RayNewsDaily
नाइजेरियामा सशस्त्र समूहद्वारा १८ महिला र बालबालिका अपहरण        

नाइजेरिया । नाइजेरियाको उत्तरपश्चिमी जामफारा राज्यमा रहेको एक गाउँमा शुक्रबार बिहान सशस्त्र समूहले आक्रमण गरी एक पुरुषको हत्या गरेका छन् र १८ महिला तथा बालबालिकालाई अपहरण गरेका छन् ।     
     
‘ब्यान्डिट्स’ भनेर चिनिने अपहरण र गाईचोरीमा संलग्न हिंसात्मक समूहले शुक्रबार बिहान करिब ५ बजेको समयमा बिरनिन जरमा गाउँमा आक्रमण गरेका थिए । उक्त समय गाउँलेहरू बिहानको प्रार्थनाको तयारीमा थिए ।     
     
गाउँका एक बासिन्दा इब्राहिम बेलोका अनुसार, आक्रमणकारीहरूले एक घरमा पसेर एक किसान, गार्बा गाम्बोलाई गोली हानी हत्या गरे र उनकी श्रीमतीलाई घाइते बनाए । त्यसपछि उनीहरूले १८ जना महिला र बालबालिकालाई जबरजस्ती गाउँबाट लगे ।     
     
छिमेकी बुक्कुयुम शहरका बासिन्दा लावल उमरले आक्रमणकारीहरू छिमेकी अङ्का जिल्लाबाट आएको र उनीहरूले नजिकैको जङ्गलमा आफ्नो शिविर बनाएको बताएका छन् । उहाँका अनुसार, बुक्कुयुममा तैनाथ सैनिकहरू समयमै बिरनिन जरमा पुग्न सकेनन् ।     
     
गाउँ राजधानी गुसाउबाट झन्डै १७० किलोमिटर टाढा रहेको छ । घटनापछि अपहरणकारी समूहले अहिलेसम्म फिरौतीको माग भने गरेका छैनन् ।     

यस्तै, गत महिनाको अन्त्यमा गुम्मी जिल्लामा भएका आक्रमणबाट भाग्दै गरेका १५ जना, जसमा अधिकांश महिला र बालबालिका थिए, नदी पार गर्ने क्रममा डुङ्गा पल्टिँदा डुबेर ज्यान गुमाएका थिए ।     
     
जामफारा लगायत नाइजेरियाका उत्तरपश्चिमी र मध्य राज्यहरू विगत केही वर्षदेखि यस्ता हिंसात्मक समूहहरूको बारम्बार आक्रमणको सिकार बन्दै आएका छन् । एएफपी

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update