनसहित २२ जिल्लाका बिरामी उपचारका लागि आउने अस्पतालले जनाएको छ । जिल्लाका दुई ठूला मेडिकल कलेजमा बिमा कार्यक्रम स्थगित भएपछि बिरामीको चाप उच्च हुँदै गएको हो ।
स्वास्थ्य बिमा बोर्डबाट यस अस्पतालले गत आर्थिक वर्षमा रु ९२ करोड ३६ लाख ४२ हजार ९४७.३६ भुक्तानी पाएको छ । अस्पतालमा आएका बीमाका बिरामी उपचार गरेबापत अस्पतालले यो भुक्तानी पाएको हो । पौडेलका अनुसार अघिल्लो आव र गत आवको मङ्सिरसम्मको भुक्तानी आएको हो । त्यसयताको झन्डै रु ४० करोड भुक्तानी आउन बाँकी छ ।
अस्पतालले विसं २०७४ भदौबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको हो । यस अवधिमा स्वास्थ्य बीमामार्फत अस्पतालले रु दुई अर्ब ४७ करोड ४८ लाख २२ हजार ३२९.९७ प्राप्त गरिसकेको छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा विश्वबन्धु बगालेले बिरामीको चाप उच्च हुँदा व्यवस्थापनमा जटिलता आएको बताउनुभयो । अहिले अस्पतालको ध्यान गुणस्तरभन्दा भीड व्यवस्थापनमा केन्द्रित हुनुपरेको उहाँले बताउनुभयो । अस्पतालले भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकासँग विस्तारित सेवा सञ्चालन गर्ने विषयमा छलफल अघि बढाएको उहाँले बताउनुभयो ।
पहिलो चरणमा नियमित खाने औषधि, प्रयोगशालाको सेवाजस्ता सामान्य समस्या लिएर आउने बिरामीलाई पालिकास्तरमा सेवा दिन सके चाप घट्ने र बिरामीले सहज सेवा पाउने उहाँको भनाइ छ । क्रमशः पालिकाहरूसँग सहकार्य गरेर आधारभूत सेवा त्यही दिनेगरी छलफल अघि बढाइएको उहाँ बताउनुहुन्छ । यस्तै रत्ननगर बकुलहर अस्पतालसँग समेत सहकार्य गर्ने विषयमा छलफल भइरहेको छ । बगालेले भन्नुभयो, “सामान्य समस्या भएका बिरामीलाई स्थानीय तहमा उपचार गर्ने र यहाँ विशिष्टिकृत सेवा दिनेगरी काम गर्नुपर्छ ।”
भरतपुर अस्पताल अस्तव्यस्त र भीड व्यवस्थापनमा मात्र केन्द्रित नभई सेवाप्रवाह र गुणस्तर विकासमा लाग्नुपर्छ भन्ने सोचका साथ काम अघि बढाइएको उहाँ बताउनुहुन्छ । पालिकाहरूमा क्रमशः बिरामीको भर्ना र शल्यक्रियासम्म गर्न केही समय लाग्ने भए पनि यससँगै भरतपुर अस्पतालले विशिष्टिकृत सेवामात्रै दिन सक्ने बताउनुभयो । रासस
