वासिङ्टन । भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देश कुनै पनि विदेशी शक्तिद्वारा शासित नरहेको स्पष्ट पार्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीलाई अस्वीकार गर्नुभएको छ । ट्रम्पले भेनेजुएलामा ‘पूर्ण पहुँच’ आवश्यक भएको टिप्पणी गरेपछि रोड्रिगेजको यो प्रतिक्रिया आएको हो ।
मङ्गलबार (स्थानीय समय) कृषि-खाद्य, माछा, सामुदायिक तथा औद्योगिक क्षेत्रसँग सम्बन्धित एक सरकारी कार्यक्रममा उहाँले भन्नुभयो, “हामी जनताको साथमा शासन गरिरहेका छौँ । भेनेजुएलाको सरकारले देश चलाउँछ, अरू कसैले होइन । भेनेजुएलालाई शासन गर्ने कुनै बाह्य एजेन्टहरू छैनन् ।” उहाँको भनाइ राज्य सञ्चालित टेलिभिजन भेनेजोलाना डे टेलिभिजनमार्फत प्रसारण गरिएको थियो ।
उहाँले पदच्युत राष्ट्रपति निकोलस मदुरो र उहाँकी पत्नी सिलिया फ्लोरेसको रिहाइको माग गर्दै भइरहेको प्रदर्शनको पनि उल्लेख गर्नुभयो । गत जनवरी ३ को बिहान काराकासमा भएको अमेरिकी सैन्य कारबाहीपछि मदुरो दम्पतीलाई संयुक्त राज्य अमेरिकाले हिरासतमा लिएको थियो । रोड्रिगेजका अनुसार त्यसपछि भेनेजुएलाली जनताले सडकमा उत्रिएर आफ्नो धारणा व्यक्त गरिरहेका छन् ।
यद्यपि, कार्यवाहक राष्ट्रपतिका रूपमा रोड्रिगेजको वैधानिकतामाथि विपक्षी पक्षले गम्भीर प्रश्न उठाइरहेका छन् । विपक्षी नेता तथा नोबेल पुरस्कार विजेता मारिया कोरिना मचाडोले उहाँमाथि भ्रष्टाचारमा संलग्न भएको तथा रुस र इरानसँग निकट सम्बन्ध रहेको आरोप लगाउनुभएको छ । एक अन्तरवार्तामा मचाडोले रोड्रिगेजलाई भेनेजुएलाको दमनकारी संयन्त्रसँग जोडिएको व्यक्तिका रूपमा चित्रित गर्नुभएको छ ।
यसबीच रोड्रिगेजले पछिल्ला घटनाक्रमका बाबजुद देश अझ बलियो बनेको दाबी गर्नुभयो । “चुनौती, आक्रमण र खतराहरूको सामना गर्दै हामी आध्यात्मिक रूपमा अझ सबल भएका छौँ”, उहाँले भन्नुभयो ।
रोड्रिगेजको प्रतिक्रिया ट्रम्पले भेनेजुएलामा ‘सङ्क्रमण प्रक्रिया’ अमेरिकी अधिकारीहरूले निरीक्षण गर्ने घोषणा गरेको एक दिनपछि आएको हो । ट्रम्पले भेनेजुएलाका अन्तरिम अधिकारीहरू अमेरिकासँग सहकार्य गर्न तयार रहेको पनि दाबी गर्नुभएको थियो ।
हालैको अमेरिकी आक्रमणका क्रममा ज्यान गुमाउनेहरूको सम्मानमा रोड्रिगेजले सात दिनको राष्ट्रिय शोक घोषणा गर्नुभएको छ । राज्य प्रसारकसँग कुरा गर्दै उहाँले देशको रक्षा गर्ने क्रममा ज्यान गुमाउने युवा पुरुष र महिलाको सम्मानमा शोक अवधि तोकिएको बताउनुभयो ।
उहाँले हिरासतमा रहेका मादुरो र उहाँकी पत्नीलाई फिर्ता गर्न पनि आग्रह गर्नुभएको छ । दम्पती हाल न्युयोर्कस्थित एक हिरासत केन्द्रमा हुनुहुन्छ र सोमबार उहाँहरूले लागुऔषध तथा हतियारसम्बन्धी अभियोगमा आफूहरू निर्दोष रहेको बताउनुभएको छ । एएनआई
