
धरान (सुनसरी) । धरान उपमहानगरपालिका-१४ विजयपुर चोकमा आज अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा अर्का एक व्यक्ति घाइते भएका छन् ।
विजयपुर चोकबाट बुढासुब्बा मन्दिरतर्फ जाँदै गरेको को १ ह ६०१९ नम्बरको अटोरिक्सा र विपरीत दिशाबाट आइरहेको को ३७ प ७९८६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक धरान उपमहानगरपालिका-१४ का ३२ वर्षीय सन्दीप मगर गम्भीर घाइते भएका थिए । उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिनुभयो ।
दुर्घटनामा अटोरिक्सा चालक धरान–१४ का ३१ वर्षीय अविनाश तामाङ घाइते भएका छन् । उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै उपचार भइरहेको छ । रासस