RayNewsDaily
दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत, १२ जना घाइते
  • दाउन्ने बस दुर्घटनामा छ जनाको मृत्यु ।
  • १२ जना यात्रु घाइते, आठ जना भरतपुर रिफर ।
  • चार जनाको डण्डामै उपचार जारी ।

नवलपुर (नवलपरासी) । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व)का अनुसार नेपालगञ्जबाट काठमाडौँतर्फ १८ जना यात्रु लिएर आउँदै गरेको प्रदेश-३-०१-००६ ख १५५३ नम्बरको बस विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेस्थित एसमोडमा दुर्घटनामा परेको थियो । दुर्घटनामा १२ जना यात्रु घाइते भएका छन् ।

दुर्घटनामा बस चालक बाँकेको खजुरा गाउँपालिका-२ का ३६ वर्षीय सुरेश बिसी, कोहलपुर नगरपालिका-३ का ३२ वर्षीय दीपेन्द्र केसी, कोहलपुर नगरपालिका-१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी, नेपालगञ्ज उपमहानगरपालिका-७ का २२ वर्षीय कृष कनौजिया, जाजरकोटको भेरीगङ्गा नगरपालिका-३ का ५० वर्षीय निर्जुङ गुरुङ र बाजुराको स्वामीकार्तिक गाउँपालिकाका ६५ वर्षीय नरेन्द्रराज गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो ।

घाइते १२ जनामध्ये मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा प्रारम्भिक उपचारपछि आठ जनालाई थप उपचारका लागि चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पताल पठाइएको छ ।

अस्पतालका अनुसार अन्य चार जना घाइतेलाई मध्यविन्दु प्रादेशिक अस्पतालमै भर्ना गरी उपचार तथा स्वास्थ्य निगरानीमा राखिएको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा घाइतेको उपचार भइरहेको अस्पतालले जनाएको छ ।

थप विशेषज्ञ उपचार आवश्यक देखिएका बिरामीलाई आवश्यकताअनुसार सम्बन्धित स्वास्थ्य संस्थामा पठाइएको अस्पतालले जनाएको छ । रासस

प्रकाशित मिति: शनिबार, असोज १७, २०८३  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update