रे समाचार/काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज हुने पहिलो सेमिफाइनलमा दुई युरोपेली महाशक्ति स्पेन र फ्रान्स आमनेसामने हुँदैछन् । पछिल्ला केही वर्षयता विश्व फुटबलका दुई उत्कृष्ट टोलीबीचको यो प्रतिस्पर्धालाई धेरैले फाइनलअघि नै फाइनलका रूपमा समेत हेरिरहेका छन् । दुवै टोली उपाधिको बलियो दाबेदार मानिएकाले आजको खेल विश्वभरका फुटबल समर्थकको विशेष चासोको केन्द्र बनेको छ ।
फिफा विश्वकपको इतिहासमा स्पेन र फ्रान्सबीच हालसम्म केवल एक पटक मात्र भेट भएको छ । सन् २००६ को जर्मनी विश्वकपको प्रिक्वार्टरफाइनलमा फ्रान्सले स्पेनलाई ३-१ ले पराजित गर्दै क्वार्टरफाइनल यात्रा तय गरेको थियो । त्यसैले विश्वकपको हेड-टु-हेडमा फ्रान्स १-० ले अगाडि छ ।
यद्यपि समग्र अन्तर्राष्ट्रिय भेटमा भने स्पेनको पल्ला केही भारी देखिन्छ । दुवै टोलीबीच भएका ३८ खेलमध्ये स्पेनले १८ खेल जितेको छ भने फ्रान्सले १३ खेल आफ्नो पक्षमा पारेको छ । ७ वटा खेल बराबरीमा सकिएका छन् ।
पछिल्ला दुई ठूला भेटमा भने स्पेनले फ्रान्समाथि लगातार सफलता हासिल गरेको छ । युरो २०२४ को सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–१ ले हराउँदै फाइनल यात्रा तय गरेको थियो । त्यसपछि यूईएफए नेसन्स लिग २०२५ को रोमाञ्चक सेमिफाइनलमा पनि स्पेनले फ्रान्सलाई ५-४ ले पराजित गरेको थियो ।
यस विश्वकपमा दुवै टोली प्रभावशाली लयमा छन् । स्पेनले राउन्ड अफ ३२ मा अस्ट्रियालाई ३-० ले हरायो, प्रि-क्वार्टरफाइनलमा पोर्चुगललाई १-० ले पराजित गर्यो भने क्वार्टरफाइनलमा बेल्जियमलाई २-१ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।
यता फ्रान्सले राउन्ड अफ ३२ मा स्विडेनमाथि ३-० को सहज जित निकालेको थियो । त्यसपछि प्रिक्वार्टरफाइनलमा पाराग्वेलाई १-० तथा क्वार्टरफाइनलमा मोरक्कोलाई २-० ले हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो ।
स्पेनको सबैभन्दा ठूलो शक्ति उसको बल पोजेसन, व्यवस्थित पासिङ र युवा खेलाडीहरूको आत्मविश्वास हो । लामिन यामाल, पेड्री र रोड्रीको संयोजनले स्पेनको मिडफिल्डलाई निकै बलियो बनाएको छ । यता फ्रान्स भने तीव्र काउन्टर अट्याक, बलियो रक्षापंक्ति र कप्तान किलियन एम्बाप्पेको व्यक्तिगत क्षमताका कारण निकै खतरनाक टोलीका रूपमा रहेको छ ।
फुटबल विश्लेषकहरूका अनुसार आजको खेल अत्यन्त प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । स्पेनले खेलको गति नियन्त्रण गर्न सके जितको सम्भावना बढ्नेछ भने फ्रान्सले एम्बाप्पेको गतिलाई प्रभावकारी रूपमा प्रयोग गर्न सके अर्को पटक विश्वकपको फाइनलमा स्थान बनाउन सक्छ ।
विश्व फुटबलका दुई उत्कृष्ट टोलीबीचको यो बहुप्रतीक्षित सेमिफाइनल नेपाली समयअनुसार आज राति १२ः४५ बजे सुरु हुनेछ । यस खेलको विजेताले फाइनलमा इंग्ल्याण्ड र अर्जेन्टिनाबीचको दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
