RayNewsDaily
थकान मेटिने म्याग्दीको भुरुङ्ग-तातोपानी   

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ मा रहेको भुरुङ्ग-तातोपानी कुण्ड आन्तरिक एवं वाह्य पर्यटकका रोजाइमा पर्न थालेको छ । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडकको छेउमा रहेको यो कुण्ड पर्यटकका लागि विश्रामस्थल बनेको छ ।    
    
अन्नपूर्ण चक्रीय पदमार्ग, बेनी-जोमसोम सडक हुँदै मुस्ताङ जाने-आउने र अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गमा यात्रा गर्ने पर्यटकका लागि भुरुङ्ग-तातोपानी आकर्षक गन्तव्य बनेको हो । यहाँको प्राकृतिक तातोपानीमा स्नान गरेपछि यात्राको थकान मेटिने अनुभव पर्यटकले सुनाउने गरेका छन् ।    
    
 काठमाडौँका विमलेश शाक्यले तातोपानीमा स्नान गरेपछि यात्राको थकान कम भएको अनुभव सुनाउनुभयो । “यात्राको थकान र मुस्ताङको चिसो तातोपानीमा नुहाएपछि मेटियो,” उहाँले भन्नुभयो, “थकित शरीरमा तातोपानीमा स्नान गरेपछि स्फूर्ति आयो ।”    
    
 तातोपानीमा स्नान गर्नेले शरीरको थकान कम भएको र दुखाइबाट राहत मिलेको अनुभव सुनाउँछन् । चिसो ठाउँबाट आएका पर्यटकले तातोपानीमा स्नान गरेपछि न्यानो महसुस गर्छन् ।    
कालीगण्डकी नदीको किनारमा प्राकृतिक रूपमा निस्कने ५५ डिग्री सेल्सियस तापक्रमको तातोपानी सङ्कलन गरेर पोखरी र धारामा वितरण गरिएको छ । पर्यटकीय याम सुरु भएसँगै यहाँ स्नान गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकको चाप बढेको छ ।    
    
 कुण्डका कर्मचारी प्रितम पुर्जाका अनुसार केही दिनयता पर्यटकको चहलपहल बढेसँगै स्नान गर्न आउनेको सङ्ख्या पनि बढेको छ । “हिजोआज दैनिक दुईदेखि ३०० जनाले स्नान गर्छन्,” उहाँले भन्नुभयो, “पर्यटक आगमन दैनिक रुपमा बढ्दो छ ।”    
    
 बेनी–जोमसोम सडकको छेउमा तातोपानी सङ्कलन गरिएका दुईवटा पोखरी र धारा छन् । पर्यटकले आफूलाई उपयुक्त हुने ठाउँमा स्नान गर्न सक्छन् । कुण्डमा बिहान ६ः०० देखि राति १०ः०० बजेसम्म स्नान गर्न पाइन्छ । गाउँपालिकाले स्नान गर्न आउने नेपालीका लागि रु ५० र विदेशीका लागि रु १५० प्रवेश शुल्क तोकिएको छ ।    
    
 अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ मा भुरुङ्ग–तातोपानी कुण्ड सञ्चालनका लागि दुई महिनाको ठेक्का आह्वान गरेको छ । प्रवेश शुल्क सङ्कलन र होटल सञ्चालन गर्ने गरी न्यूनतम रु नौ लाख ५० हजार मूल्य राखेर ठेक्का आह्वान गरिएको हो । प्रस्ताव पेस गर्ने म्याद सोमबारसम्म तोकिएको थियो ।    
    
 कुण्डमा पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले दुई महिनाका लागि मात्र ठेक्का आह्वान गरिएको अन्नपूर्ण गाउँपालिका–२ का वडाध्यक्ष ओमप्रसाद फगामीले बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८२/८३ मा करबाहेक रु ५० लाख एक हजारमा कुण्ड सञ्चालनको ठेक्का लागेको थियो । आर्थिक वर्ष २०८१/८२ मा रु ५६ लाख २५ हजार ३७७ र २०८०/८१ मा रु ५५ लाख ९०० मा ठेक्का लागेको थियो ।    
    
 अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार तातोपानी कुण्डबाट प्राप्त आम्दानी शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा परिचालन हुँदै आएको छ । तातोपानीस्थित सर्वोदय माध्यमिक विद्यालय र हिमालय आधारभूत विद्यालयका निजी स्रोतका शिक्षकको तलब व्यवस्थापनमा सहयोग गरिएको छ । स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालन, कुण्डको पूर्वाधार निर्माण तथा संरक्षणमा पनि रकम खर्च गरिँदै आएको अध्यक्ष पुनले बताउनुभयो ।    
    
 कालीगण्डकी नदीको कटान नियन्त्रणका लागि पनि संरक्षणका काम हुँदै आएका छन् । भुरुङ्ग–तातोपानी कुण्ड नजिकै कालीगण्डकी नदीपारि अन्नपूर्ण गाउँपालिका–५ मा पाउद्वार तातोपानी कुण्ड रहेको छ । उक्त कुण्ड सञ्चालनका लागि यस वर्ष रु ५० लाख १० हजारमा ठेक्का सम्झौता भएको छ ।    
     
 कालीगण्डकी नदीमा आएको बाढीले भुरुङ्ग र पाउद्वारका तातोपानी कुण्डमा असर गरेको छैन । तर, गाउँपालिका–६ मा पर्ने रातोपानीस्थित तातोपानी कुण्ड भने बाढीले बगरमा परिणत गरेको छ । गाउँपालिका–१ मा रहेको सेकार्कु तातोपानी कुण्ड सञ्चालनका लागि भने यस वर्ष कुनै प्रस्ताव परेको छैन ।    
    
 भुरुङ्ग–तातोपानी बजारमा पर्यटकको आवास सुविधाका लागि करिब २० वटा सुविधासम्पन्न होटल सञ्चालनमा छन् । यहाँ एकै दिनमा ५०० भन्दा बढी पर्यटकलाई बास बसाउन सकिने क्षमता रहेको व्यवसायीले बताएका छन् ।    
    
 व्यवसायी राजु हमालका अनुसार केही दिनयता होटल भरिभराउ हुन थालेका छन् । यस वर्ष भुरुङ्ग-तातोपानीमा बास बस्ने पर्यटकमध्ये आधाभन्दा बढी अन्नपूर्ण आधार शिविर जाने र त्यहाँबाट फर्किनेहरू रहेको उहाँले बताउनुभयो ।    
    
 देशका विभिन्न ठाउँबाट आउने आन्तरिक पर्यटक भुरुङ्ग–तातोपानीमा बास बस्छन् । त्यसपछि जिप चढेर अन्नपूर्ण आधार शिविर जाने पदमार्गको हुमखोलासम्म पुग्छन् र त्यहाँबाट पदयात्रा सुरु गर्छन् । भुरुङ्ग–तातोपानी कुण्ड मुस्ताङ यात्रा गर्ने, पदयात्रामा जाने र फर्किने पर्यटकका लागि विश्रामस्थलका साथै स्थानीय पर्यटन व्यवसायको आधार बनेको छ । रासस   
  

प्रकाशित मिति: सोमबार, कात्तिक ९, २०८३  ०७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update