RayNewsDaily
जी-७ द्वारा युक्रेनलाई तत्काल युद्धविराम गर्न आह्वान गर्दै सुडानमा बढ्दो संकटको चेतावनी        

नयागरा(क्यानाडा) । क्यानाडामा भएको बैठकमा जी-७ का विदेश मन्त्रीहरूले युक्रेनमा तत्काल युद्धविरामको आह्वान गर्दै सुडानमा बढ्दो संकटको बारेमा चेतावनी दिका छन् ।     
     
संयुक्त विज्ञप्तिमा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र संयुक्त राज्य अमेरिकाका शीर्ष कूटनीतिज्ञहरूले युक्रेनको क्षेत्रीय अखण्डताका लागि समर्थन व्यक्त गरेका छन् । उनीहरुले युद्धविरममा समर्थन जनाउदै तत्काल युद्धविरामको आवश्यकता रहेका बताएका छन् ।     
     
वार्तामा, जी-७ का नेताहरूले रूसको चरम आक्रमणको बिरूद्ध युक्रेनको रक्षाको लागि कोष बढाउन विभिन्न विकल्पहरूमा छलफल गरेको जनाइएको छ ।     
     
वार्तामा आमन्त्रित युक्रेनका विदेश मन्त्री एन्ड्री सिबिहाले जी-७ ले युक्रेनको युद्ध क्षमता बलियो बनाउँदै रूसका राष्ट्रपति भ्लादिमिर पुटिन माथि दबाब बढाउन आवश्यक रहेको बताउनु भएको छ ।     
     
पुटिनलाई अझै पनि आफूले जित्न सक्ने भ्रम रहेको बताउदै सिबिहाले पुटिन र उहाँको शासनको चरम आक्रमणलाई नियन्त्रण गर्नका लागि सबैले सघाउनु पर्ने बताउनु भएको छ ।     
     
यस अघि बुधबार क्यानाडाकी विदेश मन्त्री अनिता आनन्दले युक्रेनमा साइबर आक्रमण गर्न प्रयोग गरिएको संस्थामाथि नयाँ प्रतिबन्धको घोषणा गर्नु भएको थिायो ।     
     
बेलायतले युक्रेनको ऊर्जा क्षेत्रको मर्मत सम्भारका लागि १३ मिलियन पाउन्ड (१७.१ मिलियन डलर) कोषको घोषणा गरेको छ ।     
     
सुडान हिंसा     
     
संयुक्त जी-७ को विज्ञप्तिले सुडानमा बढ्दो हिंसाको पनि निन्दा गर्दै अफ्रिकी राष्ट्रको सेना र अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) बीचको द्वन्द्वले ठूलो मानवीय सङ्कट“ निम्त्याएको बताएको छ ।     
     
अप्रिल २०२३ देखि, सुडानको सेना र आरएसएफ बीचको युद्धले दशौं हजारको ज्यान लिनुका साथै लगभग एक करोड २० लाखलाई विस्थापित गरेको जनाइएको छ ।     
     
आरएसएफले पश्चिमी दारफुरको सेनाको गढ एल-फासेर कब्जा गरेको दुई हप्तापछि जी-७ बैठक भएको हो । त्यसपछि सामूहिक हत्याको खबर बाहिर आएको छ ।     
     
जी-७ ले दुवै पक्षलाई “तनाव कम गर्न, तत्काल स्थायी युद्धविरामका लागि प्रतिबद्ध भई मानवीय सहायताको लागि द्रुत र निर्बाध मार्ग सुनिश्चित गर्न“ आग्रह गरेको छ । एएफपी

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२  १३:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update