
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प हङ्गेरीमा हुन लागेको बुडापेस्ट शिखर सम्मेलनमा सहभागी हुन सक्ने सम्भावना रहेको बताउनुभएको छ ।
राष्ट्रपति ट्रम्प र पुटिन दुवैजनाले हङ्गेरीको राजधानी बुडापेस्टमा आगामी केही हप्ताभित्र भेट हुने सङ्केत दिनुभएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले सन् २०२२ मा रूसको आक्रमणबाट सुरु भएको युक्रेन–रूस युद्धको साढे तीन वर्ष लामो द्वन्द्वलाई अन्त्य गर्न शान्ति सम्झौताको पहल गर्दै मध्यस्थता गर्ने प्रयास गरिरहनुभएको छ ।
“यदि मलाई बुडापेस्टमा निमन्त्रणा गरिन्छ भने-चाहे त्यो हामी तीनै राष्ट्रपतिबीचको प्रत्यक्ष भेट होस् वा यसलाई शटल कूटनीति भनिएको ढाँचामार्फत राष्ट्रपति ट्रम्पले पुटिन र मलाई छुट्टाछुट्टै भेट्नुहोनस्-कुनै न कुनै स्वरूपमा सहमति खोजिनेछ”, जेलेन्स्कीले सोमबार पत्रकारहरूसँग भन्नुभयो ।
उहाँले हङ्गेरीलाई शिखर सम्मेलनको स्थलका रूपमा छनोट गरिएको विषयमा असन्तुष्टि जनाउँदै त्यस मुलुकको युक्रेनप्रतिको व्यवहारमाथि प्रश्न उठाउनुभयो । उहाँले हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानप्रति सङ्केत गर्दै भन्नुभयो, “युक्रेनलाई हरेक तहमा अवरोध गर्ने प्रधानमन्त्रीले युक्रेनी जनताको हितका लागि सकारात्मक कदम चाल्ने वा सन्तुलित योगदान दिने विश्वास म गर्न सक्दिनँ ।”
किएभ सरकारले भने यो शिखर वार्ता बुडापेस्टका साथै टर्की, स्विट्जरल्याण्ड वा भ्याटिकनजस्ता तटस्थ मुलुकहरूमा पनि आयोजना गर्न सकिने बताएको छ ।
स्मरण रहोस्, सन् १९९४ मा रूसले बुडापेस्टमै युक्रेन, बेलारुस र कजाकिस्तानसँग एक सम्झौता (बुडापेस्ट ज्ञापनपत्र) गरेको थियो । जसअन्तर्गत सोभियत युगबाट बाँकी रहेका आणविक हतियार त्याग्ने सर्तमा ती देशहरूको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको थियो ।
त्यस सन्दर्भमा राष्ट्रपति जेलेन्स्कीले टिप्पणी गर्दै भन्नुभयो, “अर्को ‘बुडापेस्ट’ परिदृश्य पनि युक्रेनका लागि सकारात्मक नहुने देखिन्छ ।”
यसैबीच, राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा पुनः प्रवेश गरेपछि युक्रेन–रूसबीचको दीर्घकालीन द्वन्द्वलाई छिटो समाधान गर्ने आफ्नो प्राथमिक लक्ष्य बनाउनुभएको छ । उहाँले युक्रेनी र रुसी अधिकारीबीच प्रत्यक्ष वार्ता सुरु गर्न दबाब दिँदै पुटिनलाई अलास्कामा शिखर सम्मेलनका लागि आमन्त्रित गर्नुभएको थियो, यद्यपि ती कूटनीतिक पहलहरू अहिले सम्म ठोस सफलतामा परिणत भएका छैनन् । एएफपी