RayNewsDaily
अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा    

काठमाडौँ । स्विटजरल्यान्डलाई ३-१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।     
अमेरिकाको कान्सास सिटी स्टेडियममा आज भएको खेलमा स्विट्जरल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।     
     
अर्जेन्टिनाका एलेक्सिस म्याक एलिस्टर, जुलियन अल्भारेल र लाउटारो मार्टिनेजले आफ्नो टोलीलाई एकएक गोलको योगदानबाट सेमिफाइनमा पुर्याएका हुन् ।     
     
खेलको १०औँ मिनेटमा एलिस्टरले हेड गोल गर्दै अर्जेन्टिनालाई पहिलो अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६७औँ मिनेटमा स्विटजरल्यान्डका डान एनडोयेले गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा ल्याएका थिए ।     
     
खेलको ७२औँ मिनेटदेखि स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित भयोे । ब्रेल एम्बोलोले दोहोरो पहेँलो कार्ड पाएर बाहिरिएपछि स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित बनेको हो ।     
     
खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीको समान गोल भएपछि खेल अतिरिक्त समयमा धकेलियो । खेलको ११२औँ मिनेटमा अल्भारेलले गोल गर्दै अर्जेन्टिनाको अग्रता कायम गरे । त्यसपछिको अतिरिक्त समयमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई विजयी बनाए । अब अर्जेन्टिना फाइनल प्रवेशका लागि इङल्यान्डसँग खेल्नेछ । रासस   
   
 

प्रकाशित मिति: आइतबार, असार २८, २०८३  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update