RayNewsDaily
बाङ्ग्लादेशका प्रथम महिला प्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा निधन

काठमाण्डू । बाङ्ग्लादेशका प्रथम महिला प्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा निधन भएको छ। उहाँ लामो समयदेखि बिरामी हुनुहुन्थ्यो ।

"हाम्री मनपर्ने नेता अब हामी माझ रहनु भएन। आज बिहान ६ बजे उहाँको निधन भयो," जियाको बाङ्ग्लादेश न्याश्नलिस्ट पार्टी (बीएनपी) ले फेसबुकमा लेखेको छ।

उहाँको उपचारमा खटिएका चिकित्सकहरूले सोमवार राति उहाँको अवस्था "अत्यन्तै गम्भीर" रहेको बताएका थिए। उहाँलाई "लाइफ सपोर्ट" मा राखिएको थियो। उहाँको उमेर र समग्र स्वास्थ्य अवस्था राम्रो नरहेका कारण उहाँलाई एकैपटक धेरै उपचार गर्न सम्भव नरहेको चिकित्सकहरूले बताएका थिए।

जिया बाङ्ग्लादेशमा सन् १९९१ मा पहिलो पटक सरकार प्रमुख बन्नु भएको थियो र बाङ्ग्लादेशमा महिला सरकार प्रमुख बनेको त्यो नै पहिलो पटक थियो। २० वर्षमा भएको देशको पहिलो प्रजातान्त्रिक चुनावमा उहाँको नेतृत्वमा बीएनपी विजयी भएको थियो।

गत वर्ष प्रधानमन्त्री पदबाट अपदस्थ हुनुभएकी अवामी लिगका नेता शेख हसिनासँगको लामो समयदेखिको राजनीतिक प्रतिस्पर्धा र भ्रष्टाचारको आरोपका कारण जियाको राजनीतिक जीवन बिग्रिएको थियो।

बाङ्ग्लादेशका दिवङ्गत भइसकेका राष्ट्रपति जियाउर रहमानकी पत्नी जिया सन् २०१८ मा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि पाँच वर्षका लागि जेलमा पर्नुभएको थियो ।

विविसीका अनुसार उहाँमाथि बालबालिकासम्बन्धी एउटा परोपकारी कोषलाई दिइएको रकम हिनामिना गरेको आरोप लगाइएको थियो। उक्त आरोप उहाँले अस्वीकार गर्दै आफूविरुद्धका आरोपहरू राजनीतिक रुपमा प्रेरित रहेको बताउने गर्नुभएको थियो ।

प्रकाशित मिति: मंगलबार, पुस १५, २०८२  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update