RayNewsDaily
पोखरा स्कुल बस दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन
एआईबाट तयार गरिएको तस्बिर
  • दुर्घटनामा चार विद्यार्थीसहित पाँच जनाको मृत्यु ।
  • १४ विद्यार्थी घाइते, पाँच दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने ।
  • विद्यालयका सवारीसाधनको सुरक्षा जाँच र सुधारका उपाय सुझाइने ।

रे समाचार/पोखरा । पोखरा महानगरपालिकाले पोखरा-२८ मा आज भएको कालिका बोर्डिङ स्कुलको बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठित समितिमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई सदस्य रहनुभएको छ ।

समितिलाई दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयमा विस्तृत अध्ययन तथा छानबिन गरी पाँच दिनभित्र सत्यतथ्यसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।

माझठानाबाट विद्यार्थी बोकेर आएको बस कालिकास्थित ओख्लेको भिरमा दुर्घटना हुँदा चार विद्यार्थीसहित पाँच जनाको मृत्यु भएको थियो । दुर्घटनामा १४ विद्यार्थी घाइते भएका छन् ।

महानगरपालिकाका प्रमुख एवं नगर शिक्षा समितिका अध्यक्ष धनराज आचार्यका अनुसार दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुधारका उपायसहित सुझाव पेस गर्न समिति गठन गरिएको हो ।

समितिले विद्यालयका सवारीसाधनको सुरक्षा अवस्था, विद्यार्थीको सुरक्षित आवागमन र आगामी दिनमा अपनाउनुपर्ने सावधानीबारे पनि सुझाव दिनेछ ।

दुर्घटनाप्रति दुःख व्यक्त गर्दै नगरप्रमुख आचार्यले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । उहाँले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाइते विद्यार्थी, चालक तथा सहचालकको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

विद्यार्थीको सुरक्षा सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै उहाँले विद्यालयका सवारीसाधनको नियमित जाँच, सुरक्षा मापदण्डको कडाइका साथ पालना र प्रभावकारी अनुगमन गर्न सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०८३  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update