न्युयोर्क । विश्वकप फुटबलमा तेस्रो स्थानका लागि हुने प्रतिस्पर्धा कुनै पनि टिमले खेल्न नचाहने खेल हो । फाइनल पुग्ने अन्तिम बाधा पार गर्न नसकेको पीडाबिच दुई टिमले तेस्रो स्थानको खेल्ने गर्दछ । यस पटक फाइनलमा पुग्न असफल भएपछि शारीरिक र मानसिक रूपमा थकित फ्रान्स र इङ्ग्ल्यान्डबिच शनिबार राति कांस्य पदकका लागि प्रतिस्पर्धा हुँदै छ । स्पेनसँग सेमिफाइनलमा २–० ले हार्नुअघि उपाधिको प्रमुख दाबेदारका रूपमा प्रस्तुत भएको फ्रान्सले अब सो छवि गुमाइसकेको छ । फ्रान्सले स्पेनविरुद्धको अन्तिम चारमा कमजोर प्रदर्शन गरेको थियो । इङ्ग्ल्यान्ड भने अर्जेन्टिनासँगको सेमिफाइनलमा निर्धारित समय सकिन पाँच मिनेट बाँकी छँदासम्म एक गोलले अग्रता बनाएर पनि पराजित भएको थियो । इङ्ग्ल्यान्डका प्रशिक्षक थोमस टुचेलले पनि भन्नुभयो, “मेरा कुनै खेलाडीलाई यो खेल खेल्ने चाहना छैन । सायद फ्रान्सेली खेलाडीलाई पनि तेस्रो स्थानको खेल खेल्ने इच्छा छैन होला । यी खेलाडी फाइनल खेल्न चाहन्थे ।” यसै गरी फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले आफूले तेस्रो स्थानको खेल खेल्नु पर्छ भन्ने नसोचेको तर वास्तविकतालाई स्विकार्नु पर्छ भन्नुभयो ।
डेसच्याम्पको बिदाइ खेल
तेस्रो स्थानको खेल प्रशिक्षक डेसच्याम्प र कप्तान तथा स्ट्राइकर किलियन एम्बापेका कारण तुलनात्मक रूपमा फ्रान्सका लागि महत्वपूर्ण बनेको छ । प्रशिक्षक डेसच्याम्पको फ्रान्सका लागि यो अन्तिम खेल हुने छ । त्यसैले फ्रान्स विश्वकपको कांस्य पदक नै जितेर भए पनि आफ्नो देशका सर्वाधिक सफल प्रशिक्षक डेसच्याम्पलाई बिदाइ गर्न चाहन्छ । सन् २०१० को विश्वकपमा कमजोर प्रदर्शनपछि सन् २०१२ मा जिम्मेवारी पाएका डेसच्याम्पले फ्रान्सेली टिमको पुनर्निर्माण गर्नुभएको हो । सन् १९९८ मा एक कप्तानका रूपमा पहिलो पटक फ्रान्सलाई विश्व विजेता बनाउने डेसच्याम्पले दुई दशकपछि सन् २०१८ मा पुन फ्रान्सलाई विश्व च्याम्पियन बनाउनुभएको थियो । डेसच्याम्पको प्रशिक्षकत्वमा यस पटक पनि फ्रान्स उपाधिको प्रमुख दाबेदार थियो । यस विश्वकपमा अजय टिमका रूपमा प्रदर्शन गरेको फ्रान्सलाई सेमिफाइनलमा स्पेनविरुद्ध एक खराब दिनले डुबायो तर १४ वर्ष फ्रान्सका प्रशिक्षक रहेका डेसच्याम्पलाई सधैँ फ्रान्सका चमत्कारी प्रशिक्षकका रूपमा सम्झना गरिने छ । डेसच्याम्पको नाममा प्रशिक्षकका रूपमा विश्वकपका सबभन्दा बढी खेलमा सहभागी हुने कीर्तिमान पनि रहेको छ ।
दबाबमा प्रशिक्षक टुचेल
इङ्ग्ल्यान्डका प्रशिक्षक टुचेलका लागि फ्रान्सविरुद्ध हुने खेल सजिलो हुने छैन । अर्जेन्टिनाविरुद्धको सेमिफाइनलमा एक गोल गरेपछि बढी नै डिफेन्सिभ भएको भन्दै प्रशिक्षक टुचेलको चौतर्फी आलोचना भइरहेको छ । इङ्ग्ल्यान्ड यसपालि ६० वर्षपछि विश्वकप उपाधि पुनः जित्ने अभियानमा थियो । सन् १९६६ मा घरेलु मैदानमा विश्वकपको उपाधि जितेपछि इङ्ग्ल्यान्डले अहिलेसम्म फाइनल पनि खेल्न सकेको छैन । सन् १९९० र २०१८ मा भएको विश्वकपमा इङ्ग्ल्यान्डले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गरेको थियो । यद्यपि इटाली र बेल्जियमले इङ्ग्ल्यान्डलाई कांस्य पदक हासिल गर्न दिएन । त्यसैले इङ्ग्ल्यान्ड तेस्रो प्रयासमा पहिलो पटक विश्वकपको कांस्य पदक जित्ने दाउमा छ ।
एम्बापेलाई गोल्डेन बुट जित्ने अन्तिम मौका
फ्रान्स र इङ्ग्ल्यान्डबिचको खेलमा किलियन एम्बापे केन्द्रमा रहने छ । यो खेलले एम्बापेलाई लगातार दोस्रो पटक गोल्डेन बुट दिलाउन सक्छ । अर्जेन्टिनाका लियोनेल मेसी अहिलेसम्म आठ गोल र चार ‘एसिस्ट’ सहित गोल्डेन बुटको होडमा सबभन्दा अगाडि हुनुहुन्छ । एम्बापेले पनि मेसी सरह आठ गोल नै गर्नुभएको छ । उहाँ एक एसिस्टले मात्र मेसीभन्दा पछाडि हुनुहुन्छ । त्यसैले एम्बापेका लागि इङ्ग्ल्यान्डसँगको खेल महत्वपूर्ण हुने छ । पछिल्लो संस्करणमा एम्बापेले आठ गोल गरेर गोल्डेन बुट जित्नुभएको थियो । एम्बापेसमक्ष सो खेलमा विश्वकप फुटबलका सर्वकालीन सर्वाधिक गोलकर्ता बन्ने अवसर पनि छ । उहाँले विश्वकपमा ३३ खेलमा सबभन्दा बढी २१ गोल गर्नुभएको छ । फ्रान्सका एम्बापे एक गोलले मेसीभन्दा पछाडि हुनुहुन्छ । सो खेलमा इङ्ग्ल्यान्डका कप्तान ह्यारी केन र जुड बेलिङ्घम (छ–छ गोल), फ्रान्सका ओसमान डेम्बेले (पाँच गोल) पनि गोल्डेन बुट जित्ने होडमा कायम हुनुहुन्छ तर यसका लागि यी सबै खेलाडीले आआफ्नो अन्तिमा खेलमा गोलको वर्षा गर्नुपर्ने हुन्छ । जुन यथार्थपरक देखिँदैन ।
पछिल्ला समय फ्रान्स हाबी
१६ पटक विश्वकप खेल्ने क्रममा फ्रान्सले सन् १९९८ र सन् २०१८ मा गरी दुई पटक विश्वकप उपाधि जितेको छ । सन् २००६ र २०२२ मा उपविजेतामा चित्त बुझाएको छ । यसै गरी सन् १९५८ र १९८६ मा तेस्रो पनि भएको छ । सन् १९८२ मा भने फ्रान्सले चौथो स्थान बनाएको थियो । यी दुई टिमबिच अहिलेसम्म कुल ३२ खेल भएका छन् । जसमा इङ्ग्ल्यान्डले १७ र फ्रान्सले १० खेल जितेको छ । पाँच खेल बराबरीमा सकिएका छन् तर पछिल्ला प्रदर्शन हेर्ने हो भने फ्रान्सविरुद्ध इङ्ग्ल्यान्ड निकै हाबी देखिन्छ । फ्रान्सविरुद्धको पछिल्ला १० खेलमा इङ्ग्ल्यान्डले दुई खेल मात्र जितेको छ । पछिल्लो संस्करणमा फ्रान्सले नै इङ्ग्ल्यान्डलाई क्वाटरफाइनलबाट बिदा गरेको थियो । एजेन्सी
