RayNewsDaily
ताइवान तनाव पन्छाउँदै ली चीन भ्रमणमा        
गणतन्त्र कोरियाका राष्ट्रपति ली जे म्युङ जनवरी चीनको राजधानी बेइजिङ आइपुग्नु हुँदा स्वागत गरिँदै । तस्वीर : सिन्ह्वा

बेइजिङ । ताइवानजस्तो संवेदनशील विषयलाई सतहमा नल्याई चीनसँग आर्थिक सम्बन्ध सुदृढ गर्ने लक्ष्यसहित दक्षिण कोरियाका राष्ट्रपति ली जे-म्युङ आइतबार चीन आइपुग्नुभएको छ । चीन दक्षिण कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार भएकाले यस भ्रमणलाई सियोल-बेइजिङ सम्बन्ध पुनः सन्तुलनमा ल्याउने प्रयासका रूपमा हेरिएको छ ।     
     
राष्ट्रपति ली छ वर्षपछि बेइजिङ भ्रमण गर्ने पहिलो दक्षिण कोरियाली राष्ट्रपति हुनुहुन्छ । उहाँको चारदिने भ्रमण चीनले ताइवान वरपर ठूलो सैन्य अभ्यास गरेको एक साताभित्रै सुरु भएको हो । मिसाइल, लडाकू जेट, नौसेना र तटरक्षक जहाज सहभागी सो अभ्यासले अन्तर्राष्ट्रिय आलोचना खेपेको थियो, तर सियोल त्यस निन्दामा खुलेर सहभागी भएको थिएन ।     
     
व्यापार र प्रविधि क्षेत्रका नेताहरूको ठूलो प्रतिनिधिमण्डलसहित राष्ट्रपति लीले चिनियाँ राष्ट्रपति सी जिनपिङ तथा अन्य शीर्ष नेतासँग भेटवार्ता गर्दै आर्थिक सहकार्य विस्तार गर्ने अपेक्षा राख्नुभएको छ । साथै, उत्तर कोरियासँगको सम्बन्ध सुधार गर्ने आफ्नो प्रयासमा चीनको प्रभाव उपयोग गर्न सकिने सम्भावनाबारे पनि उहाँले छलफल गर्ने तयारी गर्नुभएको छ ।     
     
ली चीन प्रस्थान गर्नुभन्दा केही घन्टाअघि दक्षिण कोरियाली सेनाले उत्तर कोरियाले जापान सागरमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको थियो, जुन यो वर्षको पहिलो परीक्षण हो । दक्षिण कोरियाले लामो समयदेखि आफ्नो प्रमुख व्यापारिक साझेदार चीन र मुख्य सुरक्षा साझेदार अमेरिका बीच सन्तुलन कायम गर्दै आएको छ ।     
     
विश्लेषकहरूका अनुसार चीनले हाल दक्षिण कोरियालाई अमेरिका-जापानसँगको सहकार्यबाट केही टाढा ल्याउने प्रयास गरिरहेको छ । हानकुक युनिभर्सिटी अफ फरेन स्टडिजका प्राध्यापक काङ जुन-युङका अनुसार त्रिपक्षीय सुरक्षा सहकार्य बलियो बन्दै जाँदा चीनले दक्षिण कोरियालाई ‘सबैभन्दा कमजोर कडी’ का रूपमा हेर्न सक्छ ।     
     
ताइवानको विषयमा पक्ष लिनाले तनाव बढ्ने भन्दै राष्ट्रपति ली लामो समयदेखि सावधान रहँदै आउनुभएको छ । हालै चिनियाँ सरकारी टेलिभिजनसँगको अन्तर्वार्तामा उहाँले ‘एक चीन’ सिद्धान्तको सम्मान गर्ने र ताइवान जलडमरूमध्यसहित उत्तरपूर्वी एसियामा शान्ति र स्थिरता अत्यन्त महत्त्वपूर्ण भएको स्पष्ट गर्नुभएको थियो ।     
     
आर्थिक एजेन्डामा राष्ट्रपति लीले दक्षिण कोरिया र चीनबीचको व्यापारलाई अझ पारस्परिक रूपमा फाइदाजनक बनाउने आवश्यकता औँल्याउनुभएको छ । उहाँसँगै सामसङ, ह्युन्डाई मोटर समूहलगायत ठूला कम्पनीका शीर्ष अधिकारीहरू पनि भ्रमणमा सहभागी छन् । सोमबार राष्ट्रपति सीसँग शिखर वार्ता र मङ्गलबार प्रधानमन्त्री ली किआङसहित चिनियाँ नेताहरूसँग व्यापारसम्बन्धी छलफल तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।     
     
यस भ्रमणका क्रममा चीनले लामो समयदेखि अनौपचारिक रूपमा लगाउँदै आएको कोरियाली पप संस्कृति (के-पप) सम्बन्धी प्रतिबन्धमा केही सहजता आउने आशा पनि दक्षिण कोरियाली पक्षले गरेको छ । राष्ट्रपतिका सल्लाहकार वाइ सुङ–ल्याकका अनुसार आधिकारिक रूपमा प्रतिबन्ध नभएको भनिए पनि व्यवहारमा अवस्था फरक देखिँदै आएको छ र यही विषय पनि छलफलको एजेन्डामा रहनेछ । एएफपी

 


 

 

 

प्रकाशित मिति: आइतबार, पुस २०, २०८२  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update