शिचाङ्ग । चीनले शनिबार देशको दक्षिणपश्चिमी सिचुआन प्रान्तस्थित शिचाङ्ग उपग्रह प्रक्षेपण केन्द्रबाट नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।
‘फेङ्ग्युन-४-०३’ नामक उपग्रहलाई’ लङ मार्च-३ बी’ रकेटमार्फत बिहान १२ बजेर ७ मिनेटमा (बेइजिङ समयअनुसार) प्रक्षेपण गरिएको हो । प्रक्षेपणपछि उक्त उपग्रह निर्धारित कक्षामा सफलतापूर्वक प्रवेश गरेको जनाइएको छ ।
‘फेङ्ग्युन-४-०३’ चीनले विकास गरेको मौसम अवलोकन उपग्रह हो, जसले मौसम पूर्वानुमान, जलवायु अनुगमन, प्राकृतिक प्रकोपको प्रारम्भिक चेतावनी तथा वातावरणीय अवलोकन जस्ता कार्यमा सहयोग पुर्याउँछ । यस उपग्रहमा उन्नत उपकरणहरू जडान गरिएका छन्, जसले बादल, वर्षा, आँधी, तापक्रम तथा वायुमण्डलीय गतिविधिको सूक्ष्म र निरन्तर निगरानी गर्न सक्षम बनाउँछ । यसबाट प्राप्त तथ्याङ्कले जनजीवन सुरक्षा, कृषि, उड्डयन, जलस्रोत व्यवस्थापन तथा आपतकालीन व्यवस्थापनमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।
यो प्रक्षेपण ‘लङ मार्च’ रकेट शृङ्खलाको ६२१ औँ उडान रहेको चिनियाँ अधिकारीहरूले जानकारी दिएका छन् । सिन्ह्वा
