RayNewsDaily
विश्वको कुनै पनि ठाउँमा पोलियो भाइरस रहँदासम्म नेपालमा जोखिम कायमै
  • नेपालको पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक
  • दुर्गम तथा जोखिममा रहेका क्षेत्रका सबै बालबालिकालाई पूर्ण खोप दिनुपर्ने
  • निगरानी, प्रयोगशाला सेवा र प्रकोप प्रतिकार्य प्रणाली सुदृढ बनाउन जोड

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठनको दक्षिण-पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण आयोगका अध्यक्ष प्रा. डा. सृजना श्रेष्ठले नेपालको पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक रहेको बताउनुभएको छ ।

विश्व पोलियो दिवस, २०२६ का अवसरमा आज भिडियो सन्देश जारी गर्दै उहाँले नेपालले पोलियो उन्मूलनमा हासिल गरेको उपलब्धि उल्लेखनीय भए पनि त्यसलाई दीर्घकालसम्म कायम राख्न निरन्तर प्रयास गर्नुपर्ने बताउनुभएको हो ।

विश्वको कुनै पनि ठाउँमा पोलियो भाइरसको सङ्क्रमण रहँदासम्म नेपालमा पनि यो रोग भित्रिने जोखिम रहने उहाँले उल्लेख गर्नुभयो । खुला सिमाना र मानिसको आवागमनका कारण निरन्तर सतर्कता अपनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

डा. श्रेष्ठले नेपालको पोलियोमुक्त अवस्था कायम राख्न पाँच प्रमुख प्राथमिकता औँल्याउनुभएको छ ।

पहिलो, नियमित खोप सेवा सुनिश्चित गर्नुपर्ने उहाँको भनाइ छ । विशेषगरी दुर्गम तथा जोखिममा रहेका क्षेत्र र समुदायका प्रत्येक बालबालिकाले पूर्ण खोप प्राप्त गरेको सुनिश्चित गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

दोस्रो, पोलियो भाइरसको समयमै पहिचान गर्न अति शीघ्र लुलोपनको निगरानीलाई प्रभावकारी बनाउनुपर्ने उहाँले उल्लेख गर्नुभयो । तेस्रो, पोलियो भाइरस पहिचान भएको अवस्थामा शीघ्र र प्रभावकारी प्रतिकार्य सुनिश्चित गर्न नियमित निगरानी समीक्षा आवश्यक रहेको उहाँको भनाइ छ ।

चौथो, पोलियोसम्बन्धी विश्वव्यापी वित्तीय सहयोगको परिवर्तित परिप्रेक्ष्यमा खोपबाट बचाउन सकिने रोगको निगरानी, प्रयोगशाला सेवा, खोप कार्यक्रम तथा प्रकोप प्रतिकार्यका लागि आवश्यक क्षमता र संरचनाको संरक्षण गर्नुपर्ने उहाँले बताउनुभयो ।

पाँचौँ, पोलियो उन्मूलनबाट प्राप्त अनुभव, विशेषज्ञता र संरचनाको सदुपयोग गर्दै खोपबाट बचाउन सकिने अन्य रोगको निगरानी तथा प्रतिकार्य प्रणालीलाई पनि सुदृढ बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपालमा राष्ट्रिय खोप तालिकाअनुसार बालबालिकालाई मुखबाट खुवाइने (ओरल) र सुईमार्फत दिइने (इन्जेक्टेबल) दुवै प्रकारका पोलियो खोप नियमित रूपमा प्रदान गरिँदै आएको छ । रासस

प्रकाशित मिति: शनिबार, कात्तिक ७, २०८३  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update