RayNewsDaily
उदयपुरको बेल्टार बजारमा आगलागीबाट दुई जनाको मृत्यु    
उदयपुरको बेल्टार बजारमा आज बिहान लागेको आगो नियन्त्रण गर्दै दमकल । तस्बिर : सामाजिक सञ्जाल

उदयपुर (गाईघाट) । उदयपुरको चौदण्डी गढी नगरपालिका-७ बेल्टार बजारमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ ।     
     
बेल्टार बजारस्थित लक्ष्मीनाराण खड्काका घरमा आज विहान लागेको आगलागीबाट ७० वर्षीय लक्ष्मीनारायण खड्का र ३० वर्षीय पवन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निरञ्जन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीबाट लक्ष्मीनाराणका छिमेकी रवीन दास र अर्का सकल देवको घरमा समेत क्षति भएको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रण गर्नका लागि छिमेकी त्रियुगा र चौदण्डी गढी नगरपालिकाका दमकल र प्रहरी तथा स्थानीय जनताको सहभागिता रहेको थियो ।     
     
आगलागी विद्युत् चुहावट भएर हो वा अन्य कारणले हो भन्ने कुरा अझै खुल्न बाँकी रहेको जनाइएको छ । आगलागीका कारण रु ६६ लाख बराबरको भौतिक क्षति भएका प्रहरीले बताएको छ ।     
     
यसैबीच, उदयपुको बेलका नगरपालिका-३ सातपत्रेमा गए राति जन्ती बोकेको बसले मोटरसाइकलमा ठक्कर दिँदा घटनास्थलमा नै एक युवकको मृत्यु भएको छ । मृत्यु हुने युवा बेलका-३ सातपत्रेका २७ वर्षीय रोमन बस्नेत रहेका छन् । प्रदेश १-०२-०४५ प ८४४६ नम्बरको मोटरसाइकलमा सातपत्रेबाट रामपुर बजारतिर जाँदै गरेको बस्नेतलाई सातपत्रे नजिकै चौदण्डी गढी नगरपालिकाको माणिबासबाट बेलकातर्फ फर्कदै गरेको प्रदेश १-००२ ख ०१५८ नम्बरको बसले ठक्कर दिँदा बस्नेतको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस  

प्रकाशित मिति: मंगलबार, वैशाख ८, २०८३  ११:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update