ब्युनस आयर्स । खेलकुदमा अन्धविश्वास एक परम्पराका रूपमा स्थापित भइसकेको छ र फुटबल यसबाट अछुतो छैन । अझ विश्वकपमा अन्धविश्वासको अनेक प्रयोग हुने गरेको छ । अन्धविश्वासबाट उब्जिने आत्मविश्वासले कसैलाई ठुलो बल प्रदान गरिरहेको हुन्छ भने कतिपय यसबाट बर्बाद भएका छन् ।
यस क्रममा अर्जेन्टिनाका राष्ट्रपति ह्याभियर मिलेइले बुधबार आफ्नो टिमलाई समर्थन गर्न जुलाई १९ मा अमेरिकाको न्यु जर्सीको मेटलाइफ स्टेडियममा हुने विश्वकपको फाइनलमा उपस्थित नहुने बताउनुभएको छ । उहाँले अन्धविश्वासका कारण अमेरिका नगएर घरमै स्पेनविरुद्धको फाइनल खेल हेर्ने निर्णय गर्नुभएको हो । राष्ट्रपति मिलेइले यसअघि यस विश्वकपका सातै खेल घरमा बसेर हेर्नुभएको थियो । ती सबै खेलमा अर्जेन्टिना विजयी बनेको थियो । राष्ट्रपति मिलेइले अर्जेन्टिनाले खेल्ने खेलमा एउटै ज्याकेट लगाएर हेर्ने गरेको र फाइनलमा पनि सोही ज्याकेट लगाउने पनि बताउनुभयो । राष्ट्रपति मिलेइले भन्नुभयो, “स्विट्जरल्यान्डविरुद्धको खेलमा मैले ज्याकेट फुकाल्नासाथ हाम्रो पोस्टमा गोल भयो । त्यसपछि मैले फेरि सो ज्याकेट लगाएँ र उनीहरूले गोल गर्न सकेनन् ।” अब फाइनलको समापनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा प्रमुख जियानी इन्फान्टिनोले विजेता देशलाई ट्रफी प्रदान गर्दा उहाँहरूसँगै अर्जेन्टिनाका राष्ट्रपति मिलेइको उपस्थिति नरहने भएको छ ।
यसअघि यस्तै अन्धविश्वासले अर्जेन्टिनाले इङ्ग्ल्यान्डविरुद्धको सेमिफाइनलमा सेतो र निलो धर्का भएको परम्परागत जर्सी नभई अवे जर्सी लगाएर खेलेको थियो । सन् १९६६ र २००२ मा भएको विश्वकपमा इङ्ग्ल्यान्डसँग पराजित हुँदा अर्जेन्टिनाले आफ्नो परम्परागत जर्सी लगाएको थियो । त्यसैले अर्जेन्टिनाले सेमिफाइनलमा इङ्ग्ल्यान्डविरुद्ध सो जर्सी लगाउन चाहेन । प्राविधिक रूपमा आफ्नो परम्परागत जर्सी लगाएर इङ्ग्ल्यानडविरुद्ध खेल्नुपर्ने भएपछि अर्जेन्टिनाले फिफासमक्ष अवे जर्सी लगाएर खेल्न अनुरोध गरेको थियो । जुन अनुरोधलाई पिफाले मानेको थियो । अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप उपाधि जित्ने अभियानमा छ । अब अर्जेन्टिना सन् १९६२ मा ब्राजिलपछि विश्वकप उपाधि रक्षा गर्ने पहिलो टिम बन्नबाट मात्र एक खेल टाढा भएको छ । एपी
