RayNewsDaily
सुनसरी दुर्घटना अपडेट : मृतक तीनजनाको सनाखत    

इनरुवा (सुनसरी) । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ जलुवाटोलस्थित पूर्व-पश्चिम राजमार्गमा आज भएको दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । बस र माइक्रोबस एकापसमा ठोक्किँदा उनीहरुको ज्यान गएको हो ।     
     
मृत्यु हुनेमा सप्तरी महदेवा गाउँपालिका-६ का ३५ वर्षीय शङकर मण्डल, कोसी गाउँपालिका-६ का ७० वर्षीय लक्ष्मण सदा र मोरङको बिराटनगर-१० का ४० वर्षीय अशोक यादव रहेका सुनसरीका प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो ।     
     
त्यसैगरी उक्त दुर्घटनामा अन्दाजी ४५/५० वर्षीया एक महिलाको पनि मृत्यु भएको तर उनको पहिचान खुल्न नसकेको प्रहरी नायव उपरीक्षक खतिवडाले बताउनुभयो । काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जादै गरेको मे१ख १७९९ नम्बरको बस र बिपरित दिशाबाट आउँदै गरेको प्र२-०१-००१ ज ००४७ नम्बरको माइक्रोबस एकापसमा ठोक्किएका हुन् ।     
माइक्रोबसमा १८ जना सवार थिए । उनीहरुमध्ये दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकाहरुको सुनसरीको भोक्राहास्थित ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक खतिवडाले जानकारी दिनुभयो । यसैगरी दुर्घटनामा घाइते अन्यको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।     
     
बस चालक झापाको अर्जुनधारा नगरपालिका-१ का ३६ वर्षीय गोपाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  १३:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update