RayNewsDaily
अंग्रेजी नयाँ वर्ष सन् २०२६ का अवसरमा चीनका राष्ट्रपति सि चिनफिङद्वारा सम्बोधन

काठमाण्डू । चीनका राष्ट्रपति सि चिनफिङले अंगे्रजी नयाँ वर्ष सन् २०२६ को पूर्वसन्ध्यामा सम्बोधन गर्नुहुँदै चिनियाँ शैलीको आधुनिकीकरणको नयाँ यात्रामा सुदृढ पाइला चालिरहेको बताउनु भएको छ । 

सन् २०२५ “चौधौँ पञ्चवर्षीय योजना” को अन्तिम वर्ष भएको जानकारी दिनुहुँदै राष्ट्रपति सि चिनफिङले बितेका पाँच वर्षयता अथक प्रयास गरी दृढ रुपमा अघि बढेको बताउनु भयो । विभिन्न कठिनाइ र चुनौतीलाई पार गरी पूर्णतया लक्ष्य भेटेको भन्दै राष्ट्रपति सि ले त्यस लक्ष्यबाट चिनियाँ शैलीको आधुनिकीकरणको नयाँ यात्रामा सुदृढ पाइला चालेको उल्लेख गर्नुभयो ।  चीनको कूल आर्थिक मात्राले लगातार नयाँ उचाइमा पुगेर यसै वर्ष १४०० खर्ब युआन पुग्ने अनुमान गरिएको भन्दै राष्ट्रपति सि ले आर्थिक शक्ति, वैज्ञानिक तथा प्राविधिक शक्ति,रक्षा शक्ति लगायत समग्र शक्तिमा चीनले नयाँ छलाङ मारेको पनि बताउनु भयो । 

सन् २०२५ मा चिनियाँ जनताको जापान विरोधी युद्ध एवम विश्व फासिवाद विरोधी युद्ध विजयको ८०औँ वार्षिकोत्सव भव्य रुपमा मनाएको र थाइवान पुनरुत्थान स्मरण दिवस स्थापना गरेको जानकारी दिनुहुँदै राष्ट्रपति सि चिनफिङले चिनियाँहरुलाई इतिहासको सम्झना गर्न,शहीदको स्मरण गर्न,शान्तिलाई माया गर्न र भविष्य निर्माण गर्न प्रोत्साहन गरी चीन राष्ट्रको महान पुनरुत्थानको शक्ति संकलन गरेको पनि बताउनुभयो । 

वर्तमान  विश्वमा विभिन्न उतारचढावहरु देखिएको भन्दै राष्ट्रपति सि ले इतिहासको सही पक्षमा उभिएर चीनले विभिन्न मुलुकसँग विश्व शान्ति र पूर्ण विकास एवं मानवजातिको भाग्य समुदायको रचना गर्ने इच्छा लिएको पनि राष्ट्रपति सि चिनफिङले सन्देशमा उल्लेख गर्नुभएको छ । 

नयाँ वर्षको सूर्योदय हुनै लागेको महत्वपूर्ण घडिमा चिनियाँ राष्ट्रपति सि ले दिनु भएको शुभकामना सन्देशमा चीन र विश्वका हरेक देशमा समृद्धिको घामले ढाक्ने विश्वास समेत व्यक्त गर्नुभएको छ । 

प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  १९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update