
काठमाण्डू । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वार्षिकोत्सवको महत्वपूर्ण अवसरमा 'हिमालय' बोलको गीतको रचना गरिएको छ ।
नेपाल र चीन दुई देशका जनताबीचको गहिरो मित्रतालाई सम्मानस्वरूप तयार गरिएको 'हिमालय' बोलको एक भावपूर्ण गीतमा पहाड र नदीहरूभन्दा परको मित्रतालाई उजागर गरेको भावलाई समेटिएको छ ।
गीतको शब्द चीनका लागि नेपाली राजदूत महामहिम डा. कृष्णप्रसाद ओलीले लेख्नुभएको हो । यो उहाँको कविता बाट प्रेरित रहेको छ। यस्तै गीतमा सनचन विश्वविद्यालय अन्तर्राष्ट्रिय कोएरका निर्देशक तथा मोस्ट ब्यूटिफुल हार्मोनी प्रोजेक्टका संस्थापक शिन मुनसपले संगीत दिनुभएको छ ।
गीतलाई सीमाभन्दा माथि उठेर नेपाल र चीनका युवाहरुको टोली सिनो-नेपाली टोलीले गाएका छन् । गीतमा संगीतकार शिन मुनसप, सनचन विश्वविद्यालय अन्तर्राष्ट्रिय कोएरका निर्देशक सन् वेनसिए, सनचन विश्वविद्यालय अन्तर्राष्ट्रिय कोएरका महासचिव फाङ स्याओयीङ, प्रचार विभागका उपनिर्देशक लिन जियाहुई, लुम्बिनी बौद्ध विश्वविद्यालयका वाङ यान र प्रशान्त, तथा युवा नेपाली गायिका स्मारिका फुयाल र गायक प्रसून संग्रौलाको आवाज रहेको छ । टोलीले यस गीतलाई मित्रता र सपनाहरूलाई जोड्ने पुलको रूपमा प्रयोग गरेको छन् ।
गीतमा नेपाल र चीनबीच रहेको मैत्रीको भावनात्मक र सांस्कृतिक समिश्रणलाई अझ जीवन्त रूपमा समेट्नका लागि नेपालका विभिन्न स्थानमा छायांकन गरिएको छ । गीतको भिडियोलाई काठमाडौं, पोखरा, सराङकोट, भक्तपुरलगायतका स्थानहरूमा छायांकन गरिएको छ । गीतको भिडियो तयार हुँदै गरेको र छिट्टै यसलाई सबैका लागि सार्वजनिक गरिने गीतका संगीतकार शिन मुनसपको भनाइ छ । शिन मुनसप र फाङ स्याओयीङ छायांकन गर्नुभएको भिडियोलाई शिन मुनसपले नै सम्पादन र निर्देशन गर्नुभएको हो ।
सुन्दर प्राकृतिक दृश्यावली र सांस्कृतिक वातावरणमा छायांकन गरिएको हिमालय गीतको भिडियो, धुन र संस्कृति सबैको मन छुने निर्देशक शिन मुनसपले आशा व्यक्त गर्नुभएको छ ।
हिमालय गीतले चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्षको ऐतिहासिक यात्रा भित्र एक अमूल्य सम्झनाको रूपमा स्थापित हुने टोलीको विश्वास रहेको छ । दुई देशका जनताबीच आत्मिक भाव जगाउन गीत भूमिका खेल्नुका साथै गीतले नेपाल चीनको मित्रतालाई झल्काउने संगीतकार शिन मुनसपको भनाइ छ ।
गीतलाई गायकहरुले नेपाल-चीन सम्बन्ध स्थापना दिवसको कार्यक्रमको अवसरमा पैचिङ र नेपालमा आयोजित कार्यक्रममा प्रस्तुत गरिसकेका छन् ।