RayNewsDaily
श्रीलङ्कामा पर्यावरण संरक्षणका लागि चार प्रकारका माछा प्रतिबन्धित        

कोलम्बो । श्रीलङ्काले आफ्ना नदी र तालमा हुने असर रोक्न चार प्रकारका विदेशी माछामा प्रतिबन्ध लगाउने भएको छ ।     
मत्स्यमन्त्री रामलिङ्गम चन्द्रशेखरले बुधबार भन्नुभयो,“हामी हाम्रो जलाशयहरूलाई विदेशी प्रजातिबाट जोगाउन चाहन्छौं । यो निर्णय स्थानीय माछा मार्ने समुदायको जीविकोपार्जन जोगाउनका लागि पनि हो ।”     

शनिबारदेखि रेडलाइन स्नेकहेड, नाइफ फिश, एलीगेटर गार र पिरान्हा माछाको आयात, बिक्री र यातायातमा पूर्ण प्रतिबन्ध लाग्ने छ । यी माछा मुख्य रूपमा दक्षिणपूर्वी एसियाबाट ल्याइएका हुन् ।     
     
स्नेकहेड माछा उत्तरपश्चिमी श्रीलङ्काको डेदुरु ओया तालमा देखिएको छ, जहाँ यसले स्थानीय जैविक सन्तुलनमा असर पुर्‍याएको छ । ती माछा पाल्न नसकेका व्यक्तिहरूले तालमा छाडेका हुन सक्ने आशङ्का गरिन्छ ।     
     
सरकारले शनिबार स्नेकहेड माछा समात्ने प्रतियोगिता आयोजना गर्ने योजना बनाएको छ । स्थानीय मानिसहरू यस्ता माछा साना माछा र अन्य जलचरहरू खाएर वातावरणमा असन्तुलन ल्याइरहेका बताएका छन् ।     
     
सरकारले यस्ता माछा घरमा पालिरहेका व्यक्तिहरूलाई सम्बन्धित निकायमा जानकारी गराई ती माछा सरकारी एक्वेरियममा बुझाउन अनुरोध गरेको छ । एएफपी 

प्रकाशित मिति: बुधबार, असोज १, २०८२  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update