पैचिङ । चीनको राजकीय भ्रमणमा रहनु भएका थाईल्याण्डका राजा वाजिरा लोङकोर्न र राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ ।

चीनको राजधानी पैचिङस्थित जनवृहत सभा भवनमा आज भएको सो भेटवार्तामा चीनका राष्ट्रपति सी चिनफिङले साझा भविष्य भएको चीन-थाइल्याण्ड समुदायको निर्माणलाई अगाडि बढाउन संयुक्त प्रयासका लागि आह्वान गर्नुभयो । राष्ट्रपति सीले थाई राजाको चीन भ्रमणलाई ऐतिहासिक र महत्वपूर्ण बताउनु हुँदै दुवै देशबीच कुटनीतिक सम्बन्ध स्थापना भए पछि थाई राजाबाट भएको चीनको औपचारिक भ्रमणलाई चीनले उच्च महत्व दिएको पनि बताउनु भयो । चीन र थाइल्याण्ड एउटै परिवार जत्तिकै नजिक भएको धारणा व्यक्त गर्नुहुँदै राष्ट्रपति सीले दुवै देशबीच गहिरो मित्रता रहेको स्पष्ट पार्नुभयो ।

यस वर्ष थाईल्याण्ड र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औं वार्षिकोत्सव भएको उल्लेख गर्नुहुँदै राष्ट्रपति सीले विगत आधा शताब्दीमा, निरन्तर परिवर्तनशील अन्तर्राष्ट्रिय परिदृश्यको बीचमा, चीन र थाइल्याण्डले सधैं मिलेर काम गरेका पनि बताउनु भयो । चीन र थाईल्याण्ड असल नातेदार, असल साथी र असल साझेदार रहेका पनि सी को टिप्पणी छ ।
भेटवार्तामा बोल्नुहुँदै थाईल्याण्डका राजा वाजिरा लोङकोर्नले चीनको राजकीय भ्रमण गर्न पाउँदा खुसी भएको बताउनुहुँदै चीनले वर्षौं अघिको आफ्नो अन्तिम भ्रमणदेखि ठूला परिवर्तनहरू हासिल गरेको र आधुनिक र सुन्दर देशको नयाँ रूप प्रदर्शन गरेको बताउनु भयो । । उहाँले आर्थिक र सामाजिक विकासमा चीनको प्रमुख उपलब्धिहरूका लागि बधाई समेत व्यक्त गर्नुभयो ।
थाइल्याण्ड र चीन बीचको सहयोग दाजुभाइहरू बीचको एक प्रकारको सहयोग भएको बताउँनुहुँदै उहाँले थाइल्याण्ड चीनको विकास अनुभवबाट सक्रिय रूपमा सिक्न, विभिन्न क्षेत्रमा चीनसँग सहयोग विस्तार गर्न, सांस्कृतिक आदानप्रदानलाई तीव्र पार्न र द्विपक्षीय मित्रतालाई जनतामाझ गहिरो जरा गाड्न इच्छुक रहेको पनि बताउनु भयो ।
